काठमाडौं । पार्टी चल्ने विचारले हो । जब विचार हुँदैन भने त्यो पार्टीको अस्तित्व पनि रहँदैन । अहिले सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) त्यस्तै बनेको छ । नेकपाभित्रको राजनीतिक द्वेष र व्यक्तिवादी चरित्रले पार्टीको सैद्धान्तिक विचारधारा नै धरापमा पारेको छ ।
पूर्व एमाले र पूर्व माओवादी केन्द्रबीच भएको एकता अझै पक्का बनेको छैन । त्यहाँभित्र विभिन्न धार बगिरहेका छन् । विशेष गरी देखिएका दुई धारको रस्साकस्सी विचारभन्दा व्यक्ति र पदकेन्द्रित हुन थालेपछि घोषणापत्रका आधारमा दुईतिहाइ मत प्राप्त सरकारले राज्यका सम्पूर्ण निकायमा आफूनिकट व्यक्तिको नियुक्ति र पालनपोषणले प्रजातान्त्रिक अभ्यासकै खिल्ली उडाएको छ भने पार्टीभित्र गुट हावी हुँदा कार्यकर्तामा चरम निराशा उत्पन्न गराएको छ ।
नेकपाभित्र चर्किएको विवादलाई स्थायी कमिटीले निकास नदिँदा केन्द्रीय कमिटीमा छलफल गर्न एकतिहाइ सदस्यले बैठक माग गर्दै अध्यक्ष वा महासचिवलाई पत्र बुझाउन खोजेपनि महासचिव विष्णु पौडेलले पत्र नै स्वीकारेनन् । जबकि नेकपाको अन्तरिम विधानअनुसार २५ प्रतिशतले बैठकको लिखित माग गर्दा सम्बोधन गरिने व्यवस्था हुँदा–हुँदै महासचिवले पत्र अस्वीकार गर्दा नेकपाले आफ्नै विधानलाई तिलाञ्जलि दियो ।
यसको एउटै कारण हो महासचिव पौडेल ओलीको खेमामा हुनु र बैठक माग गर्ने बहुमत सदस्य विरोधी खेमा । गुटको यो लडाइँ यसमा मात्र सीमित छैन । राज्यका संवैधानिक अंगहरुमा नियुक्तिको चर्चा चल्दै गर्दा अख्तियारमा आयुक्त नियुक्तिका लागि ओली समूह चर्को ‘लबिङ’मा लागेको छ भने दाहाल–नेपाल समूह पनि संवैधानिक अंगमा आफ्ना कार्यकर्ता पठाउन जोडदार ‘बार्गेनिङ’ गरिरहेको छ ।
न्यायपालिकामा हाल रिक्त न्यायाधीश पदमा भोलि प्रधानन्यायाधीश नै बनाउन मिल्नेगरी पूर्वमाओवादीको कोटाबाट कार्यकर्ता वकिल पठाउन चर्को लबिङमा प्रचण्ड छन् भने माधव नेपाल समूह पनि आफ्नो भागबन्डा खोजिरहेकै छ । यति हुँदाहुँदै पनि नेकपाभित्र जुट्न भन्दा फुट्न सजिलो हुने देखिएको छ ।
जुट्न भन्दा फुट्न सजिलो
नेकपाभित्रको शक्ति–संघर्ष लम्बिँदै जाँदा नेकपा फुटउन्मुख भएको हो कि भन्ने शंका झनै बढेको छ । ओलीले स्थगित गरेको मंगलबारको स्थायी कमिटी बैठक अर्का अध्यक्ष प्रचण्डको अध्यक्षतामा बसेपछि नयाँ मोडमा पुगेको नेकपा किचलो ओलीविरोधी समूहमा आवद्ध सदस्यहरुले केन्द्रीय समिति बैठक बोलाउन लिखित माग राखेपछि चरमोत्कर्षमा पुगेको छ ।
ओलीले स्थगित गरेको मंगलबारको स्थायी कमिटी बैठक दाहालको अध्यक्षतामा त्योपनि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै गरेर दुई खेमा वारपारको लडाइँमा उत्रेका छन् । नेताहरु एकले अर्काको कुरा सुन्ने र समाधान खोज्ने बाटोमा लाग्नुको साटो शक्ति प्रदर्शनमा तल्लिन देखिएका छन् ।
विवादलाई जुंगाको लडाइँका रुपमा लिएका दुवै अध्यक्षले शक्ति देखाएर एकले अर्कोलाई गलाउने रणनीति लिएको देखिन्छ । यसले नेकपाको भविष्यमा कालो बादल मडारिएको छ । सचिवालय हुँदै स्थायी कमिटीमा पुगेको टकराव अब केन्द्रीय समितिको फराकिलो मञ्चमा पुग्ने देखिएको छ ।
केन्द्रीय कमिटीबाट विवादको छिनोफानो गर्नुपर्ने मागसहित अन्तरिम विधानअनुसार नेकपाका १५२ जना केन्द्रीय सदस्यले केन्द्रीय समितिको बैठकको माग गरेका छन् । यो विधि उपयुक्त हो । अब केही न केही नभई अवश्य छाड्दैन । तर जतिसुकै सिंगुरी खेले पनि अन्त्यमा काँध थाप्न आउने उपाध्यक्ष वामदेव गौतमको चरित्र बुझिनसक्नुको छ । यो चरित्रले नेकपालाई कहाँसम्म लैजाला रोमाञ्चक प्रतिक्षाको विषय बनेको छ ।