नेपाल–भारतबीचका पुराना सहमतिहरु कार्यान्वयन भएनन्

Home Feature समाचार

कस्तो रह्यो देउवाको भारत भ्रमण


काठमाडौं । नेपाल र भारतबीचको सम्बन्ध नजिकको हो । तर नेताहरुको आनीबानी र व्यवहारले गर्दा सम्बन्धमा पटक पटक दरार आउने गरेको छ । हुन त भारतले एक सार्वभौमसत्ता सम्पन्न देशलाई प्रायः आफू दाइ र नेपाललाई भाइको शैलीको व्यवहार गर्छ । जसले गर्दा असहज परिस्थिति पैदा हुन जान्छ । जे भए पनि नेपालले भारतबाट ६२ प्रतिशत बढी व्यापारिक सामग्री आयात गर्छ । त्यसके तुलनामा निकै कम निर्यात गर्छ । त्यसैले गर्दा पनि बढी परनिर्भर हुनु परेको छ । तर ऊर्जा क्षेत्रमा फड्को मार्ने हो भने नेपालको स्थिति पनि सुध्रनेमा दुईमत छैन ।
यसपटक भारत भ्रमणका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले यो विषयमा जोड दिएका छन् । र, सहमति पनि भएको छ । तर भारतले सहमति जति राम्रो गर्छ व्यवहार चाम्रो छ । जसका कारण पुराना सहमतिहरु कार्यान्वयनमा आउन सकेका छैनन् । यसपालि कस्तो होला हेर्न बाँकी छ । र पनि भारतसँग सार्क उपक्षेत्रीय मोडलमा उर्जा क्षेत्रको सहकार्य विस्तार गर्ने सहमति भएको छ । देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शनिबार भएको वार्तामा बीबीआईएन (भुटान, बंगलादेश, भारत र नेपाल) ढाँचामा सहकार्य विस्तार गर्ने सहमति भएको हो ।
‘यस प्रकारको सहकार्य बीबीआईएनको ढाँचाभित्र विस्तार गर्ने र त्यसका सर्तहरु सहभागी पक्षहरुबीच आपसी सहमतिमा निर्धारण गरिनेछ,’ नेपाल–भारत उर्जा क्षेत्र सहकार्य संयुक्त दृष्टिकोणमा भनिएको छ । बीबीआईएन मोडलमा यसअघि मोटर भेइकल एग्रिमेन्ट भएको थियो । नेपाल, बंगलादेश र भारतले सो सम्झौतालाई अनुमोदन गरे पनि भुटानले वातावरणसहितको विषय उठाउँदै त्यसबाट पछि हटेको छ । जसलाई तीन देशले मात्रै अघि बढाउन खोजेका छन् ।
नेपाल, बंगलादेश र भारतबीच त्रिदेशीय विद्युत् प्रसारण लाइन निर्माणसहितको विषयमा वार्ताहरु भए पनि त्यसले अन्तिम रुप लिएको छैन । नेपाल र बंगलादेशबीच हुने बैठकहरुमा दुवै देशले भारतसँग छुट्टाछुट्टै वार्ता गर्ने सहमति गरेका छन् । तर यस विषयमा त्रिदेशीय वार्ता भने हुन सकेको छैन । पछिल्लो समयमा बीबीआईएन मोटर भेइकल सम्झौताका बैठकमा
भुटान पर्यवेक्षकको रुपमा उपस्थित हुने गरेको छ । बंगलादेशले नेपाल र भुटानबाट बिजुली किन्न चाहे पनि भारत हुँदै प्रसारण लाइन निर्माण गर्नु पर्ने भएकाले संभव हुन सकेको छैन । भारतसँग नेपाल र भुटान दुवै देशको विद्युत् उत्पादनमा सहकार्य हुँदै आएको छ । भुटानमा सबै परियोजना भारतीय अनुदान र ऋणमा निर्माण भएका हुन् । नेपालमा भारतीय कम्पनीले अरुण तेस्रो परियोजना निर्माण गरिरहेको छ ।
त्यस्तै दुवै देशका प्रधानमन्त्रीहरुबीच भएको सहमतिमा विद्युत् उत्पादन गर्न संयुक्त परियोजना नेपालमा निर्माण गर्ने, सीमा पार प्रसारण लाइन पूर्वाधार निर्माण गर्ने रहेको छ । पारस्परिक लाभ, बजारको माग र दुवै देशको घरेलु नियमहरु आधारमा दुवै देशको बजारमा उचित पहुँच हुनेगरी बिजुली व्यापार गर्ने, राष्ट्रिय प्रसारणलाई सहकार्यमा सञ्चालन गर्ने र नयाँ प्रविधि, कार्य सञ्चालन तथा जानकारी संस्थागतरुपमा साझा गर्ने रहेको छ । यस पटकको देउवाको भ्रमणका क्रममा लामो समयदेखि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) समेत तयार हुन नसकेको पञ्चेश्वर बहुउद्देश्यीय जलविद्युत् आयोजनालाई तीव्र रूपमा अगाडि बढाउन नेपाल र भारत सहमत भएका छन् ।
महाकाली सन्धि भएको अढाइ दशकसम्म पनि आयोजनाको डीपीआर नै टुंगिन सकेको छैन । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार नेपाल र भारतबीच पानी बाँडफाँटको विषयमा कुरा मिल्न सकेको छैन । भारतीय प्रधानमन्त्री मोदीले सो आयोजनालाई ‘गेमचेञ्जर’ परियोजनाको संज्ञा दिँदै अगाडि बढाउने प्रतिबद्धता जनाएपछि डीपीआर टुंगो लागेर निर्माण प्रक्रियामा अगाडि बढ्ने आशा पलाएको सर्वत्र चर्चा गरिएको छ । प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डलसँग बहुआयमिक भारत(नेपाल सम्बन्धका सबै पक्षमा छलफल र समीक्षा भएको जानकारी दिँदै भारतीय प्रधानमन्त्री मोदीले ऊर्जा क्षेत्रमा साझेदारी र सहकार्य गर्न दुवै देश सहमत भएको बताए । दुई दशकभन्दा लामो समयदेखि गतिहीन बनेको पञ्चेश्वर बहुद्देश्यीय परियोजनालाई द्रुतगतिमा अघि बढाउने प्रतिबद्धता पनि उनले दोहो¥याए ।
यस्तै नेपालमा उत्पादित विद्युत् भारतले खरिद गर्ने, स्वच्छ ऊर्जा पर्वद्धनमा भारतले सघाउनेजस्ता ऊर्जा र जलविद्युत् क्षेत्रसँग सम्बन्धित विषयले प्राथमिकता पाएको छ । विसं २०७७ पुसमा भारत भ्रमणमा गएको नेपाली प्रतिनिधिमण्डलले चाँदनी र दोधारामा पानी उपलब्ध गराउने विषयमा सहमति गरेको थियो । सोही बैठकमा महाकाली सन्धिको प्रावधानअनुसार भारतले नेपालको ती क्षेत्रमा पानी उपलब्ध गराउन सहमत भएको थियो भने विवादका विषयमा समेत दुवै पक्षलाई मान्य हुने गरी समाधान गर्न तयार रहेको बताएको थियो ।