मधेशका घरैपिच्छे पार्टी–सबै घरमा सभापति…

यताउताका कुरा

एकताका भन्ने गरिन्थ्यो–दुईजना कम्रेड भए तीनवटा पार्टी जन्मन्छ रे । एक एक जनाको दुईटा पार्टी, दुईटा मिलेको एउटा पार्टी । अहिले मधेशवादी दलहरूमा यो कहावत प्रयोगमा आउने ढाँचा देखिएको छ । पहिले एउटा पार्टी थियो–सद्भावना त्यही पार्टी नाममा सद्भावना जोडिए पनि नेताहरूमा आपूm जसरी भए पनि अध्यक्ष वा सभापति बन्नुपर्छ भन्ने दुर्भावना पलाउँदै गयो । अनि पार्टीका नाम अनगिन्ती । अनि चुनावको बेला आयो भने एक्लै चुनावमा जाँदा हारिन्छ भनेर गठबन्धन वा मोर्चा बनाएर पनि जित्ने काम गरियो । अघिल्लो चुनावमा एक भएर चुनाव लडेका उपेन्द्र यादव र महन्थ ठाकुर यतिखेर पार्टी फोडेर भए पनि सभापति बनेका छन् । यो एउटा उदाहरण–यस्ता अरु थुप्रै उदाहरण भेटिन्छन् । लाग्छ–मधेशका प्रत्येक घरमा एउटा एउटा पार्टी हुन्छ, अनि हरेक घरमा सभापति । एउटै घरमा पनि दाजु अध्यक्ष भएको भाइलाई चित्त बुझेन भने अर्को पार्टी खोल्न सक्छ । भन्छन्–यतिखेर १८ भन्दा बढी कम्युनिष्ट पार्टी छन्, हुँदा बस्दा अर्को केही दिनमा त्योभन्दा बढी मधेशवादी पार्टी ।
भरखरै सिके राउतले जनमत पार्टी खोले, हृदयेश त्रिपाठीले प्रगतिशील पार्टी । रेशम चौधरी को भन्दा को कम–उनले जेल बसीबसी अर्को पार्टी खोले । लोसपा अर्थात लोकतान्त्रिक समाजवादी पार्टीमा सधैं महन्थ ठाकुर अध्यक्ष भएको राजेन्द्र महतोलाई चित्त बुझेको छैन । उनी सद्भावना पार्टी ब्युँताएर अर्को पार्टी बनाउने र अध्यक्ष बन्ने दाउमा छन् । वृषेश चन्द्रलाई भाउ दिएर पार्टी खोलाउने र पछि आपूm अध्यक्ष बन्ने दाउमा बसेका छन्–राजेन्द्र महतो । यता जसपा अर्थात जनता समाजवादी पार्टीलाई उपेन्द्र यादवले आफ्नै पेवा बनाएर मनलाग्दी गरे भन्ने रिस उठेको छ डा. भट्टराईलाई । जुन पार्टीमा गए पनि सभापति नै बन्नुपर्ने भट्टराईको आशामा उपेन्द्रले असिना पारिदिएका छन् । त्यसैले अब केही मधेशी नेता बटुलेर डा. भट्टराईले अर्को पार्टी खोल्न बेर छैन । तर पार्टी चलाउने खर्चको लागि कसको दौराको फेर समातेर अघि बढ्ने हो टुंगो छैन । तर मधेशमा वर्खामा च्याउ उम्रेझैं मधेशमा पार्टी उम्रन्छन्–यो चाहिँ पक्का ।


गीताको किरिया

बाबु आमाको किरिया त १० दिनबारे पुग्छ भने कुनै पुस्तक वा देउता छोएर खाएको किरिया बढीमा पाँच दिन हुन्छ । तर राप्रपाका पराजित अध्यक्ष कमल थापाले गीताको किताब लिएर खाएको राजनीतिक किरिया वर्ष दिन नाघिसके पनि बार्नुपर्छ भन्ने छ र ? नाच्न नजान्ने आँगन टेढो–अर्थात आपूm नाच्न नजान्ने यो आगन टेढो छ त्यसैले नाच्न मिलेन भन्न पाइन्छ र ? ठीक यसको उदाहरण भएको छ राप्रपाको एकताको सम्मेलनमा हारेपछि कमल थापाको आक्रोश । उनी निर्मल निवासकै कारण आपूm हारेको अर्थात हराइएको ठान्दछन् र सत्तो सराप गर्दछन् । जतिखेर चुनाव भयो उनलाई ढुक्क लागेको थियो–म कुनै हालतमा चुनाव हार्दिन । तर आपूm ताक्ने मुडो बञ्चरो ताक्ने घुँडो भनेझैं मतदाताले लिङ्देनलाई पत्यार गरे । त्यसो त १५ वर्षदेखि राप्रपाको नेतृत्व गर्दै आएका थापालाई पद छाड्नु पर्दा ठूलै चोट लाग्यो । त्यतिखेर पद्मसुन्दरलाई सभापति बनाउने लोकेन्द्रबहादुर र रवीन्द्र शर्माको इच्छा हुँदाहुँदै पनि लावतीले त्याग गरेर थापालाई निर्विरोध सभापति बन्न दिएका थिए ।
मिस्टर थापा धर्मको राजनीति गर्ने भन्दछन्, तर गीता हातमा लिएर खाएको सपथ पराजित हुनासाथ बिर्सिदिन्छन् । सपथ कुनै बन्द पूजाकोठामा बसेर खाएको होइन, राप्रपाका हजारौं कार्यकर्ताको अगाडि खाएका हुन् । त्यसो त मान्छेको सम्झने शक्ति लामो हुँदैन, विस्तारै बिर्संदै जान्छ–थापाले गीता हातमा लिएर खाएको सपथ भुसुक्क बिर्सिएछन् । धर्मको नाममा राजनीति गर्ने कुरा मुखमा रामराम बगलीमा छुरा बन्ने त होइन । कार्यकर्ताले भित्रैदेखि पत्याउनु प¥यो नि–हाम्रा नेता हिन्दूधर्ममा विश्वास गर्दछन् र हिन्दूको पवित्र ग्रन्थ गीता छोएर खाएको किरिया तोड्दैन । तर दिन उल्टोतिर बगेको छ ।


महँगो भयो–किन भयो ?


सरकार चलाउन पैसा चाहिन्छ । पैसा कमाउन ट्याक्स बढाउनु पर्छ, ट्याक्स बढाउने निहुँ खोज्नुपर्छ । सरकारले निहुँ बनायो–काली गण्डकी जलविद्युत योजना बनाउनुपर्छ, त्यसको लागि कहाँबाट पैसा ल्याउने त भन्दा सबभन्दा सजिलो पेट्रोलियम पदार्थमा कर थपिदिने । भारतबाट आयल निगमले ८४ रुपियाँमा खरिद गर्छ, नेपालमा त्यसैको मोल प्रतिलिटिर १४२ रुपियाँ पर्छ । सोध्यो भने जवाफ नास्ति–१० वर्ष प्रतिलिटर १० रुपियाँका दरले जम्मा गरेको अर्बौं रकम कता गयो । बैंकमा तरलताको अभाव छ, त्यही रकम बैंकहरूलाई सापटी दिए पनि के बिग्रन्थ्यो र ?। तर त्यो रकम खोलो सुके सरह सुक्यो कि ? केटाकेटीलाई खेलाउँदा खुबै चलनचल्तीको उखान टुक्का–कुखुरी काँ–बासीभात खाँ, खोइमेरो बासीभात ? बिरालोले खायो, खोइ बिरालो ? मुसामार्न गयो, खोइ मुसो ? दुलाभित्र पस्यो, खोइ दुलो ? गाईले कुल्च्यो, खोइ गाई ? खोलाले बगायो, खोइ खोलो ? सुक्यो भनेजस्तै जम्मा भएको रकम चुहिने भाँडोको पानीजस्तो थोपा थोपा चुहिएझैं रकम कताकता चुहियो थाहै छैन । अनि नरहे बाँस नबजे बाँसुरी जस्तै न जलविद्युत आयोजना बन्ने, न त उपभोक्ताले सुपथ मूल्यमा डिजेल मट्टितेल पाइने ।
तिलपेल धतुरो पेल, मेरो तेल भनेझैं सरकारलाई जताबाट भए पनि ट्याक्स उठाउनु छ । उठाउँदा उठाउँदै मालको मोलले आकाश छुने । त्यसो त पेट्रोलियम पदार्थ मात्र महँगो भएको कहाँ हो र ? बजारमा गएर बुझ्नुपर्छ–सबै सामानको भाउ आजभन्दा भोलि, भोलिभन्दा पर्सि बढ्दै गएको हुन्छ । भन्छन्–बजार भाउ र उमेर निरन्तर उकालो लाग्छ रे–अनि सस्तोको कुरा कहाँबाट । तर सानो कमाइ ठूलो परिवारलाई मूल्यवृद्धिले सधैं टाउको दुखाइ । यो त विपन्न छ, यसलाई सस्तो सामानको कुपन दिएर केही राहत दिने भन्ने सोचाइ कसले राख्ने । त्यसो त यदाकदा सरकार सस्तो खुवाउने कुरा गर्छ, कुरा उठ्छ सेलाउँछ । देशका लागि भन्दा आफ्नै लागि कमाइको धन्दाले धेरैलाई पिरोलेको छ । आफ्नो हात जगन्नाथ गरेर निचोर्ने जति ठाउँमा निचोर्दै जानु पर्छ–नेपालका नेतादेखि प्रशासकसम्मको सिद्धान्त हो । त्यसैले बाहिरबाट जति नै सस्तोमा ल्याए पनि नेपाली उपभोक्ताको हात पुग्ने बेलासम्म भाउ बढाएर भए पनि आफ्नो खल्ती भर्नुपर्छ–यसमा गल्ती गर्नु हुँदैन ।


एक्लिए माधव


एक्लो वृहस्पति झुटा–सत्ता समीकरण बनाउन रातदिन नभनी लागेका माधव नेपाल ठूला नेताको जमघटमा अटाएनन् । बालुवाटार हेर्न रहर गरेका ओलीलाई देउवाले निम्ता गरे । प्रचण्डसम्म आए । ठिकै छ भनेर अनुमति दिएका ओलीले बच्चेट माधव पनि ल्याउने होइन नि भनेर हट्थे । अनि भेटघाटबाट माधव आउट् । त्यसो त ओलीलाई हेर्न माधवको मनै नमान्ने–माधवलाई ओलीले टेडो आँखाले हेर्न नसक्ने । कुनै बेला ६३ जस्तो एकैतिर मुख फर्काएर बसेका नेता यतिखेर ३६ जस्तो उल्टोमुख लगाएर बसेका छन् । एकलाई अर्काको सास गनाउँछ, बोली पर्पराउँछ । यस्तै हो–मन नपर्दाको अवस्था । त्यसो त ओली कम्रेडलाई तानतुन गरेर अघिल्लोपल्ट पार्टी अध्यक्ष जिताउन माधवले ठूलै कसरत गरेका हुन्–चुनाव जितेनन्, त्यो बेग्लै कुरा । डेढसय भोटले जित्छु भनेर ढुक्क बसेका ओलीलाई झलनाथले हावा खुवाइदिए । यसपल्ट धन्न सबैलाई लटपटाएर अध्यक्ष बने । अहिले पनि भीम रावल ओलीका लागि घाँटीका हाड भएका छन् । सब दिन नहीं हो त एकसमान–ओलीका ओरालो लाग्ने दिन पनि आउन बेर छैन । कहिले सासुको पालो कहिले बुहारीको पालो ।
यतिखेर माधवको टाउको दुखेको होला मलाई एक्ल्याए भनेर । गठबन्धन पछि ओली एक्लिएका थिए । खान्न खान्न लोकाचार खान लागे मानाचार भनेझैं हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौं भनेका ओली राष्ट्रिय सभा निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टीसँग मिल्न पुगे । गठबन्धनमा न अटाएका महन्थ विस्तारै, ओलीको शरणमा पुगे । लाग्दछ–आउँदो चुनावहरूमा एमालेले मधेशवादी दलहरूसँग काँधमा काँध मिलाएर अघि बढ्न बेर छैन । एक्लो हुनुको पीडा भोगेका ओलीले बालुवाटार बैठकमा माधवलाई एक्लो पारे । कहिले आपूm एक्लिने कहिले अर्कोलाई एक्ल्याउने–टाइम टाइम कि बात है ।


अन्त्यमा–
सबै कुरामा नेगेटिभ सोच राख्ने कम्रेड ओलीलाई कोरोनाले मात्र किन पोजेटिभ अनुहार देखाएको होला ।