कांग्रेसको अस्तित्व संकटमा
काठमाडौं । नेपाली राजनीतिको सबैभन्दा पुरानो दल नेपाली कांग्रेसको अस्तित्व समाप्त हुँदै गएको देखिएको छ । अहिलेसम्मका सबै प्रतिवर्तनको नेतृत्व लिने इतिहास रचेको कांग्रेसले हेर्दाहेर्दै आफ्नो अस्तित्व पनि संकटमा पर्दै गएको देखिरहेको हो । प्रजातन्त्र, बहुदल र गणतन्त्रका लागि लडेका नेताहरु आफ्नो आँखा अगाडि नै पार्टीको अवस्था दुरावस्थातिर गएकोमा चिन्तित देखिएका छन् । उनीहरुले युवालाई अब कांग्रेसलाई बचाउ भन्न सकिरहेका छैनन् । किनकि नेपाली कांग्रेस सीमित नेताहरुको क्रिडास्थल भएको छ । खासमा अहिले नेपालको राजनीतिक क्षितिजमा ऐजेरु बन्दैछ गठबन्धन ।
लोकतन्त्रमा मतदाताले आफूले रोजेको उम्मेदवार र चुनाव चिन्हमा मतदान गर्न पाउनु मताधिकार भए पनि बन्देज लगाउन गठबन्धन अघि सारिएको छ । ‘गठबन्धन’ को अर्थ तल जरासम्म छैन माथि टुप्पोमै झाँगिएको छ ऐजेरु जस्तै । पौराणिक एउटा किंबदन्तीअनुसार महादेवको कठोर तपस्यापछि जसको शिरमा हात राख्यो त्यो भस्म हुने बरदान पाएको भष्मासुर नामक दैत्यले बरदान सही छ कि गलत छ भनेर परीक्षण गर्न खोज्दा आफ्नै टाउकोमा हात राखेर भस्म भएको थियो । अहिले दलहरुको नेतृत्वले ‘गठबन्धन’ लाई अस्त्रका रुपमा गरिएको प्रयोग अवश्य आत्मघाती बन्ने देखिन्छ । यसको उपादेयताबारे न आफ्ना संगठनका तल्ला समितिसँग राय मागेका छन् न मतदाताहरुकै राय बुझेका छन् । नेतृत्वकर्ताहरु सधै सत्ता र पदमा बसिरहन आफू अनुकूल गठबन्धन अस्त्रले मताधिकार निस्तेज पार्दैछन् । जुन स्वयं दलका तल्ला संगठन र मतदाता ध्वस्त हुनेछन् । बलियो देखिएका क्षेत्रमा पार्टीका कार्यकर्ता र मतदाता पलायन बन्नेछन् । जसबाट नेतृत्वलाई नै आउँदो समयमा क्षति पुग्नेछ । कांग्रेसलाई सदैव आफ्नो वर्गीय शत्रुका रुपमा अर्थ लगाउँदै राजनीतिक फाइदा लिँदै आएको माओवादी केन्द्रसँगको यो गठबन्धन कांग्रेसका निम्ति ऐजेरु नै भएको भन्न थालिएको छ । कांग्रेसको अमृत वृक्षमा अहिले ऐजेरुले ढपक्क ढाकेको छ ।
अन्ततः कांग्रेसको रुख सय साल सम्मका लागि सुकेर नराम्ररी निर्जीव बन्नेछ । परस्पर विपरीत सैद्धान्तिक धरातलका पार्टीहरुबीच हुने गठबन्धन अनन्त ऐजेरु नै सावित हुनेछ । पार्टी शीर्ष तहमा देखिएको अकर्मण्यता र आफू जसरी पनि जित्ने मनोदशाले पार्टी संगठन थला पर्नेछ । शुभचिन्तक र आफ्ना मतदाता निश्चय पनि गुमाउने छ । २०४६ यता सम्पन्न आठ वटा निर्वाचनमा कांग्रेसको रुख चिन्हमा मतदान गर्दै आएका आफ्ना खास मतदाता कांग्रेसले गुमाउने छ । अहिलेसम्म रुख चिन्हमा बाहेक अरु चिन्हमा स्वस्तिक छाप नलगाएका बफादार मतदाताको भरोसा कांग्रेसले गुमाउने नै छ । नेतृत्वले जति नै कडाइ गरे पनि हिजो कांग्रेस भएकै कारण घाँटी रेटिएका कांग्रेस कार्यकर्ता र मतदाताको सन्तान, उसको परिवार र उसका छिमेकीले कसरी अन्य दलमा भोट हाल्न सक्लान् ? भनी प्रश्न नेतृत्वलाई तेर्सिएको छ । संकटकालमा माओवादीलाई बास नदिएको र खाना नखुवाएको झोँकमा गाउँ
निकाला गरिएका ती कांग्रेसजनले पनि माओवादीलाई भोट नहाल्ने उद्घोष गरिरहेका छन् । गठबन्धनबाट बन्ने माओवादी उम्मेदवार सत्ता र शक्तिको आडमा जित्ला तर बहुसंख्यक कांग्रेस कार्यकर्ता र मतदाताले गठबन्धनको विकल्प रोज्ने झ्वाँक नेतृत्वलाई पोखिरहेका छन् । कांग्रेस मतदाता माओवादी मतदाता झैँ क्याडर वेश हैनन् । कमान्डरको आदेश झैं कांग्रेस मतदाता मान्न तयार छैनन् । माओवादी भन्दा तुलनात्मक रुपमा लोकतान्त्रिक संस्कारबाट दीक्षित कांग्रेस मतदाताले माओवादी पक्कै रोज्ने छैन भन्ने दाबी मौलाउँदो छ । हिजो हिंसात्मक द्वन्द्वका बेला कांग्रेसको चारतारे झण्डा सिरानी मुनि राखेर निदाउने हजुरबाहरुका हातले आज अन्य चिन्हमा स्वस्तिक छाप नलगाउने बताइरहेका छन् । नेतृत्वले स्मरण गरिराख्दा हुन्छ । विगतका गठबन्धनबाटसमेत पुष्टि भइसकेको हो । कांग्रेस गढका रुपमा स्थापित चितवनमा २०७४ मा माओवादीसँग गरिएको गठबन्धनले नेतृत्वलाई सन्देश दिएकै हो ।
कुनैबेलाको गढ अहिले सदासदाको लागि गुमाउने अवस्थामा कांग्रेस पुगेको छ । ०७४ मा कमजोर देखिएको क्षेत्रमा ०७९ आइपुग्दा अनपेक्षित बलियो देखिएको कांग्रेसले आफ्ना विश्वासिला मतदाताहरुको भरोसा दीर्घकालसम्मका लागि गुमाउने एउटा दुर्भाग्य हुने त हैन यो गठबन्धन ? कुनैबेला नेपाली राजनीतिमा मियो रहेको कांग्रेस अब त्यो रहेन । माओवादी, नेकपा एकीकृत समाजवादी लगायतका दलहरुको बैशाखी कांग्रेस बन्न नपरोस् भन्ने मतदाताको आशा र भरोसा मापन गर्ने कांग्रेसमा त्यो सुझबुझ र दुरदर्शिता रहेन । ढाडमा टेकेर टाउकोमा बजार्ने रणनीतिमा माओवादी फलतः सफल बन्दैछ । बलिया प्रतिस्पर्धी दलहरुलाई निर्वाचनमा परास्त गर्न सकिँदैन । साँच्चै भन्दा शेरबहादुर देउवाले कांग्रेसलाई भड्खालोमा हालेका छन् । नेकपा एमालेका कारण देश डुब्दैछ भने जनतालाई बुझाउनु प¥यो । संसद विघटन गलत थियो भनेर बुझाउनु प¥यो । लोकतन्त्र मास्ने काममा एमाले लाग्यो भनेर बुझाउनु प¥यो । तर आज सबैभन्दा पुरानो र ठूलो पार्टीको स्थिति भने सत्ताका लागि अन्य विचार नमिल्ने दलहरुसँग मिलेर अगाडि बढ्दा सच्चा कांग्रेसले किन भोट दिने ? यसको फाइदा माओवादीले उठाउँदै छ । प्रतिस्पर्धीलाई छिन्नभिन्न बनाउँदै गए आफू शक्तिशाली बन्न बेर लाग्दैन । यही रणनीतिका साथ माओवादी केन्द्र अहिले पनि एउटा युद्ध गर्दैछ । नेपालका लोकतान्त्रिक दलहरुलाई तहसनहस पार्न । ०६४ को आफ्नो साख ०७० सम्म कायम नरहेपछि ०७४ मा एमालेसँग गठबन्धन गरी स्वाद चाखेको माओवादीले अनन्तः एमालेलाई नै कमजोर बनाइ दियो । त्यस यता नेपाली राजनीतिक क्षीतिजमा बलियो बन्दै आएको कांग्रेसको शक्तिलाई छिन्नभिन्न पार्दै आफू शक्तिशाली बन्न माओवादी रणनैतिक अभियानमै छ । यो भेद कांग्रेसले बुझ्न सकेको देखिँदैन । बुझ्ने बेला कांग्रेस छिन्नभिन्न र निरीह भइसकेको हुनेछ । यस्तो लाग्छ कि एक दिन नेपालमा कांग्रेस पनि थियो र ? भन्ने दिन आउने छ ।