प्रधानमन्त्री अमेरिकामै मस्त
काठमाडौँ । ‘देश र जनता रोइरहेको बेलामा अमेरिकामा व्यक्तिका घरमा काम न काजको अवैतनिक वाणिज्यदूत कार्यालय उद्घाटन गर्दै प्रधानमन्त्री ओली ! यस्तो विपतको बेला तपाईंको अमेरिका बसाइ र व्यक्तिका घरमा काम र अधिकार नभएको अवैतनिक वाणिज्य दूतावास तपाईंले उद्घाटन गर्दै हिँड्नु उपयुक्त हो र ? तपाईं त देशको प्रधानमन्त्री हो । सारा जनताको प्रधानमन्त्री हो नि, आफ्नो पद, उचाइको मर्यादा र गरिमा ख्याल गर्नु पर्ने होइन र ? कृपया तुरुन्त देश फर्केर यो विपत्तिमा नेपाली जनतालाई, पीडितहरूलाई प्रधानमन्त्री भएको आभास दिनुस्, सरकार भएको आभास गराउनुस् ।
डुबाए डुबाए तपाईंका वरिपरि र घेरामा हुनेहरूले प्रधानमन्त्रीज्यू । यो त पटक्कै हजम भएन दुःख नमान्नुहोला ।’ यो भनाइ हो अग्रज सञ्चारकर्मी रामप्रसाद खनालको । उनी अमेरिकामा रहेर आफ्नो कर्म गर्छन् । उनलाई प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकामा लखरलखर घुमेको मन परेको छैन । परोस् पनि कसरी कि विपदका बेलामा मुलुकको अभिभावक घरमै हुनुपर्छ । तर ओली त अमेरिकामा बेकाममा बसिरहेका छन् । खनालले चित्तै दुःखेर सामाजिक सञ्जाल फेसबुकमा आइतबार बिहानै उक्त भनाइ राखेका हुन् । उनको यो भनाइले देश कता जाँदैछ भनेर स्पष्ट इंकित गर्दैछ । केपी ओली कत्तिको जिम्मेवार प्रधानमन्त्री हुन् भनेर समेत छताछुल्ल भइदिएको छ ।
संयुक्त राष्ट्र संघको ७९औँ महासभामा भाग लिन उनी अमेरिका गएका हुन् । उनको संबोधनको कार्यक्रम गत बुधबार असोज ९ गते नै सकिएको थियो । त्यसयता उनी लखरलखर यताउती डुलिरहेका छन् । त्यहीबीचमा बिहीबारदेखि शनिबारसम्म आएको भीषण वर्षा र बाढी–पहिरोले डेढ सय भन्दा बढीको मृत्यु भएको छ ।
देशमा विपद परेपछि जस्तोसुकै भ्रमण छोट्याएर उनी स्वदेश फर्कनुपर्ने हो । अमेरिकाबाटै भए पनि सन्देश दिएर सान्त्वना प्रदान गर्नुपर्ने थियो । तर दुर्भाग्य उनी अवैतनिक वाणिज्यदूत कार्यालय उद्घाटन गर्नमा व्यस्त भए । यसले ओलीको हसियत पनि छर्लङ्ग भएको छ । गोरखा भूकम्पका बेलामा देखावटी राष्ट्रवादी बन्दै नेपालीलाई पीडा दिएर भारतसँग अनावश्यक पंगा लिएर राष्ट्रभक्तको नाममा
चर्चा कमाए पनि उनको योगदान भने गणतन्त्रमा एक टाँक बराबर पनि नभएको भनी निकै आलोचना भएको थियो । तर उनको ढोंगको पछि लागेर कतिपयले अरुलाई राष्ट्रघाती र ओलीलाई राष्ट्रवादी बनाइदिए ।
यसरी काम न काजको काममा अल्झेर अमेरिका भनेपछि कम्युनिष्टका लागि स्वर्ग नै भएको प्रत्यक्ष ओलीले आफू अनावश्यक घुमेर छर्लङ्ग पारिदिएका छन् । देश भाँडमा किन नजाओस्, जनता किन दुःखले नमरुन् ओली र ओलीका पार्टीसँगै उनका आफन्तहरु जीवित रहिरहनु पर्छ । किनकि मुलुक उनीहरुकै हो । अरु त केबल देशलाई बोझ बनेर बसेकाहरुमात्रै भएको स्पष्ट पारेका छन् ।