नेताका आफन्त कहाँ–कहाँ उम्मेदवार

समाचार

काठमाडौँ । आसन्न स्थानीय तहको निर्वाचनका लागि पार्टीहरूले आफ्ना उम्मेदवार छनोट गरिसकेका छन् । आफ्नो पार्टीमा टिकट नपाएपछि कार्यकर्ताहरु अर्को पार्टी प्रवेश गर्नेहरूको लहर यसपटक राम्रैसँग चल्यो । त्यस्तै टिकट नपाउँदा रूनेदेखि टिकट पाएपछि उम्मेदवारका विगत क्रियाकलाप र हत्कन्डाहरू सार्वजनिक भएसँगै टिकट खोसिएका घटनाहरू समेत बाहिर आए । पार्टीमा प्रभावशालीका नेताहरूले आफन्तवाद, नातावाद तथा कृपावादमा रमेका दृश्य पनि राम्रैसँग मञ्चन भएका छन् । ‘आफ्नै हात जगन्नाथ’ को शैलीमा प्रमुख नेताहरु देखिए । वर्षौसम्म पार्टीमा संघर्ष गरेका सदस्यले टिकट नपाउँदा प्रमुख नेताका आफन्तहरूले भने सजिलै टिकट पाए । श्रीमानको प्रभावले श्रीमतीले टिकट पाउनेदेखि बाबुको प्रभावले छोरा–छोरी–बुहारीले टिकट पाएको नेपाली राजनीतिको नौलो घटना त होइन तर यसपटक अझ बढी नै त्यस्तो देखियो ।
कसका नातेदार कहाँ उम्मेदवार ?
– बिगत ३३ वर्षदेखि पार्टीको नेतृत्व गरेका प्रचण्डकी छोरी रेणु भरतपुरमा दोस्रोपटकको मेयरका लागि माओवादी केन्द्रबाट उम्मेदवार ।
– देउवालाई सभापति जिताउन निर्णायक कोल्टो फेरेका प्रकाशमानको गुन तिर्न उनकी श्रीमती सिर्जनालाई नेपाली कांग्रेसबाट काठमाडौं महानगरको मेयर उम्मेदवार ।
– जसपाका अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र बिराटनगरमा उपमेयर उम्मेदवार ।
– गृहमन्त्री बालकृष्ण खाँणका भाइ रामकृष्ण खाँण तिलोत्तमा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसबाट उम्मेदवार ।
– सभामुख अग्निप्रसाद सापकोटका भाइ कृष्णप्रसाद सापकोटा माओवादी केन्द्रबाट सिन्धुपाल्चोक जिल्लाको साँगाचोकगढी नगरपालिकाको मेयरमा उम्मेदवार ।
– कांग्रेस नेता मोहन बस्नेतका भाइ बालकृष्ण बस्नेत बाह्रबिसे नगरपालिकाको मेयरमा उम्मेदवार ।
– मधेश प्रदेशका मुख्य मन्त्री लालबाबु राउतकी श्रीमती जलेखा खातुन पर्साको जगरनाथपुर गाउँपालिकामा उपाध्यक्षको उम्मेदवार ।
– लोसपा नेता राजेन्द्र महतोका दाजु महेन्द्र महतो चन्द्रनगर गाउँपालिकाको अध्यक्षको उम्मेदवार ।
– नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेका कान्छा भाइ योगेन्द्रमान बिजुक्छे भक्तपुर नगरपालिका वडा नं ५ को अध्यक्षको उम्मेदवार ।
– नेमकिपा सांसद प्रेम सुवालका बहिनी ज्वाइँ ज्वाइँ कृष्णप्रसाद कोजू भक्तपुर नपा वडा नं ८ को वडा अध्यक्ष उम्मेदवार ।
– अर्थमन्त्री जनार्दन शर्माका मामाका छोरा लक्ष्मीप्रसाद शर्मा बर्दियाको मधुवन नगरपालिकाबाट प्रमुख पदमा उम्मेदवार ।
– नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काकी साली निर्मला थापा दैलेखको नारायण नगरपालिका प्रमुख उम्मेदवार ।
– नेकपा माओवादीको प्रदेश अध्यक्ष विमला केसीका श्रीमान् वसन्तकुमार शर्मा रुकुमको मुसिकोट नगर प्रमुखमा उम्मेदवार ।
– कांग्रेस नेता कर्णाली प्रदेशका मन्त्री हिमबहादुर शाहीका छोरा गणेशबहादुर शाही दैलेखको चामुन्डा बिन्द्रासैनी नगर प्रमुखको उम्मेदवार ।
– नेकपा एमालेका प्रदेश अध्यक्ष विनोदकुमार शाहकी श्रीमती लक्ष्मीदेवी शाह दैलेखको ठाटीँकाध गाउँपालिका अध्यक्षको उम्मेदवार ।