माधव–झलनाथ सिधा टक्कर
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) भित्र अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच वैचारिक टक्कर देखिएको छ । आसन्न महाधिवेशनका लागि दुवैबीच टक्कर चलेको हो । दुवैबीच अध्यक्षका लागि प्रतिस्पर्धा हुने देखिएको छ । पार्टी विभाजनको औचित्य प्रष्ट पार्ने भन्दै नेपालले अध्यक्ष पद नछाड्ने र खनालले एमालेभन्दा फरक देखिनुपर्ने भन्दै अध्यक्षमा दावी गरिरहेपछि प्रतिस्पर्धा निश्चित देखिएको हो । माधव नेपालले आफ्नो सचिवालयलाई प्रयोग गरेर प्रतिनिधिहरुसँग छलफल गरिरहेका छन् भने खनालले पनि आफ्नो घर डल्लुमा कार्यकर्ता बोलाएर छलफल गरिरहेका छन् ।
उनले वर्तमान महासचिव घनश्याम भुसाललाईसमेत आफ्नो पक्षमा खुल्न आग्रह गरिरहेका छन् । भुसाल भने आफैँ अध्यक्ष लड्ने तयारीमा लागेका छन् । नेपालको तयारीका लागि पोलिटब्युरो सदस्य रामकुमार भट्टराई, केन्द्रीय सदस्यहरु लक्ष्मण पौडेल, मोहन गौतम, दिलु पन्त, सुदेश पराजुली, जीवन राईको टिम नै परिचालन भएको छ । सो टिमले बिहीबार काठमाडौँमा केही पत्रकारहरुसँग प्रचार रणनीतिको बारेमा छलफल पनि गरेको थियो । महाधिवेशन तयारीसँगै नेतृत्वका लागि पनि जोडघटाउ शुरू भएको छ । वर्तमान अध्यक्ष माधवकुमार नेपालले फेरि पनि नेतृत्वमा दोहोरिन चाहेपछि माधव नेपाल पक्षले ९२ प्रतिशत प्रतिनिधिहरु आफ्नो पक्षमा रहेको बताएको छ ।
त्यस्तै वरिष्ठ नेता खनालले पनि अध्यक्ष पदका लागि तयारी थालेका छन् । महासचिव घनश्याम भुसालले पनि अध्यक्ष पदमा दाबी गरिरहेका छन् । उनीहरुले प्रतिनिधिको बारेका केही बताएका छैनन् । खनालको प्रतिस्पर्धालाई नेपाल पक्षधरले खास गम्भीर रुपमा लिएको छैन । नेपाल पक्षले भुसाललाई अवसरवादी नेताको रुपमा चित्रण गर्दै महासचिव पदमा पनि जगन्नाथ खतिवडालाई अघि सारेको छ । एमालेबाट विद्रोेह गरी नयाँ पार्टी गठन गर्नुको औचित्य पुष्टि गर्ने अवस्था आएको बताउँदै अध्यक्ष नेपालले महाधिवेशन तयारीमा जुट्न पार्टी पंक्तिलाई आग्रह गरिसकेका छन् ।
महाधिवेशनसँगै नेकपा एसभित्र जनताको बहुदलीय जनवाद (जबज) को विषयलाई लिएर विवाद उत्पन्न भएपछि उनले जबज नै मार्गदर्शक सिद्धान्तको रुपमा रहेको र यसलाई अघि बढाउनुको विकल्प नभएको बताउँदै आएका
छन् । नेता खनालले जबजलाई नमान्ने र जबज मान्ने हो भने एमाले नै सबैभन्दा ठूलो जबजवादी पार्टी रहेको भन्दै आएका छन् । भुसालले भने नयाँ समाजवादी क्रान्ति भन्दै अर्को एउटा फण्डा निकालेका छन् ।
यतिबेला नेतृत्वमा रहिरहन नेपाल तथा नेतृत्वमा पुग्न खनाल र भुसालले आ–आफ्नै किसिमको तयारी गरेका छन् । अध्यक्ष नेपालले भने पार्टीले जबज मान्ने र नेतृत्व पनि सर्वसम्मत चयन हुने बताइसकेका छन् । त्यस्तै महासचिवमा प्रचार विभाग प्रमुख एवं हालका उपमहासचिव जगन्नाथ खतिवडाले चाहना देखाएका छन् । उनले आफू महासचिव बन्ने तयारीमा लागेको जानकारी अध्यक्ष नेपाललाई गराइसकेका छन् । देशव्यापी जनसम्पर्क भएकाले पनि खतिवडाका लागि महासचिव बन्न सहज हुने कार्यकर्ताहरूको दाबी छ । नेपाल पक्षले भुसालको विकल्पमा खतिवडालाई अघि सारेको छ ।
वैचारिक रूपमा सक्षम र स्पष्ट तथा विद्यार्थी मोर्चाबाट उदाएका नेता भएकाले पार्टीभित्र खतिवडालाई रुचाउने धेरै भएको बताइन्छ । यसैगरी प्रकाश ज्वालाले पनि आफू महासचिवको तयारीमा लागेको बताउँदै आएका छन् । उनले पनि यसबारे अध्यक्ष नेपाललाई जानकारी गराएका छन् । यी दुवैजना अध्यक्ष नेपाल नजिक मानिन्छन् ।
भौतिक योजना मन्त्रालयमा हुँदा विवादित बनेका ज्वालालाई कार्यकर्ताले खास मन पराएका छैनन् । घनश्याम भुसाललाई पछि आएको र उनी अवसरवादी रहेको भन्दै नेपालले खतिवडा र ज्वालामध्ये एक जनालाई महासचिव बनाउने सम्भावना रहेको स्रोतको दाबी छ । पार्टी नेतृत्व र सञ्चालनका लागि वैचारिक नीति तथा कार्यक्रमका आधारमा प्रतिस्पर्धा हुने नेताहरूले बताएका छन् । पार्टीको तल्लोदेखि माथिल्लो तहका नेता सम्बन्धित भूगोल तथा कार्यक्षेत्रबाट निर्वाचित हुनुपर्ने प्रावधान भएकाले महाधिवेशनमा पेस गरिने राजनीतिक, समाजवादी कार्यक्रम, विधान संशोधन र सांगठनिक दस्ताबेज थप समृद्ध बनाउन सबै जिल्ला तथा मातहतका कमिटीमा छलफलका लागि पठाइएको छ । अबको बैठकले त्यसलाई पास गर्ने तयारी थालिएको छ । नेकपा एसले महाधिवेशन लोगो पनि सार्वजनिक गरिसकेको छ । नेपालको फरफराइरहेको राष्ट्रिय झण्डालाई कलात्मक रूपमा प्रस्तुत गरिएको लोगोमा कम्युनिष्ट पार्टीको झण्डा राखिएको छ । ‘दक्षिणपन्थी यथास्थितिवादको विरोध गरौैँ, समाजवादी बाटोमा अगाडि बढौँ’ भन्ने नारा लोगोमा लेखिएको छ । महाधिवेशन असार १६ देखि २० गतेसम्म काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा गर्ने कार्यक्रम छ । महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्न पार्टी अध्यक्ष नेपालको नेतृत्वमा मूल व्यवस्थापन कमिटी र अन्य १४ वटा कमिटी निर्माण गरिएको छ ।
महाधिवेशन नजिकिँदै गर्दा नेकपा एसले महाधिवेशन तयारीसँगै नेताहरूको चाहनालाई ध्यानमा राखेर उमेरको हदबन्दी हटाएको छ । महाधिवेशनमा कम्युनिस्ट पार्टी निर्माणमा योगदान गरेका पुराना र अनुभवी नेताहरूलाई ध्यानमा राखेर उमेर हदबन्दी हटाइएको उसले जनाएको छ । उमेर हदबन्दी हटेपछि पहिलो पुस्ताका नेता पनि विभिन्न पदमा प्रतिस्पर्धा गर्न पाउने छन् । ‘अग्रज नेताहरूले पार्टीमा योगदान गर्नुभएको छ, अझै योगदान गर्ने र पार्टी निर्माणमा लाग्ने उत्साह देखाउनुभएको छ । यो भावनालाई हामीले ध्यान दिनुपर्छ’, प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले भने । यसअघि पार्टीले ७० वर्ष उमेर कटेका नेता कार्यकारी पदमा बस्न नपाइने व्यवस्था गरेको थियो । यो व्यवस्था एमालेमा रहँदा नै थियो । एमालेले पनि उमेरहदलाई खुकुलो बनाएको छ । नेकपा एसले महाधिवेशनमा प्रतिनिधि हुन कम्तीमा ३ वर्ष पार्टी सदस्य भएको हुनुपर्ने योग्यता तोकेको छ । २०७८ साल भदौमा एमालेबाट विभाजन भएर नेकपा एस गठन भएको हो । नेकपा एसले महाधिवेशनमा प्रतिनिधि छनोटका लागि एमालेकै सदस्यतालाई कायम गरेको छ । महाधिवेशनमा भाग लिने प्रतिनिधि छनोटबारे तीन वर्षे पार्टी सदस्यता अनिवार्य गर्नुपर्ने प्रस्ताव संगठन विभाग प्रमुखसमेत रहेका उपाध्यक्ष डा. बेदुराम भुसालले राखेका छन् । नेकपा एसले अन्तरपार्टी निर्देशन जारी गरी देशभर संगठित सदस्यको संख्या एक लाख ४६ हजार ७१७ रहेको जनाएको छ । तिनै सदस्यबाट एक हजार सात सय ७८ जना महाधिवेशन प्रतिनिधि छनोट हुनेछन् । यिनै प्रतिनिधिले नयाँ नेतृत्व चयन गर्ने छन् । र आफू पनि उम्मेदवार बन्न पाउने छन् ।