ढुक्क छैनन् प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज दोस्रो पटक संसदमा विश्वासको मत लिँदै छन् । उनले त्यस विषयमा दश दलीय गठबन्धनसँग छलफल गरेरमात्र विश्वासको मत लिने मिति तय गरेका हुन् । प्रचण्ड नेतृत्वको सरकारबाट नेकपा एमाले र राप्रपा बाहिरिएर समर्थन फिर्ता लिएपछि उनले विश्वासको मत लिन लागेका हुन् । फागुन १२ गते राप्रपा र फागुन १५ गते एमालेले सरकार छोडेका थिए । प्रधानमन्त्रीले समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार उपराष्ट्रपति निर्वाचनपछि प्रचण्डले विश्वासको मत लिन लागेका हुन् ।
प्रचण्ड एमाले, राप्रपासहित सात दलको समर्थनमा गत पुस १० मा प्रधानमन्त्री नियुक्त भएका थिए । पहिलो पटक पुस २६ मा प्रचण्डले कांग्रेस, एमाले, राप्रपासहितका दलको विश्वासको मत पाएका थिए । त्यो बेला प्रचण्ड संसदमा अहिलेसम्मकै सर्वाधिक मत पाउने प्रधानमन्त्री पनि बनेका थिए । अप्रत्याशित रुपमा प्रतिपक्षमा बसेको कांग्रेसले पनि मत दिएपछि प्रचण्डले त्यो सफलता हासिल गरेका थिए । तर अब त्यस्तो अवस्था हुने छैन । प्रचण्डलाई अहिले कम्तीमा एमाले र राप्रपासँगै यसअघिसमेत मत नदिएको नेमकिपाले भोट हाल्ने छैन ।
राष्ट्रपति निर्वाचनपछि कांग्रेस, माओवादी लगायत दश दलीय गठबन्धन बनेको छ । प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्रै मन्त्रीपरिषद् विस्तार गर्ने बुझिएको छ । त्यसअघि उनले आफू ढुक्क हुन खोजिरहेका छन् । तर संसदका दलहरुको नियत भने फरक फरक हुँदै गएकाले पनि यसै भन्न सक्ने अवस्था छैन । यद्यपि जुन दल पनि स्वार्थकै बाटोमा अगाडि बढेकाले उनीहरुमा आफ्नो शक्ति ठूलो बनाउने होड बनेको हो ।
संसदमा नेपाली कांग्रेसको सबैभन्दा बढी ८९ सांसद छन् । एमालेका ७८ सांसद छन् । त्यसपछि माओवादी केन्द्रमा ३२ मा खुम्चिएको छ । तर अब भने विभिन्न दलबीच गठबन्धन गरी आफूलाई सशक्त बनाउने होड चलिरहेको छ । संसदमा माओवादी केन्द्रसहित तीन दलको मोर्चा बन्ने भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनमत पार्टी सहितका सात दल पनि गठबन्धन बनाउने कसरतमा लागेका छन् । माओवादी, नेकपा एस र जसपाले संसदमा तेस्रो ठूलो शक्ति
हुने गरी समाजवादी मोर्चा बनाउन कसरत गरेपछि रास्वपा लगायतका दलले यस्तो तयारी गरेका हुन् । रास्वपा, जनमत पार्टी, लोसपा, नागरिक उन्मुक्ति पार्टी, आम जनता पार्टी, हाम्रो नेपाली पार्टी र संघीय समाजवादी पार्टीले गठबन्धन बनाउन लागेका हुन् । गठबन्धन बनाउने अन्तिम तयारीमा पुगेको स्रोतले जनाएको छ । माओवादीसहित नेकपा एस र जसपाले तेस्रो शक्ति निर्माण गरेर संसदमा ५४ सिटको मोर्चा बनाउने प्रयास गरिरहेका छन् । त्यसका लागि तीन दल लामो समयदेखि छलफलमा रहेका छन् ।
जनमत पार्टीले उपराष्ट्रपति निर्वाचनमा उठाएकी उम्मेदवार ममता झालाई रास्वपाले मत दिने निर्णयसँगै यस विषयमा आन्तरिक छलफल शुरु भएको हो । नयाँ बनेको गठबन्धनमा कांग्रेस र माओवादीले जसपा र नेकपा एसलाई मात्रै महत्व दिन थालेपछि उनीहरुले पनि आफ्नो अस्तित्व खोज्न यस्तो मोर्चा बनाउन लागि परेको जनमत पार्टीका एक नेताको दाबी छ । जनमत पार्टीले उपराष्ट्रपतिमा ममता झालाई उम्मेदवार बनाएको थियो । तर झालाई लोसपा, नागरिक उन्मुक्ति पार्टी लगायतले मत भने दिएनन् । रास्वपाले भने जनमत पार्टीलाई भोट दिएको थियो । संसदमा दुवै नयाँ दल हुन् । जनमत पार्टीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचार मुद्धा खेपिरहेकी विवादित महिला ममता झालाई उम्मेदवार बनाएको भए पनि भ्रष्टाचार विरोधी भनेर चिनाउन खोज्ने रास्वपाले उपराष्ट्रपतिमा भने उनै झालाई मत दिएको थियो ।
१० वर्षअघि साझा प्रकाशनको अध्यक्ष एवं महाप्रबन्धक हुँदा पदको दुरुपयोग गरेको आरोप उनीमाथि लागेको थियो । यति मात्र होइन साझा डुबाउनेमध्येकी एक उनी पनि भएको आरोप लाग्ने गरेको छ । २०७० सालमा साझा प्रकाशनका कर्मचारीले झालाई प्रवेश निषेध गर्दै आन्दोलन गरेका थिए । एक प्रतिवेदनले झा अध्यक्ष भएका बेला सरकारले साझाको केन्द्रीय भवन बनाउन दिएको रकम घोटाला भएको औँल्याएको थियो । साझाको भवन बनाउन रकम नपुगे पनि उनले आफ्ना लागि ८० लाखको गाडी किनेकी थिइन् । संसदमा मोर्चा बनाउने र शक्ति आर्जन गर्ने नाममा रास्वपा सभापति रवि लामिछानेले उनै विवादित उम्मेदवारलाई मत दिने निर्णय गराएका थिए । ‘भ्रष्टाचार विरोधी अभियानमा लागेका लामिछानेले ममता झालाई मत दिने निर्णय गराए । उनकै प्रस्तावमा झालाई मत लिनपर्छ भनेपछि अन्य सांसदहरले प्रतिवाद गरेनन् । चुपचाप बसे’, रास्वपाका एक सांसदले भने । उनका अनुसार अहिले जनमतसहित संसदीय मोर्चा बनाउने कसरत भैरहेको छ । अब स्वार्थ केन्द्रीत राजनीतिले ठूलो नै बनाउन खोजिरहेको छ । कता जाला त एक सिटे नेमकिपा र राष्ट्रिय जनमोर्चा ?