गोरखा भूकम्पको मल्हमपट्टी सुक्नै लाग्दा जाजरकोटले सचेत गरायो

Home Feature

काठमाडौं । जाजरकोटमा शुक्रबार राति ११ः४७ बजे आएको ६.४ रेक्टर स्केलको नयाँ भूकम्पले फेरि एकपटक सबैलाई सचेत गराएको छ । भूकम्प–विद्हरुका अनुसार नेपाल पहिलेदेखि नै भूकम्पको खतरामा भएको देश हो । नेपालमा अझै ठूलो भूकम्पको खतरा टरेको छैन । शुक्रबार रातिदेखि यो समाचार तयार गर्दासम्म सयौँ पराकम्पन आइसकेका छन् । अर्थात् यो २०७२ सालको गोरखा भूकम्पको पराकम्पन नभइ नयाँ भूकम्प हो र यसका पराकम्पन आउने क्रम केही समय निरन्तर चलिरहन्छ । जाजरकोट र रुकुम पश्चिममा ठूलो जनधनको क्षति पुर्याएको छ । यसको भपाई गर्न फेरि कयौँ वर्ष लाग्न सक्नेछ । १६० को हाराहारीमा मानिसको ज्यान गएको छ । दुई सय बढी घाइते भएका छन् । हजारौँको बास ढलेको छ । भूकम्पले पहिलेदेखि नै हेपिएको कर्णालीका दुई जिल्लालाई झन् हेपेको छ ।
यसपालि उद्धार राहत वितरणको काम केही तीव्र रुपमा भएको छ । घाइतेहरुलाई उपचारका लागि काठमाडौँसम्मै ल्याइएको छ । सरकारले तदारुकता देखाएको छ । त्यतिमात्र नभइ राजनीतिक दलका नेता कार्यकर्ता पनि खटिएका छन् । यो भूकम्प मझौला खालको भूकम्प हो । ६.३ रेक्टर स्केलको भूकम्प असोज १८ गते बझाङ केन्द्रविन्दु भएर गएको थियो । त्यसले त्यतिठूलो क्षति गरेन । तर ६.४ रेक्टर स्केलको भूकम्पले यतिठूलो क्षति गरायो । भूकम्पको प्रकृतिअनुसार पनि क्षति हुने हुन्छ । जाजरकोट भूकम्पको
केन्द्रविन्दु जमीनको सतहबाट १० किलोमिटर गहिराइमा मात्र भएकाले पनि वरिपरि बढी क्षति गरेको भूकम्पविद्हरुले बताएका छन् । भूकम्पविद्हरुले यो भूकम्पलाई मझौला खालको भूकम्प भनिरहँदा अझै ठूलो भूकम्प जाने सम्भावना कायमै छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले सचेत रहन जहिले पनि आह्वान गर्दै आएको हुन्छ । पश्चिम नेपाल आसपासमा ठूलो भूकम्पको सम्भावना कायमै रहेको केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले बताए ।
उनले मझौला भूकम्प आउनुको मतलब त्यो क्षेत्रमा ठूलो शक्ति संचित छ भन्ने स्पष्टै हुने बताएका छन् । ८ रेक्टर स्केलदेखि माथिका भूकम्पलाई महाभूकम्प भनिने र ८ रेक्टर स्केलको सञ्चित शक्ति क्षय हुन ६ रेक्टर स्केलका हजारौँ भूकम्प जानुपर्ने बताए । सामान्यतया ६ रेक्टर स्केलभन्दा ७ रेक्टर स्केलको भूकम्प ३२ गुणा र ८ रेक्टर स्केलको भूकम्प सयौँ गुणा शक्तिशाली हुन्छ । आवासमा भ्रष्टाचार र काँचो योजना
२०७२ सालको गोरखा भूकम्पपछि सुरक्षित आवासको अवधारणा आयो । जनता आवास कार्यान्वयन कार्यविधि २०७३ आयो । सोही अनुसार सरकारले घरका फुसका छाना फालेर जस्तापाता हाल्ने, झुप्रा भत्काएर पक्की घर बनाउने योजना ल्याइयो ।
यसमा सरकारले अर्बौँ स्वाहा ग¥यो । त्यतिमात्र होइन यसैमार्फत आफन्त र कार्यकर्तालाई सोही अनुसारको रकम बाँडियो । विभिन्न बहानामा भ्रष्टाचार भयो । तर सुरक्षित स्थलको खोजी गरिएन ।
बस्ती कहाँ बसाउँदा उचित हुन्छ भनेर ख्याल गरिएन । जसका कारण सिन्धुपाल्चोक लगायतका जिल्लामा भूकम्पपछि बनेका घर पनि पहिरोले बगाए । मौलिक हक अन्तर्गत सुरक्षित आवास पनि पर्दछ । तर त्यही सुरक्षित आवास स्थल हचुवामा बनाउँदा झन् नसोचेको परिणाम आयो । गोखरा भूकम्पपछि केही समयका लागि दुई तलेभन्दा बढी घर बनाइएन । तीन तला बनेको पनि भत्काए कतिपयले । तर के भयो अहिले सरकारले भ्यूटावर बनाएको छ । नागरिकले पनि घरका टावर बनाए । सचेत कोही भएका छैनन् । खबरदारी गर्ने निकाय नै मूर्खता गरिरहेको छ । गोरखा भूकम्पले भत्काएका घरहरु पूरै अहिलेसम्म ठडिएका छैनन् । पहुँच नहुनेहरुको विजोग छ । त्यसमा थपियो जाजरकोट र रुकुम पश्चिम । अब यो पीडा कहिलेसम्म रहने हो । तर फेरि पनि खबरदारी जरुरी छ कि अब त्यहाँका बस्ती उपयुक्त स्थान हेरेर मात्र बनाउनु पर्छ ताकि फेरि पनि भूकम्प आउँदा कम भन्दा कम क्षति होस् ।