ओली नजिकका सबैलाई भागबण्डा

Home Feature

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओली पहिलेदेखि नै ‘इगो’ पालेर राख्ने नेता हुन् भनेर पार्टीभित्र निकै नै बहस हुने गर्दछ । नेता कार्यकर्ता भएका बेलामा अनौपचारिक रुपमा चिया गफका रुपमा यो बोली भन्न कोही चुकाउँदैनन् । तर ओली काखापाखा गर्न कहिल्यै छोड्दैनन् । ओलीले चाहे भने हिजोको निर्णय आज परिवर्तन गराइछाड्छन् । त्यस्तै भएको छ फेरि पनि । एक वर्षअघिको निर्णय परिवर्तन गर्दै एमालेमा सबै केन्द्रीय सदस्यको कार्यविभाजन गर्दा कसैलाई काखा र कसैलाई पाखा गरेको छ । एमालेले पार्टी अध्यक्षसहित तीन सय ५५ जना केन्द्रीय सदस्यहरूको कार्यविभाजन गर्दा यो विभेद गरेको हो । केन्द्रीय तहका नेताहरूलाई अन्तर जिल्ला सरुवा गरेर काममा खटाउने एक वर्षअघिको निर्णय परिवर्तन गर्दै एमाले केन्द्रीय सचिवालयको बिहीबारको बैठकले मूल नेतृत्वसहित सबै केन्द्रीय सदस्यको कार्यविभाजन गरेको थियो ।
जसमा पार्टी उपमहासचिव विष्णु रिमाल हावी भएको बताइएको छ । उनले आफ्ना गुटका नेताहरुलाई छानी छानी इन्चार्ज बनाएको दाबी गरिएको छ । जसअनुसार तीन सय ८५ सदस्यीय केन्द्रीय कमिटीमा मनोनीत भएका १६ केन्द्रीय सदस्य, पदेन केन्द्रीय सदस्यहरू रहेका केन्द्रीय निकाय र सात प्रदेश, केन्द्रीय कार्यालय सचिवसहित तीन विशेष प्रदेश अध्यक्षहरूको मात्र कार्यविभाजन भएको छैन । उनीहरूले सम्बन्धित कमिटीको नेतृत्व गर्नेछन् भने केन्द्रीय कार्यालय सचिवले कार्यालयको जिम्मेवारी सम्हाल्नेछन् । बागमती, कर्णाली र विभिन्न जिल्लाको कार्यविभाजनलाई हेर्ने हो भने त्यति सन्तुष्ट हुने अवस्था देखिएको छैन । उपमहासचिव पृथ्वी सुब्बा गुरुङलाई यतिबेला पार्टीको जिम्मेवारीबाट हटाएर मन्त्रीमा सीमित गरिएको छ । उनीसँगै मन्त्री वा सो सरहको राजकीय जिम्मेवारीमा रहेका रिमालको भने कायमै रहेको छ ।
उनी प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार रहेका छन् भने पार्टीमा आर्थिक विभाग तथा वित्त विभाग प्रमुख र निर्वाचन परिचालन कमिटीको प्रमुख पनि कायमै रहेका छन् । त्यसैगरी बागमतीमा डा राजन भट्टराईलाई इन्चार्ज बनाइएको छ । उनीभन्दा क्षमतावान नेताहरु भए पनि भट्टराई त्यो जिम्मेवारी त्यति सहज देखिएको छैन । विष्णु रिजाललाई दैलेखबाट काठमाडौँ ल्याएर मानवअधिकार हेर्ने जिम्मेवारी दिइएको छ । यस्ता धेरै उदाहरण रहेको एमालेका एक पदाधिकारीले बताए ।
एमालेले रिक्त उपाध्यक्षमा गुरु बराललाई मनोनयन गर्नुका साथै एकीकृत समाजवादीबाट प्रवेश गरेका नेताहरूलाई पनि जिम्मेवारी दिएको छ । तत्कालीन उपाध्यक्ष सुवास नेम्वाङको निधनबाट रिक्त रहेको पदमा स्थायी कमिटी सदस्य तथा बागमती इन्चार्ज बराललाई मनोनयन गरेको हो । एकीकृत समाजवादी परित्याग गरेर प्रवेश गरेका मुकुन्द न्यौपाने स्थायी कमिटी सदस्य मनानित भएका छन् । पोलिटब्युरो सदस्य लीलानाथ श्रेष्ठ पनि स्थायी कमिटीमा मनोनित भएका छन् । दक्षिण कोरियाका लागि राजदूत नियुक्त डा. शिवमाया तुङ्बाहाम्फेले राजीनामा दिएपछि रिक्त स्थानमा श्रेष्ठ मनोनित भएका हुन् ।
मन्त्रीहरूलाई सरकारकै जिम्मेवारीमा केन्द्रीत गरेर सबै केन्द्रीय सदस्यहरूलाई एक व्यक्ति एक मुख्य जिम्मेवारीको मापदण्डअनुसार नयाँ कार्यविभाजन भएको जनाए पनि रिमालको हकमा भने यो लागू भएको छैन । बागमतीको हकमा कृष्णगोपाल श्रेष्ठले इन्चार्जको अपेक्षा गरेको भए पनि त्यो पूरा हुन पाएन । पदाधिकारीहरूमध्ये अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव र उपमहासचिवको जिम्मेवारी यथावत् राखेर एमालेले सचिवहरूको जिम्मेवारी भने हेरफेर गरेको हो । जसअनुसार अध्यक्ष ओलीले समग्र नेतृत्व, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नीति अनुसन्धान प्रतिष्ठान प्रमुख र नीति तथा अनुसन्धानसँग सम्बन्धित विभागको जिम्मेवारी सम्हाल्नेछन् । पोखरेललाई पनि पार्टीको खास जिम्मेवारी दिइएको छैन । सचिवहरू रघुवीर महासेठ विदेश विभाग प्रमुख, योगेश भट्टराई संसदीय विभाग प्रमुख, गोकर्ण विष्ट भौतिक पूर्वाधार तथा यातायात विभाग प्रमुख, छविलाल विश्वकर्मा स्थानीय तह विभाग प्रमुख, पद्मा अर्याल लुम्बिनी इन्चार्ज र लेखराज भट्ट सुदूरपश्चिम इन्चार्ज भएका छन् । यसअघि महासेठ कोशी प्रदेश, भट्टराई मधेश प्रदेश, विष्ट गण्डकी प्रदेश, विश्वकर्मा सुदूरपश्चिम प्रदेश, अर्याल लुम्बिनी नै र भट्ट कर्णाली प्रदेश इन्चार्ज थिए । भट्टराई र विष्टलाई यो जिम्मेवारी त्यति उपयुक्त नभएको पार्टीभित्रै चर्चा चलेको छ । गण्डकी प्रदेश इन्चार्जको जिम्मेवारी भने स्थायी कमिटी सदस्य किरण गुरुङले पाएका छन् । उपाध्यक्ष विष्णु पौडेलबाहेक अन्य उपाध्यक्षहरूलाई यसअघि दिइएको केन्द्रीय विभागको अनुगमन र संयोजनको जिम्मेवारी यथावत् छ भने उपमहासचिवमध्ये प्रदीप ज्ञवालीले स्कुल विभाग, विष्णु रिमालले निर्वाचन विभागको जिम्मेवारी सम्हाल्नेछन् ।
संसदीय विभाग प्रमुख रहेका अर्का उपमहासचिव पृथ्बीसुब्बा गुरुङ भने मन्त्री भएकाले सरकारकै काममा केन्द्रीत रहन उनको जिम्मेवारी भट्टराई दिइएको हो । एमालेले सातवटै प्रदेशमा स्थायी कमिटी सदस्यहरूबाट नयाँ इन्चार्ज तोकेको छ । जसअनुसार कोशी शेरधन राई, मधेश लीलानाथ श्रेष्ठ, बागमती डा. राजन भट्टराई, गण्डकी किरण गुरुङ, लुम्बिनी पद्मा अर्याल, कर्णाली गोरखबहादुर बोगटी र लेखराज भट्ट सुदूरपश्चिम प्रदेशको इन्चार्ज तोकिएका छन् । अर्याललाई थपेर जिम्मेवारी दिएकोमा लुम्बिनीका नेताहरु असन्तुष्ट रहेका छन् । महासचिव शंकर पोखरेलको रुचीमा अर्याल लम्बिनीको इन्चार्ज बनेकी स्रोतको दाबी छ ।