पूर्वराजालाई मर्यादाक्रम

Home Feature

काठमाडौं । दुई सय ४० वर्ष पुरानो राजसंस्थालाई केही नेताको निहीत स्वार्थमा फालिएपछि अहिले त्यसको भर्पाइ हुन सकेको छैन । देश झन् अधोगतिमा जाँदैछ । राजालाई जहानियाँ बनाएर अहिले दलका नेताहरु जहाँनियाँ बनेका छन् । राजसंस्थाको बदनाम गर्ने नेताहरु नै अहिले बदनाम भइरहेका छन् । नेताहरुको कर्तुतका कारण छिमेकी दुई मुलुकहरुसमेत विश्वस्त हुन सकेका छैनन् । त्यसैले त उनीहरुले पूर्वराजालाई प्रोटोकलमा राख्न दबाब दिएका छन् । राजसंस्था फालेर लोकतन्त्रको डंका पिटिएपछि चारपटक प्रोटोकल परिवर्तन भएको छ । तर पहिलो पटक पूर्वराजालाई पनि वरियतामा राख्न थालिएको छ । यो पनि छिमेकी राष्ट्र भारत र चीनको दबाबमा ।
मुलुक अहिलेको प्रणालीले द्वन्द्वमा फस्न सक्छ भन्ने छिमेकी मुलुकहरुको भएपछि नै पूर्वराजालाई छैटौं स्थानमा राख्न लागिएको हो । त्यतिमात्र होइन यही प्रोटोकलमा राखेर भोलिका दिनमा भारत र चीनबाट हुने औपचारिक भेटमा पूर्वराजालाई पनि पारिने छ । जसबाट देशको अवस्थाबारेमा पूर्वराजासँग पनि कुरा राख्न सकिने छ र पूर्वराजाबाट पनि विचार व्यक्त हुनेछ ।
छिमेकीहरुको यो दबाबले नै शेरबहादुर देउवा नेतृत्वको सरकारले मर्यादाक्रममा हेरेफेर गर्ने भएको हो । गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनमा मर्यादाक्रममा हेरफेर गर्न लागिएको हो ।
मन्त्रालय स्रोतका अनुसार हेरफेर गर्न लागिएको मर्यादाक्रममा पूर्वराजालाई पहिलो पटक मर्यादाक्रममा राख्न लागिएको हो । अहिलेसम्म पूर्वराजपरिवारलाई एक सर्वसाधारण परिवारजसरी नै व्यवहार गरिएको छ । गृह मन्त्रालय स्रोतका अनुसार मन्त्रालयले तयार पारेको मर्यादाक्रम हेरफेरसम्बन्धी प्रस्ताव मन्त्रिपरिषदमा पुगेको छ । यो पास भए लागू हुनेछ । बहालवाला राष्ट्रपति र उपराष्ट्रपतिलाई मर्यादाक्रममा पहिलो र दोस्रो स्थानमा राखिएको छ । यसैगरी मर्यादा क्रमको तेस्रो स्थानमा प्रधानमन्त्री र चौथोमा प्रधानन्यायाधीश, पाँचौंमा प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षलाई राखिएको छ । मर्यादाक्रमको छैटौं स्थानमा पूर्वराष्ट्रपति र पूर्वराजालाई राखिएको छ । पूर्वराजाको स्थान पूर्वराष्ट्रपति पछाडि छ । पूर्वराजापछि छैटौं स्थानमै बहालवाला उपप्रधानमन्त्री र पूर्वउपराष्ट्रपलिाई राखिएको छ । पूर्वराष्ट्र प्रमुखका रूपमा पूर्वराजालाई पहिलोपटक मर्यादा क्रममा राखिएको गृह मन्त्रालयका कर्मचारी बताउँछन् ।
कार्यदललको सिफारिसका आधारमा गृहमन्त्री खाँणले मर्यादाक्रम हेरफेरसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा लगेका हुन् । मर्यादाक्रममको सातौं स्थानमा संघीय सरकारका मन्त्री, प्रदेश प्रमुख, प्रदेश सरकारका मुख्यमन्त्री, विपक्षी दलका नेता, नेपाल रत्नबाट विभूषित भएका व्यक्ति, पूर्वप्रधाननन्यायाधीश, संविधानसभाका अध्यक्ष, प्रतिनिधिसभाका उपसभामुख, राष्ट्रियसभाका उपाध्यक्ष, सत्तापक्षीय संसदीय दलको नेता, उपनेता, प्रतिनिधिसभाका पूर्वसभामुख, राष्ट्रियसभाका पूर्वअध्यक्ष र पूर्वउपप्रधानमन्त्रीलाई राखिएको छ ।
यसैगरी आठौं स्थानमा राज्यमन्त्री, प्रतिनिधिसभामा सत्ता पक्षका प्रमुख सचेतक, प्रतिनिधिसभामा विपक्षी दलका प्रमुख सचेतक, प्रतिनिधिसभा र राष्ट्रियसभाका विभिन्न समितिका सभापति, संवैधानिक नियकायका प्रमुख तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्षलाई राखिएको छ । हेरफेर गर्न लागिएको मर्यादाक्रममा काठमाडौं महानगरपालिकाका मेयरलाई अन्य नगरपालिका मेयरभन्दा अगाडि राखिएको छ । नेपालले मात्र नभई अन्य देशले पनि राजधानी रहेको नगरपालिकाका मेयरको स्थान अन्य नगरपालिकाका मेयरको भन्दा अगाडि राख्ने गरेको पाइएको छ ।
हेरफेर गरिएको मर्यादा क्रममा पहिलो पटक शिक्षकहरूलाई पनि समावेश गरिएको छ । यसैगरी प्रदेशसभा सचिवालयमा कार्यरत कर्मचारीलाई पनि पहिलोपटक मर्यादाक्रममा राखिएको छ । निजी क्षेत्रलाई भने पूरै उपेक्षा गरिएको छ । निजी क्षेत्रबाट उल्लेखनीय योगदान पु¥याएका व्यक्तिहरूलाई भने मर्यादाक्रममा राखिएको छैन ।
नेपाल पत्रकार महासंघका सभापति, नेपाल बार एसोसिएसनका अध्यक्ष, नेपाल चिकित्सक संघका अध्यक्ष, नेपाल इन्जिनियरिङ एसोसियसनका अध्यक्ष, नेपाल निर्माण व्यवसायी संघका अध्यक्षलगायत विभिन्न पेशासँग सम्बन्धित संघसंस्थाका पदाधिकारीलाई मर्यादाक्रममा राखिएको छैन । यसैगरी चिकित्सा, कानून, पत्रकारिता, वकिललगायत क्षेत्रमा ख्यातिप्राप्त व्यक्तिहरूलाई पनि मर्यादाक्रममा राखिएको छैन । जेहोस् पेशाकर्मीलाई बेवास्ता गरिएपछि अर्को दबाब आएपछि पक्कै सुधार हुनेछ । तर पहिलो पटक छिमेकीको दबाबमा पूर्वराजालाई माथिल्लो मर्यादाक्रममा राख्न खोज्नु भने पक्कै पनि अर्थपूर्ण छ । पूर्वराजाबाट पुख्र्यौली श्रीपेच सरकारलाई सुम्पिँदै भनिएको थियो यसलाई सुरक्षित साथ राख्नू । कतै फेरि यो श्रीपेच प्रयोगमा आउने बेला त भएको हैन ?