काठमाडौं । नेकपा एकीकृत समाजवादीको दशौं राष्ट्रिय महाधिवेशनमा जुटेको एमालेबाट विद्रोह गरेर पहिलोपटक महाधिवेशन गर्न लागेकाले सर्वसम्मत नेतृत्व चयन गर्न शीर्ष नेताहरुमाथि चर्को दबाब छ । नेकपा एसका भावी नेतृत्वमा अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालको दाबी छ । खनालले आफ्नो नाममा सहमति नभएर निर्वाचन भएको खण्डमा महासचिव भुसाललाई सघाउने वचन दिइरहेका छन् । तर, अध्यक्ष नेपालले आफ्नै नेतृत्वलाई निरन्तरता दिएर सर्वसम्मत नेतृत्व चयन गर्नेगरी छलफल गरिरहेका छन् । नेतृत्व सहमतिमै टुंग्याउन पार्टी पंक्तिबाट चर्को दबाबबढिरहेको बेलामा शनिबार आयोजित पत्रकार सम्मेलनमा तीन शीर्ष नेताले सर्वसम्मत नेतृत्व चयन गर्ने आश्वासन दिए ।
यद्यपि पार्टीभित्र नेतृत्व हात पार्ने दौड रोकिएको छैन । महाधिवेशनबाटै सहमतिमै नेतृत्व टुंग्याउन पार्टीमा सम्मानित नेता, वरिष्ठ उपाध्यक्ष पद सिर्जना गरेर पदाधिकारीको संख्या २१ पु¥याइएको छ । आवश्यकअनुसार वरिष्ठ नेता पद पनि राख्न सकिने बताइएको छ । अध्यक्ष नेपालले नेताहरु धेरै भएपछि पार्टीमा पद संख्या बढाउनुपरेको बताए । महाधिवेशनको दौडमा पछिल्लो समय नेकपा एसमा अध्यक्ष नेपालको नेतृत्वमा संस्थापन पक्ष र झलनाथ–घनश्यामको अर्को कित्ता बन्ने देखिएको छ ।
महाधिवेशन सम्मुखमा पार्टीभित्र गुटबन्दी मौलाएको कुरा स्वीकार्न भने दुवै नेताहरु तयार छैनन् । महाधिवेशन सम्मुखमा नेता कार्यकर्ताहरूको भेला र छलफल हुने कुरालाई स्वाभाविक रूपमा लिनुपर्ने अध्यक्ष नेपालले बताए । विगतमा पनि गुटबन्दीको कारणले ठूलो धक्का खानुपरेको स्मरण गर्दै उनले त्यसतर्फ आफू सचेत रहेको बताए । महाधिवेशनमा नेताहरु एकताबद्ध भएर अघि बढून् भन्ने नेता कार्यकर्ताहरुको चाहना प्रशंसनीय रहेको उल्लेख गरे ।