जोखिमबारे राज्यको सधैं बेवास्ता

समाचार

केही समय अघि मनाङमा हिमपहिरो गयो । पहिलेपहिले पहिरोको कुरा मात्र सुनिन्थ्यो । अहिले सबैको हातहातमा मोबाइल भएकोले गर्दा पहिरो झरेको प्रत्यक्ष देख्ने मौका पाए, लाखौँले । नेपालमा त्यस्ता हिमपहिरो जाने ठाउँ कति होलान् ? गन्ने हो भने दर्जन बढि भेटिन सक्छ ।
हुम्लामा हिँउ, जुम्लामा हिउँ, गोर्खामा हिउँ, दोलखामा हिउँ, सोलुमा हिउँ, ताप्लेजुङ पान्थरमा हिउँ । नेपालको उच्च हिमाली भेगमा हिउँ नपर्ने ठाउँ नै छैन । कतैकतै त हिमताल नै पनि बनेको छ । र वातावरणविद्हरुले जलवायु परिवर्तनका कारण कतिपय हिमताल फुट्ने जोखिम रहेको पनि बताउँदै आएका छन् ।
तर राज्य मौन छ । राज्यले केही गर्न चाहेको वा सकेको नै देखिँदैन । हिमताल रहेको क्षेत्रमा जोखिम न्युनिकरणको कुरा त परको भयो, तराईमा हुने शीतलहरको समयमा नेपाली नागरिकको जीउज्यानको सुरक्षा कसरी गर्ने ? तराई मधेशमा बर्सेनी आउने बाढीको प्रकोपलाई कसरी न्यून तुल्याउने, त्यता तिर कहिले पनि राज्य संचालकको कुर्सी ओगटेर बस्नेहरुले सोचेको देखिएको छैन ! वर्सा लागे पछि पहाडी क्षेत्रमा पहिरोको परकम्प जान्छ । त्यो पनि जताततै । बारम्बार । सिन्धुपाल्चोकमा गएको पहिरोको पीडाबाट त्यस क्षेत्रका बासिन्दा अझै मुक्त हुन सकेका छैनन् । त्यसमाथि मेलम्चीको बाढी र हेलम्बुको गेग्रान बाढीले सबैलाई बिचल्लीमा पारिदियो । त्यस्तो असहज अवस्थामा तत्काल दुई चार हजारको सहयोग गरेर आफ्नो उपस्थिति मात्र
देखाउने प्रयास राज्यको रह्यो । त्यसको दीर्घकालिन समाधानका लागि राज्य अघि सरेको अलिकति पनि देखिएन ।
सरकारको नेतृत्वमा कहिले ओली कहिले देउवा भए पनि राज्यमा बस्दै आएका नागरिकहरुको सुरक्षाको प्रत्याभूति त राज्यले गर्नेए हो । यस्तो स्थितिमा को सरकारमा थिए भन्दा पनि सरकारले के गरिरहेको छ भन्ने महत्वपूर्ण हुनेगर्छ । तर जोखिम न्युनीकरणका लागि सरकारले कहिलेपनि गतिलो काम गरेको नदेखिएकोले सरकारलाई गाली गर्नु बाहेक जनताले अरु के गरुन् । हिमालमा हिमपहिरोको जोखिम, तराईमा बाढी र आगलागीको जोखिम, पहाडमा पहिरो र बाढीको जोखिम ! सर्वत्र जोखिम नै जोखिम रहेको देखिए पनि त्यसको समाधानका लागि, त्यसको न्युनीकरणका लागि राज्यले केही काम गरेको नदेख्दा आम नागरिकलाई कति उदेक लाग्दो होला ? कतिपय पहाडी क्षेत्रमा त भात खाने चामल पनि पु¥याउन सक्दैन सरकार । कति निरीह छ सरकार ? आजका नेतामा देखिन्छ, तिनीहरु सत्ता र सम्पतिको लिप्सामा मात्र लागिरहेका छन् । ति ओली हुन् वा देउवा, प्रचण्ड हुन् वा माकुने । तिनले जनताका लागि कुनै गहकिलो कुरा ल्याएका नै छैनन् । ल्याउन सकेका नै छैनन् । जनताको काम भोग्ने मात्र भएको छ । जोखिम भोग्ने, भोकमरी भोग्ने, जनताका हितमा काम नगर्ने नेता भोग्ने !