काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको बसाई यतिबेला थाइल्याण्डमा रहेको छ । गत असार ३ गते थाइल्याण्ड पुगेका पूर्वराजा र पूर्वरानी कोमल शाहको त्यहाँ कम्तीमा एक महिना बस्ने योजना रहेको छ । पूर्व राजदम्पती त्यहाँ रहँदा विशेष कूटनीतिक भेटघाट गर्ने स्रोतले बताएको छ । हुन त पूर्वराजाको थाइल्याण्ड भ्रमण निजी हो । नातिनीको दीक्षान्तमा सहभागी हुन पूर्वराजदम्पती त्यहाँ गएको बताइएको छ । शुरुआतमा केही दिनलाई भनिए पनि उत्तर र दक्षिणको चाहनामा पूर्वराजदम्पतीले समय लम्ब्याएको बताइन्छ । पूर्वराजपरिवार निकट स्रोत यो साता कुनै भेट हुने कार्यक्रम नरहेको बताउँछ ।
अर्थात् पूर्वराजाले आगामी साता अर्थात् नेपाल फर्कनुअघि भारत र चीनका अधिकारीहरुसँग छलफल गर्ने बताइन्छ । लैनचौर निकट स्रोतका अनुसार पूर्वराजासँग भारतीय एक टोलीले छलफल गर्नेछ । यो मामलामा चीन र भारतको एउटै सन्देश रहेकोसमेत बुझिन्छ । दुवै देशको चाहना स्थिर सरकार र दुवै देशलाई अप्ठेरो नपार्ने गतिविधि नेपालमा हुनु हो । तर दुई सय ४० वर्ष पुरानो राजसंस्थालाई केही नेताको निहीत स्वार्थमा फालिएपछि अहिले त्यसको भर्पाइ हुन सकेको छैन । देश झन् अधोगतिमा जाँदैछ । राजालाई जहानियाँ बनाएर अहिले दलका नेताहरु जहाँनियाँ बनेका छन् । राजसंस्थाको बदनाम गर्ने नेताहरु नै अहिले बदनाम भइरहेका छन् ।
नेताहरुको कर्तुतका कारण छिमेकी दुई मुलुकहरुसमेत विश्वस्त हुन सकेका छैनन् । त्यसैले त उनीहरुले पूर्वराजसंस्था फर्किए हुने चाहना गरेका छन् । त्यसका लागि पूर्वराजालाई एउटा हैसियतमा ल्याएर अनि राजसंस्थाको गरिमा बचाउने गतिविधिमा संलग्न भइरहेको पाइएको छ । निकै सूक्ष्म ढंगले दुई देशका कुटनीतिकहरु यो प्रक्रियामा सामेल भइरहेको उच्च स्रोत बताउँछ ।
त्यसकै लागि पूर्वराजालाई वरियतामा राख्न दबाब दिइएको छ । यद्यपि अहिलेसम्म सरकारले त्यो प्रोटोकल बनाउन सकेको छैन । केही हप्ताअघि बनेको प्रोटोकललाई लागू गर्ने या नगर्ने मनस्थितिमै अहिले पेन्डिङमा छ । नेताहरुले डरैडरमा पूर्वराजालाई पोर्टफोलियो दिन नमानेको बुझिन्छ । उनीहरु पूर्वराजाले बोल्दा वा अरु कसैले राजसंस्था चाहिन्छ भन्दा पनि हच्किने गरेका थिए । राजसंस्था फालेर लोकतन्त्रको डंका पिटिएपछि चार पटक प्रोटोकल परिवर्तन भयो । तर पूर्वराजालाई राखिएन । यसपटक भने छिमेकी देशहरुकै दबाबमा छैटौं वरियतामा राख्ने योजना बनेको भए पनि सरकार यो वरियतामा डराइरहेको छ । मुलुक अहिलेको प्रणालीले द्धन्द्धमा फस्न सक्छ भन्ने छिमेकी मुलुकहरुको भएपछि नै पूर्वराजालाई छैटौं स्थानमा राख्न लागिएको हो । त्यतिमात्र होइन यही प्रोटोकलमा राखेर भोलिका दिनमा भारत र चीनबाट हुने औपचारिक भेटमा पूर्वराजालाई पनि पारिने छ । जसबाट देशको अवस्था बारेमा पूर्वराजासँग पनि कुरा राख्न सकिने छ र पूर्वराजाबाट पनि विचार व्यक्त हुनेछ ।
छिमेकीहरुको यो दबाबले नै शेरबहादुर देउवा नेतृत्वको सरकारले मर्यादाक्रममा हेरेफेर गर्ने भएको हो । गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनमा मर्यादाक्रममा हेरफेर गर्न लागिएको जनाइएको भए पनि सरकार लागू गर्न डराइरहेको गृहमन्त्रालय स्रोत बताउँछ । मन्त्रिपरिषद्ले तत्काल यसलाई पारित नगरे पनि निकट भविष्यमै यसले मूर्तरुप पाउने विश्वास गरिएको छ । बहालवाला राष्ट्रपति र उपराष्ट्रपतिलाई मर्यादाक्रममा पहिलो र दोस्रो स्थानमा राखिएको छ । यसैगरी तेस्रो स्थानमा प्रधानमन्त्री र चौथोमा प्रधान न्यायाधीश, पाँचौंमा प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षलाई राखिएको छ । मर्यादाक्रमको छैटौं स्थानमा पूर्वराष्ट्रपति र पूर्वराजालाई राखिएको छ । जुन किसिमले छिमेकी सौहार्द बढिरहेको छ त्यसले मन्त्रिपरिषद्लाई दबाब दिने विश्वास गरिएको छ ।