अहिलेको दूषित राजनीतिलाई सफा गर्न मेरो उम्मेदवारी

अन्तर्वार्ता

मदनदास श्रेष्ठ, राप्रपाबाट काठमाडौं
महानगरपालिकामा मेयर पदका प्रत्यासी


स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै काठमाडौं महानगरपालिकामा चुनावी सरगर्मी बढेको छ । प्रमुख राजनीतिक दलदेखि स्वतन्त्र उम्मेदवार यतिबेला चुनावी घरदैलोमा व्यस्त छन् । काठमाडौं महानगरपालिकामा पाँच दलीय गठबन्धनदेखि स्वतन्त्रसम्मका उम्मेदवार रहेकाछन् । केही नयाँ अनुहार छन् भने केही पुरानै अनुहार छन् । सबै उम्मेदवार आफूले जित्ने दाबीसहित चुनावी गतिविधिमा केन्द्रित छन् । यो पटक काठमाडौं महानगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले वरिष्ठ कलाकार मदनदास श्रेष्ठलाई महानगरको उम्मेदवार बनाएको छ । पार्टी विभाजन भएको अवस्थामा राप्रपाले नेवारी समुदायबाट वरिष्ठ कलाकारलाई काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार बनाएको हो । उनै श्रेष्ठसँग चुनावी गतिविधि, चुनाव जित्ने आधार र भावी योजनालगायतका विषयमा गरिएको कुराकानीको सम्पादित अंश ः
लामो समय कलाकारिता र समाजसेवामा रमाइरहनु भएको थियो । अचानकन किन राजनीतिमा प्रवेश गर्नु भयो ?
म कलाकारिता र समाजसेवामार्फत जनतासँग जोडिइरहेको थिएँ । राजनीति मार्फत पनि समाज सेवा नै गर्ने हो । तर अहिले राजनीतिकलाई मानिसहरुले पैसा कमाउने पेशा बनाएका छन् । राजनीति त आम जनताको सेवा गर्नका लागि पो हो त । तर ध्यान दिनुपर्ने कुरा राजनीति एउटा सिद्धान्त, एउटा उद्देश्य लिएर पार्टीगत रुपमा सञ्चालित समाज सेवा हो । तर यहाँ त्यो भएन । नभएपछि म यसलाई विस्तारै परिवर्तन गर्ने हिसाबले समाजसेवामा लागेको ३–४ दशकको अनुभव लिएर आएको हुँ । मेरो जीवनको लामो अनुभवलाई अब राजनीतिकमार्फत थप समाजसेवामा लगाउने गरी राजनीतिमा आएको हुँ । हुन त मैले राष्ट्रिय प्रजातन्त्र पार्टीको सदस्यता दिएको धेरै समय भएको छैन । मेरो र राप्रपाबीचका धेरै विषयमा समानता पनि थियो । पार्टीले मलाइ काठमाडौं महानगरको मेयरका लागि उचित ठानेर टिकट दिएको हुनाले मैले त्यसलाई स्वीकार गरेको हुँ । र अहिले राजनीतिमा देखिएका विकृति र विसंगतीलाई अन्त्य गर्न हामी जस्ता व्यक्तिको आवश्यकता महशुस गरेर म राजनीतिमा होमिएको हुँ ।
तपाईंमा त्यस्तो के क्षमता देखेर राप्रपाले तपाईँलाई मेयरको टिकट दिएको होला ?
मैले मुलुकलाई राम्रो गर्न नसकेपछि नराम्रो गरेको छैन । धेरै विषयमा मेरो र राप्रपाबीचको धारणा मिल्न पुग्यो । मेरो धेरै जीवन समाजसेवामा व्यतित गरेको छु । अनि राजनीतिमार्फत पनि समाजसेवा नै गर्ने हो भने पछि म राजनीतिमा आएको हुँ । राजनीतिलाई पनि पेशा होइन एक किसिमको समाज सेवा हो भनेर परिवर्तन गर्न सकिन्छ कि भन्ने त्यो उद्देश्य हो मेरो । राजनीतिलाई हेर्ने दृष्टिकोणलाई नै परिवर्तन गर्न आवश्यक छ ।
राजनीतिकलाई कतिपयले फोहोरी खेल भन्छन्, यो उमेरमा तपाईं यो फोहोरी खेलमा किन सामेलन हुन भयो ?
राजनीति आफैंमा नराम्रो विषय होइन । यो त सबै नीतिको मुल नीति हो । तर यहाँका राजनीतिक दलले राजनीतिलाई फोहोरी बनाए । यो फोहोर कसले ग¥यो ? त्यहीँ भित्र बसेका राजनीतिकर्मीहरुले त्यसलाई दुषित बनाए । अब सबैले त्यसै गरी अगाडि बढ्ने हो भने राजनीति सधैं फोहोरी नै हुन्छ । राजनीतिमा दुषित वातावरण बनाउन हुँदैन । यसले सही कुरा गर्ने, आम जनताको कुरा गर्ने, उनीहरुको भलो चिताउने, कमिसन, भष्टाचार र आर्थिक चलखेल नगरिकन काम गर्ने हिसाबले म आएको हुँ । राजनीतिमा अहिले जे छ त्यसलाई बिस्तारै अगाडि परिवर्तित गर्दै लैजाने भन्ने हिसावले म यसमा लागेको हो ।
१२ बुँदे सहमतिपछि मुलुकले नयाँ राजनीतिक अभ्यास गरिरहेको छ, व्यवस्था परिवर्तन भएर संघीयतामा मुलुक गएको छ । यस्तो अवस्थामा तपाईंको दलले संघीयता खारेजी र संवैधानिक राजतन्त्रको वकालत गरिरहेको छ । यो कत्तिको संभव छ ?
यो विषयमा म धेरै जान चाहन्न । तर अहिले यही अवस्थामा मुलुक चल्दै गयो भने देश कुनै दुर्घटनामा पर्ने देखिन्छ । अहिलेको परिप्रेक्ष्यमा अवस्था त्यही नै छ । यसलाई कसरी रोक्ने ? तर राप्रपाले त्यही पुरानो एजेण्डा मात्र बोक्ने होइन । राप्रपाले जहिले पनि आम जनता, हिन्दु राज्य र राजतन्त्र भनेको छ । त्यो बेला राजा हटाएपछि सम्पूर्ण समस्या समाधान हुन्छ भनेर राजतन्त्र फालिएको हो नि । अहिले राजाविहीन मुलुकको अवस्था कस्तो छ ? राजा हटाएपछि पनि त्यसपछिको देशको अवस्था के–कस्तो छ भनेर हामीले हे¥यौं । अहिले मुलकुमा कति राजाहरुलाई छन् ? यी सबैलाई हामीले हे¥यौं नि त । धेरै राजाहरुले काम गरेको पनि देखिसक्यौं । परिवर्तन कहाँ के आयो ? अहिले पाँच–पाँच वर्षमा राष्ट्रपति परिवर्तन हुन्छ। हरेक पटक परिवर्तन भएको राष्ट्रपतिलाई त्यही अनुसार पूर्वराष्ट्रपतिको हैसियतमा खरखजाना देऊ । उनीहरुलाई गाडीको सुबिधा र तलब भत्ता दिएर उनीहरूलाई पालिरहनु परेको छ । रामवरण यादवले राष्ट्रपतिबाट अवकाश पाएपछि पनि त्यो सुविधाहरु दिइ नै रहेको छ । यसै प्रकारले राष्ट्रको एउटा राष्ट्रपतिको उपमा दिइरहने हो ? या सांस्कृतिक राजा राखेर एउटै राजसंस्थालाई एकताको केन्द्र मानेर अगाडि बढ्ने हो ?
यो उमेरमा काठमाडौं महानगर– पालिकाको मयेयरमा उम्मेदवारी दिनु भएका छ । जित्नेमा कत्तिको विश्वस्त हुनुहुन्छ ?
प्रतिस्पर्धामा हारजितको कुरा त आउँछ नै । तर जो उम्मेदवार छ महानगर–पालिकाको लागि त्यसको सोच, विकास, भावी योजनाहरुलाई पनि त जनताहरुले हेरेर भोट खसाल्छन् होला नि । अहिले जनताहरुको के धारणाहरु आइरहेको छ भने परिवर्तन आवश्यक छ । काम गर्न सक्ने व्यक्तिलाई जिम्मेवारीमा ल्याउनुपर्छ । पटक पटक असफल भएका यी मानिसहरुलाई कति दोहो¥याइ राख्ने ? उदाहरणको लागि गणेशमानको नाममा उहाँको परिवारले कति ब्याज खाइराख्ने ? पहिले उनलाई, त्यसपछि उनकी श्रीमतीलाई मेयर चाहियो । अन्य दलहरुको पनि आफ्नो–आफ्नो छोरा, छोरी, बुहारी, ज्वाईहरुले मात्र रजाई गरिरहेको छ ।
लोकतन्त्र उनीहरुलाई देशको साधन स्रोतमा हालिमुहाली गर्नको लागि आएको होइन नि । यो त जनताहरु सबैले राज्यले दिन सक्ने सुविधाहरु समान रुपले भोग्न पाउन् भनेर आएको लोकतन्त्र हो । तपाईं हामीले त्यहाँ प्रवेश नपाउनु ? तपाईं हामीले पनि राज्यको पदमा बसेर काम गर्न नपाउनु ? त्यो वातावरण त जनताले बनाई दिन प¥यो नि । अहिले युवा पुस्ताले बालेन शाहलाई रोजे । युवाले मात्र देश हाँक्न र काम गर्न सक्छ भन्ने छैन । ममा युवाको शक्ति त छैन तर मेरो पनि जोश र जाँगर त छ । सबैभन्दा मुख्य कुरा मेरो २०–३० औँ वर्ष समाजसेवा गरेको अनुभव छ । यो उमेरमा पनि म १६ घण्टा खट्छु । तर मेरो पछाडि प्रचण्ड युवाहरुको जमात छैन । तर, मलाई युवाहरुले नै ल तपाईं गर्नुस् । पुरानो अनुभवले तपाईले गर्नुस् । हामी तपाइको पछाडी छौँ। सपोर्ट गर्छौं भनेकैले म अगाडि आएको हुँ । म यसरी अगाडि आउनुको कारण त्यही युवाहरुको शक्ति त हो ।
मतदाताको प्रतिक्रिया कस्तो पाउनुभयो ?
उम्मेदवारको रुपमा अगाडि आइसकेपछि मतदाताहरुको प्रतिक्रिया पनि राम्रो पाइरहेको छु । बल्ल त उम्मेदवारी दर्ता भयो । अब हामी घरदैलो जाने कार्यक्रम पनि बनाउँछौँ । जनताको अहिलेसम्मको प्रतिक्रिया धेरै राम्रो आइरहेको छ । हामी विचारमा फरक विचारधाराका भएता पनि हामी तपाईलाई भोट दिन्छौँ भन्नेहरु पनि छन् । तर मैले भने विचारधारा अलग भए पनि साझा लक्ष्य विकास हो भन्ने गरेको छु । त्यसैले हाम्रो अलगअलग विचार भए पनि त्यो विचारलाई राष्ट्र विकासमा लगाउनु पर्छ ।