नयाँ नक्साले बबालः भारतको झन् हेपाहा प्रवृत्ति, परराष्ट्रसचिव स्तरीय वार्तामा शंका

Home Feature राजनीति समाचार

काठमाडौं । नेपाल सरकारले सुगौली सन्धिअनुसार लिम्पिया धुरासम्मको भूभाग समेटेर सार्वजनिक गरेको नयाँ नक्साप्रति भारतले आपत्ति जनाएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले विज्ञप्ति जारी गर्दै नेपालको नयाँ नक्सा भारतलाई स्वीकार नभएको बताए ।

‘नेपाल सरकारले जारी गरेको संशोधित आधिकारिक नक्सामा भारतका भूभागका केही अंश समावेश छन् । नेपालको यो एकपक्षीय कदम ऐतिहासिक तथ्य र प्रमाणमा आधारित छैन,’ विदेश मन्त्रालयको विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा ‘नेपालको नेतृत्वले विद्यमान सीमा मुद्दाहरू समाधानका गर्न कूटनीतिक संवादका लागि सकारात्मक वातावरण सिर्जना गर्नेछ भन्नेमा हामी आशावादी छौँ ’ भनिएको छ ।

‘कूटनीतिक संवादका लागि सकारात्मक वातावरण बनाउनुपर्ने’ भारतको सर्तले परराष्ट्रसचिवस्तरीय वार्ता पनि अनिश्चित हुने संकेत दिएको छ ।

गत वैशाख २६ गे भारतले पिथौरागढबाट नेपाली भूमि हुँदै लिपुभञ्ज्याङ जोड्ने सडकमार्ग उद्घाटन गरेपछि नेपालले २७ वैशाखमा विरोध जनाएको थियो ।

२७ गते भारतीय विदेश मन्त्रालयले कोरोना भाइरसको संक्रमण हटेपछि परराष्ट्रसचिव स्तरीय वार्ताको मिति तय हुने जनाएको थियो । तर वार्ता गर्नुपूर्व दवावमा आएको नेपालले बुधबार नै नेपालको नक्सा जारी गर्यो ।

त्यो नक्सा भारतलाई चित्त बुझेन । भारतीय संचारमाध्यमहरुले नेपालको चर्को विरोध गरेका छन् । नेपालको विरोधमा उनीहरुले चीनको हात भनिरहेका छन् ।

भारतले कूटनीतिक वार्तामार्फत विद्यमान सिमानासम्बन्धी मुद्दाको समाधान गर्ने द्विपक्षीय समझदारी नेपालले तोडेको र एकतर्फी रूपमा नयाँ नक्सा जारी गरेको आरोप लगाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबारको संसद बैठकमा भारतको निशानमाथि प्रश्न उठाएका थिए भने बोल्दाबोल्दै कोरोना भारतबाट आएको भनेका थिए ।

त्यसले नै अप्ठेरो पारेको तर्क पनि हुन थालेको छ । तर ओलीले गलत बोल्दा पनि नेकपाका नेता तथा कार्यकर्ता भने ओलीले ठीक गरेको भनी प्रशंसा गरिरहेका छन् ।

२९ वैशाखमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले काठमाडौंस्थित भारतीय राजदूत विनयमोहन क्वात्रालाई बोलाएर नेपालका तर्फबाट कूटनीतिक नोट (विरोधपत्र) दिएका थिए । राजदूत क्वात्राले मन्त्री ज्ञवालीलाई भारतीय विदेश मन्त्रालयको विज्ञप्ति हस्तान्तरण गरेका थिए ।

त्यसपछि भारतीय स्थल सेनाध्यक्ष मणिमुकुन्द नरवणेले नेपालको प्रतिक्रियालाई ‘कसैको उक्साहटमा’ नेपाल बोलेको भनी आरोप लगाएका थिए ।

यसैबीच परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने भूमि अतिक्रमण र सीमावर्ती मुद्दामा भारतसँग कूटनीतिक संवाद गर्नका लागि नेपाल तत्पर भएर बसेको बताएका छन् ।

तर उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल चुप लागेर नबस्ने बताएका छन् । यसलै नै आपसमा द्धन्द्ध सिर्जना गरेको छ ।

नेपालले भारतसंग लड्ने होइन प्रमाण पेश गरेर आफ्नो भूमि फिर्ता लिने हो । भारतसंग मित्रवत् व्यवहार बनाउने हो । तर यसरी नेपालभित्र लडेजसरी नै प्रतिक्रिया जनाउनु भन्दा सोचेसम्झेर कुटनीतिक तरिकाले प्रतिक्रिया दिनुपर्ने हो ।

वार्तालाई नै प्राथमिकता दिनुपर्छ । त्यसको विकल्प छैन ।