काठमाडौं । २०७४ सालको घटना फेरि यो वर्ष दोहोरिए अनौठो नमाने हुन्छ । किनकि २०७४ को स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र मिलेर चुनाव लडेका थिए । तर संघको चुनावमा माओवादी एमालेसँग मिलेको थियो । अहिले पनि स्थानीय तहमा माओवादीले नेपाली कांग्रेससहित पाँच दलीय गठबन्धन गरेर चुनाव लड्यो । संघको चुनाव एमालेसँग मिलेर लड्ने सम्भावना बढी छ । नेपालमा वाम गठबन्धनको चर्चा चलिरहेका बेला फेरि एमाले र माओवादी मिलेर चुनाव लडे आश्चर्य किन मान्नु । भलै एकले अर्कोलाई अस्वीकार्ने गरी राजनीति बिग्रेको किन नहोस् स्वार्थका लागि मिल्न कसैले रोक्ने छैन । त्यसकै लागि एमाले उपाध्यक्ष विष्णु पौडेलले माओवादी अध्यक्ष प्रचण्डसँग भेटघाट गरेका छन् । दुई पार्टीबीच पानी बाराबारको अवस्था रहे पनि उनीहरुबीच आइसब्रेक गराउने प्रयास जारी छ ।
नेपाली कांग्रेस र एमाले दुवैका लागि चुनावी तालमेलमा माओवादी निर्णायक शक्तिका रुपमा देखा परे पनि संघीय संसदको निर्वाचनमा कोसँग गठबन्धन गर्ने भन्ने बारेमा स्पष्ट देखिएको छैन । तर एमाले र माओवादीका नेताहरुबीच धेरै पटक वार्ता र संवादहरु भएका छन् । उनीहरुले एक आपसमा कम्युनिष्ट शक्ति मिल्नु पर्ने आवश्यकता बारेमा छलफल गरेका छन् ।
अहिलेको सत्ता गठबन्धन कायमै रहे आगामी मंसिरमा हुने संघ तथा प्रदेश चुनावमा एमाले कमजोर हुन सक्ने आंकलनपछि एमाले नेताहरू माओवादी नेताहरूसँग भित्रभित्रै लबिङमा छन् । औपचारिक रुपमा यी दुई पार्टीका नेताहरूले वाम तालमेलका बारेमा छलफल गरे पनि नेताहरूका तहमा प्रारम्भिक छलफल शुरु भएको छ । त्यही क्रममा एमाले अध्यक्ष केपी शर्मा ओली अहिले दोस्रो रणनीतिमा जुटेको एमाले उच्च स्रोतको भनाइ छ । एमालेले विभिन्न च्यानलमार्फत प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसमेतलाई अनेक तरहबाट विभिन्न सन्देश दिइरहेका छन् ।
पौडेलले बिहीबार साँझ प्रचण्डसँग भेटघाट गरेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गराउने प्रयास थालिएको थियो । ‘उहाँहरुबीच चाँडै नै भेटघाट हुनेछ त्यो एकल भेटघाट हुनेछ’, एक विश्वस्त स्रोतले भन्यो । यसअघि नारायणकाजी श्रेष्ठले ओलीसँग दुई घण्टा भेटघाट गरेका थिए । त्यसअघि प्रदीप ज्ञवाली र वर्षमान पुनबीच भेटघाट भएको थियो । श्रेष्ठले ओलीलाई भेटेको बाहेक अरु नेताहरुबीच भएको भेटघाट पनि गोप्य राखिएको छ ।
प्रचण्ड शुक्रबार चितवन पुगेका थिए । उनी भेटघाटकै लागि भनेर चाँडै नै काठमाडौं आए पनि ओलीसँगको भेटघाटको साइत जुरेन । शुक्रबार अबेरसम्म ओली र प्रचण्ड भेट गराउने कोसिस भएको थियो । तर बालकोट स्रोतका अनुसार ओलीको औषधि मिलानमा गडबडी भएसँगै उनीहरुबीचको भेट नभएको हो । अर्थात् उनीहरुबीच भेट भएसँगै २०७७ को मध्यदेखि चिसिएको सम्बन्ध फेरि सुमधुर हुनेछ र सँगसँगै चुनावमा मिलेर जानेछन् । स्थानीय तहको निर्वाचनपछि एमाले र माओवादीका युवा नेताहरुले वाम गठबन्धनलाई जोड दिँदै आएका छन् । उनीहरुले सकेसम्म सीट बाँडफाँड गरेर जाने नसके पनि जित्ने स्थानमा एक अर्कालाई सहयोग गरेर जाने नीति अख्तियार गर्न खोजेको स्रोतको दाबी छ ।
शक्तिका लागि सत्ता चाहिन्छ भन्ने बुझेका कम्युनिष्टहरु एक भए नौलो किन नै मान्नु । तर १७ हजार मानिस मारेर परिवर्तन गरेको दाबी गर्नेहरु सत्तामा रमाएर र धनको भकारी भरेर सन्तुष्ट छन् । साम्यवादको नारा अलाप्नेहरु झ्वामवादको सिद्धान्तमा डटिरहेका छन् । यिनीहरुलाई सिकाउने कांग्रेस नै हो ।