चौतर्फी अराजकता बढ्दै, विधिको शासन गफ मात्रै

Home Feature

मुलुक गम्भीर मोडमा


काठमाडौँ । देश निकै नै गम्भीर मोडमा पुगेको छ । अहिले कोही पनि जिम्मेवार देखिँदैनन् । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका कहीँ पनि इमान देखिएको छैन । यति अस्तव्यस्त यसअघि कहिल्यै भएको थिएन । यसकै कारण आज काठमाडौँ महानगरपालिकाका मेयर वालेन्द्र साह (बालेन) ले आफ्नो पदीय मर्यादा नाघेर पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई चोर सरकार भनेर गाली गर्दा पनि सामाजिक सञ्जालमा हजारौँ लाइक, कमेन्ट र शेयर हुन्छ । बालेनले सिंहदरबारमा आगो लगाउँछु भन्दा पनि समर्थन बढ्छ । यो भन्दा उश्रृंखल अरु के हुन सक्छ ।
कहीँ पनि अब इमान रहेन भनेर भन्दा फरक पर्दैन । पुरस्कार र दण्डको सजाय नै छैन भन्दा पनि भयो । आफ्नालाई जस्तोसुकै अवस्थामा पनि बचाउने र विपक्षीलाई सानो निहुँमा पनि दुःख दिन परिपाटीले गर्दा मुलुक थप अस्तव्यस्त बनेको छ । मुलुकमा गणतन्त्र आएपछि वाक् स्वतन्त्रताको दुरुपयोग बढेको छ । मभन्दा माथि कोही छैन भन्नेहरु वडाध्यक्ष पनि भएका छन् । त्यसैले मिलेर एउटा राजा त फाले तर अहिले हजारौँ राजा गल्ली गल्लीमा भेटिन थालेका छन् । ती राजाहरुले विधिको शासन मान्दैनन् । संविधान मान्दैनन् । यो त्यही मुलुक हो जसको राष्ट्रपति र प्रधानमन्त्रीले नै संविधान मिच्छ । जबकि संविधानको रक्षा गर्ने सबैभन्दा ठूलो अभिभारा कसैको हुन्छ भने त्यो राष्ट्रपतिको हो ।
प्रधानमन्त्री प्रचण्ड आफ्नो कुर्सी बचाउन जुनसुकै कदम चाल्न तयार छन् । त्यसरी नै लागेका छन् उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसहितका मन्त्रीहरु । अनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवादेखि लिएर प्रमुख प्रतिपक्ष दलका नेता एवं एमाले अध्यक्ष केपी शर्मा ओली पनि उत्तिकै अपराध ढाक्नमा सक्रिय छन् । विगत १० वर्षको अवधिलाई मात्र केलाउने हो भने पनि यिनै तीन जनाभन्दा बाहिर सत्ताको चाबी गएको छैन । अझ २०७२ सालदेखि त प्रचण्ड, केपी ओली र देउवामात्रै प्रधानमन्त्री भएका छन् । उनीहरुको यही अवधिमा नेपालमा भ्रष्टाचार कति बढ्यो ? सयौँ किलो सुन कति
भित्रियो ? भन्ने स्पष्टै छ । त्यतिलेमात्र पनि नपुगेर गिरोहलाई साथ दिएर यिनीहरुले नेपालीलाईसमेत नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने म्यानपावरका दलाल भएका छन् । स्पष्टै छ कि कांग्रेसका बालकृष्ण खाँड परे भने देउवा पत्नी आरजू राणा देउवा पनि परेकी छिन् ।
त्यस्तै आरोपीले केपी ओलीका स्वकीय राजेश शाक्यलाई लाखौँ रुपैयाँ दिएका थिए भने केपी ओलीको भागमा पनि परेकै हुनुपर्छ । अनि यसलाई लुकाउन आफूहरुबीच समझदारी गर्छन् । कृष्णबहादुर महरा सुनकाण्डमा फसेको सीआईबीको रिपोर्टले यसअघि नै भनेको थियो भने उनलाई पक्राउ गर्नबाट किन चुक्यो सीआईबी ? ललिता निवास जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईहरु किन पक्राउ नपर्ने ? तत्कालीन मुख्यसचिव लिलामणि पौडेललाई समाउनै नहुने कानून कसले बनायो ? धरानमा गोरु काटेर खाएर जात्रा गरिएको छ । संविधान मिचेर गरिएको कुनै पनि अपराधलाई प्रश्रय दिने पनि अपराधी नै हुन् । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई नियन्त्रणमा लिन कसलाई आपत्ति हो ?
कोशी प्रदेश सरकारविहीन भइरहेको छ । तर अदालतले अग्राधिकार दिएर त्यसलाई तत्काल छिनोफानो गरेर निकास दिनुको सट्टा मुद्धालाई हेर्न नभ्याइनेमा राख्छ । अनि बलात्कारको आरोप लागेकाहरु अरु वर्षौँदेखि थुनामा हुन्छन् । तर सन्दीप लामिछाने क्रिकेट खेल्न श्रीलंकामा छन् । उनलाई खेल्न मिल्नेगरी नै पेशी हेर्न नभ्याइनेमा पारेर पछाडि धकेल्ने काम किन गरिन्छ ? यी यावत् प्रश्नको जवाफ दिने निकायहरु नै स्वयं प्रश्न बनिरहेका छन् । संसद नखुल्दासम्म अब बरबाद भयो भन्नेहरु अहिले समय बरबाद गरिरहेका छन् । २०७२ सालमा जारी गरिएको संविधानको कार्यान्वयन पूर्णरुपमा अहिलेसम्म हुन सकेकै छैन ।