ओली–बालेन ‘वार’ ले विग्रिँदै राजनीति

Home Feature

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीको छुद्र बोलीप्रति सबै जानकार छन् । प्रधानमन्त्री भइसकेको नेपाली राजनीतिमा उनी जत्तिको छुद्र बोल्ने कुनै पनि प्रधानमन्त्री भएनन् होला । ओली यतिसम्म कि जोसँग पनि भिड्न तयार हुन्छन् । शैक्षिक योग्यता निकै कम भए पनि आफू बोलेपछि त्यही नै सत्य रहेको भनेजसरी उनी आफैँ उखानटुक्का बनाइदिन्छन् र त्यसलाई नै सत्य मानिदिन्छन् उनका कार्यकर्ताहरु । अनि एकाएक जोसिन्छन् ओली । तर उनको छुद्र बोलीले कतिसम्म असर गरेको छ र मुलुकले अझै कति क्षति बेहोर्ने हो हेर्न बाँकी नै छ ।
गत साताको सोमबारको एउटा घटनालाई लिउँ । सोमबार काठमाडौँ महानगरपालिकाका मेयर वालेन्द्र साह (बालेन) ले गिरीबन्धु टि–स्टेटको जग्गाबारे प्रसङ्ग निकाल्दै ओलीमाथि खनिए । उनले १०० अर्ब भ्रष्टाचारको मुद्दालाई डाइभर्ट गर्न ओलीले न्यूरोडको विवाद सिर्जना गरेको आरोप लगाए । त्यतिमात्रै नभएर नयाँ शक्ति आएर कारबाही गर्ने भन्दै आफू राष्ट्रिय राजनीतिमा आउने संकेतसमेत एकैसाथ गरे । काठमाडौँ महानगरपालिकाले पार्किङ हटाएर फुटपाथ विस्तार गर्न भत्काएको ठाउँमा सडक विभागले कालोपत्रे गरिदिएपछि बालेन आक्रोशित भएका हुन् । व्यापारीसँगको सेटिङमा एमाले नेतृत्वले काम गर्न नदिएको उनको बुझाइ छ । अहिले संघीय सरकारको भौतिक पूर्वाधारमन्त्रीमा
एमालेकै मन्त्री छन् । वडामा समेत एमालेका जनप्रतिनिधिले मात्रै विरोध गर्नुले आफूप्रति एमालेको नेतृत्व नै असहयोगी बन्ने गरेको बालेनको बुझाइ छ । ०७९ को स्थानीय तहको चुनावमा बालेन र एमाले प्रमुख शत्रु देखिए पनि यसलाई दुवै पक्षले सौहार्दपूर्ण रुपमै लिएका थिए । त्यही कारण हुन सक्छ चुनावी नतिजा आफ्नो पक्षमा आउने देखिएसँगै बालेन ओलीलाई भेट्न बालकोट पुगेका थिए । बालकोटले पनि बालेनलाई रातो कार्पेट बिच्छ्याएरै स्वागत गरेको थियो । काठमाडौँ महानगरलाई कसरी व्यवस्थित बनाउन सकिन्छ भनेर बालेनले त्यतिबेला ओलीसँग सुझावसमेत मागेका थिए । मेयरको काम थालेपछि बालेनले ‘सुधार’ का केही कामहरु गर्न थाले । खासगरी नक्सा पासबिना बनेका घर टहरा खाली गर्ने विषयमा बालेन अघि बढेका थिए । यो क्रममा सुरुमा नर्भिक हस्पिटलको टहरा भत्काउन प्रयास गरे । त्यस्तै बुद्धनगरको अल्फाबिटा कम्प्लेक्समा समेत बालेनले डोजर चलाउने प्रयास गरेका थिए ।
एमाले निकट मानिने द्विराज शर्माको अल्फाबिटा कम्प्लेक्समा डोजर चलाउँदा महेश बस्नेतले कडा प्रतिवाद गरे । त्यहाँसम्म पनि ठीकै थियो होला तर थापाथलीको सुकुम्बासी बस्ती हटाउने प्रकरणपछि भने बालेन ओलीप्रति निकै आक्रोशित छन् । २०७९ कात्तिकमा सुकुम्बासी बस्ती हटाउन गएका नगर प्रहरीलाई स्थानीय सुकुम्बासीहरुले लखेटेका थिए । बस्ती हटाउने नगर प्रहरीको प्रयास सफल नभएपछि महानगरले संघीय सरकारको सहयोग मागेको थियो । त्यतिबेला ओलीकै दबाबमा सरकारले सहयोग नगरेको बोलेनको बुझाइ छ । ओलीले त्यतिबेला सुकुम्बासी बस्तीमा डोजर चलाएर तमासा गरिएको बताएका थिए । एमालेका केन्द्रीय नेता नै सुकुम्बासी बस्तीका हर्ताकर्ता देखिनु र ओलीको त्यो अभिव्यक्तिपछि बालेन एमालेप्रति थप आक्रोशित छन् ।
त्यही अवस्था सिनामंगलको सुकुम्बासी बस्तीमासमेत छ । अहिले काठमाडौँ महानगरपालिकाको सबैभन्दा टाउको दुःखाइ यही दुईवटा सुकुम्बासी बस्ती बनेको छ । तर पनि सुकुम्बासी बस्ती हटाउने योजना अझै सफल हुन सकेको छैन । कांग्रेस र माओवादीको सरकार हुँदा नै सहयोग नपाएको अवस्थामा अहिले एमालेको साझेदारीमा बनेको सरकारले यसमा सहयोग गर्ने अवस्था नदेखेर महानगरले अहिले बस्ती हटाउने प्रयास नै गरेको छैन । अघिल्लो साताको शुक्रबार काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठकमा एमाले न्यूरोडमा सडकपेटी विस्तारको सम्बन्धमा वडा नम्बर २२ का वडाध्यक्ष चिनिकाजी महर्जनसँग बालेनको चर्काचर्की भयो । वडा कार्यालयबाट फाइल जफत गरिएको सन्दर्भमा शुरु भएको विषय सडक विस्तारसम्म पुगेको थियो । जबकि न्यूरोडमै पर्ने वडा नम्बर २४ का वडाध्यक्ष विनोदकुमार राजभण्डारीले भने यो कदमलाई समर्थन गरे । एमालेको नेतृत्व अहिले न्यूरोडमा फुटपाथ विस्तार होस् भन्ने चाहँदैन । अहिले न्यूरोड क्षेत्रमा हटाइएको पार्किङसमेत उपयुक्त नभएको एमाले नेतृत्वको ‘टप–टु–बटम’ बुझाइ छ । यसले स्थानीय व्यवसायमा ठूलो असर परेको भन्दै वडाध्यक्ष महर्जनले पटक–पटक विरोध गर्दै आएका छन् । पार्किङको सम्बन्धमा पनि यसअघि वडाध्यक्ष महर्जन र मेयर बालेनबीच चर्काचर्की भएको थियो । वडाको नाममा न्यूरोडलाई बाँडेर ऐतिहासिकता बिगार्न खोजेको बालेनमाथि महर्जनको आरोप छ ।
बालेनको बुझाइमा महानगरबाट आफू बाहिरिएपछि न्यूरोड क्षेत्र पुरानै अवस्थामा पु¥याइन्छ भन्ने छ । अहिले फुटपाथ विस्तार रोकियो भने मेयर फेरिएपछि फेरि पार्किङबाट कमाउन पाइन्छ भन्ने सोच भएकाहरुले फुटपाथ विस्तार रोकिरहेको आरोप लगाएका छन् । गिरीबन्धु टि स्टेटको प्रकरणमा बालेनले ओलीको नाम लिएपछि ओली आक्रोशित छन् । बालेनको अभिव्यक्तिको भोलिपल्ट संञ्चारकर्मीले गिरीबन्धुबारे प्रश्न सोध्दा संसद बाहिर नै ‘बालेनलाई सोध्नु’ भन्ने ठाडो जवाफ दिएका थिए । त्यसपछि पटक–पटक बालेनको बारेमा एमालेले संसदमा प्रश्न उठाएको छ ।
एमाले सांसद योगेश भट्टराईले बालेन पछिल्लो समय उच्छृंखल बन्दै गएको आरोप लगाए । संसदको विशेष समयमा उनले बालेनमार्फत लाखौँ युवाले नेपालको भविष्य खोजेको भए पनि पछिल्लो दिनका गतिविधिले युवाहरूको सपनामाथि बालेनले धोका दिँदै गएको टिप्पणी गरे । ओली आफैँ पनि त्यतिमा रोकिएका छैनन् । शुक्रबार मात्रै उनले बालेनलाई झिँगाको संज्ञा दिँदै उनको अभिव्यक्ति भैँसीलाई झिँगाले लात्ताले हानेजस्तो भएको टिप्पणी गरे । ‘भैँसीलाई लात्ताले हानेँ भनेर झिँगा दंग परेको छ’ ओलीले भने ।
बालेनले भने यी घटनाक्रमबारे कुनै अभिव्यक्ति दिएका छैनन् । तर फुटपाथ विस्तार गर्न नदिनु प्रतिशोध भएको उनको भनाइ छ । सडक विभागले आफूसँग प्रतिशोध लिएको भन्दै बालेनले भनेका छन्, ‘प्रतिशोध लिने भए विकास रोक्नेहरूसँग लिउँ, कागजमा वैज्ञानिक कुरा लेखेर व्यवहारमा कमिशन बढाउन खोज्नेहरूसँग लिउँ, फुटपाथ बढाउन रोकियो भने अहिले यो गइहाल्छ, पछि फेरि पार्किङबाट कमाउन पाइन्छ भन्ने सोचेर न्यूरोडलाई लथालिङ्ग र अव्यवस्थित बनाउनेहरूसँग लिउँ ।’ बालेनको यो भनाइप्रति एमाले बाहेक कसैले पनि विरोध गरेका छैनन् । किनकि बालेनको नियत अरु घुस्याहा नेताभन्दा माथि छ । उनी भ्रष्ट नभएकैले भ्रष्टहरुलाई टाउको दुःखाइ भएको विष्लेषणसमेत भइरहेको छ । आखिर मुलुकलाई अस्थिर बनाउन खोज्ने के ओली नै हुन् ? ओलीले गिरीबन्धुबारे टिप्पणी गर्ने बेलामा ओलीलाई पहिले पनि जेल गएकै हो अब पनि के फरक पर्ला र भनेर भनेका थिए । ओली कतै बुढ्यौली समयमा गिरीबन्धु टि–स्टेटसहितका थुप्रै काण्डका फाइल खुले भने जेलले पनि ठट्यौली गर्ने मान्छे खोजेको त हैन ?