काठमाडौं । लामो समयदेखि एमसीसी सम्झौताको विरोधमा उत्रिएका राजनीतिक दल, सामाजिक अगुवा तथा सचेत नागरिकहरु कुनैपनि हालतमा राष्ट्रघाती सम्झौता कार्यान्वयन गर्न नहुने भन्दै सरकारलाई दवाव दिन विभिन्न प्रकारका कार्यक्रमहरु गर्दै आएका छन । त्यसै सन्दर्भमा हालै घोषणा भएको नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र (क्रान्तिकरी) ले एक वक्तव्य जारी गर्दै एमसीसी सम्झौता
खारेजीका लागि निर्णायक र संगठित संघर्षमा उत्रिनुपर्ने बताएको छ । नेकपा माओवादी केन्द्र (क्रान्तिकारी) का महासचिव लोकराज जैसी ‘लोकेश’ ले उक्त वक्तव्य जारी गरेका हुन । उक्त वक्तव्यमा नेकपा माओवादी केन्द्र (क्रान्तिकारी) सबै प्रकारका राष्ट्रघात, जनघातको विरोध तथा न्यायप्रेमि जनसमूदायको आन्दोलनको पक्षमा रहेको भन्दै महासचिव लोकेशले कुनैपनि हालतमा एमसीसी खारेज गर्नुपर्ने जनाएका छन् ।
गत कार्तिक १५ गते बाँकेको नेपालगञ्ज स्थित होटेल पीस प्लाजामा विशेष राष्ट्रिय भेला सम्पन्न गर्दै नेकपा माओवादी केन्द्र
(क्रान्तिकारी) को घोषणा भएको थियो । भेलाबाट ९ सदस्यीय स्थायी समिति, ४५ सदस्यीय केन्द्रीय समिति निर्वाचित भएको थियो भने पत्रकार, महिला, युवा, दलित, मधेशी, मुश्लिम मोर्चा र अन्य जनवर्गिय संगठनको जिम्मेवारी तोकिएको थियो ।
उक्त भेलामा पार्टी पार्टीको धारणा राख्दै महासचिव लोकेशले आफ्नो पार्टी जनयुद्धका मुद्दाहरु उठान गर्दै, सहित, अपाङ्ग, बेपत्ता परिवार र आम उत्पीडित उपेक्षीत जनताको परिवर्तनको सपना साकार पार्न वर्तमान परिवेश सुहाउँदो क्रान्तिको कार्यदिशाबाट इमान्दारपूर्ण ढंगले अघि बढ्ने बताएका थिए । वक्तव्यमा सबैलाई एकतावद्ध भएर निर्णयक संघर्षमा जान अपिल सहित अगाडी भनिएको छ–‘नेपाल र नेपाली जनताको भावना विरुद्ध ल्याउन खोजिएको एमसीसी नामको घोर राष्ट्रघाती सम्झौतालाई कुनैपनि हालतमा खारेज गर्नका लागि हाम्रो पार्टी सबै देशभक्त, प्रगतिशिल राजनीतिक पार्टीहरु, बौद्धिक परिवर्तनकारी समूह तथा सचेत आम जनसमूदायमा संगठित र निर्णायक आन्दोलनमा उत्रिन हार्दिक अपिल गर्दछ ।’ देउवा नेतृत्वको गठबन्धन सरकारलाई जनभावना विवरीत एमसीसी नल्याउन महासचिव लोकेशले चेतावनी सहित सुझाव दिदै वक्तव्यमा भनेका छन–‘लामो समयदेखि सचेत आम जनसमूदाय र राजनीतिक दलहरुले खारेजको माग राख्दै सडक संघर्ष गरिरहेको सन्दर्भमा वर्तमान देउवा नेतृत्वको गठबन्धन सरकारले नागरिकको आवाजलाई कुन्ठित पार्ने, विरोधका कार्यक्रममा हस्तक्षेप गर्ने र संसदबाट जनसमर्थन विपरित अनुमोदन गराउने र नेपालको राष्ट्रिय स्वतन्त्रतामाथि कुठाराघात गर्ने कुचेष्टा जो गरिरहेको छ, त्यस विषयमा हाम्रो पार्टी सरकारलाई सचेतनापूर्वक सोच्दै, नागरिक जनमतको सम्मान गर्दै देश र जनताको पक्षमा अडिग रहन चेतावनीसहित अनुरोध समेत गर्दछ ।’
एमसीसी विरुद्ध गरिएका सबै आन्दोलन, विरोध प्रदर्शनप्रति आफ्नो पार्टीको समर्थन, एक्यवद्धता रहेको जनाउँदै महासचिव लोकेशले संघर्षलाई थप सशक्त र निर्णायक बनाउनका लागि सशै देशभक्त परिवर्तनकारी शक्तिहरु एकजुट भएर अघि बढ्नुको विकल्प नहुने बताएका छन् ।