फेरि एमसीसीकै कुरा

सम्पादकीय

मुलुक अन्योल अस्थिरताबाट गुज्रिरहेको छ । आम नेपालीको जनप्रतिनिधिहरुको स्थल प्रतिनिधिसभा प्रायः ठप्प भएको छ, नेपाली जनताले आफ्नो मतबाट पठाएका प्रतिनिधिहरु कुनै अमुक पार्टीको ठेकेदार बनेर जनजीवनको आवाज उठाउन सकिरहेका छैनन्, त्यसरी नै नेपाल सरकार जसले सिङ्गो मुलुक हाँक्नु पर्ने हो सोको बुद्धि विवेकमा बिर्को लागेर आफ्नै पार्टीभित्रको गुट उपगुटभित्र रुमल्लिरहेको छ । त्यसरी नै आम नेपालीलाई न्याय दिनुपर्ने न्यायालयमा लामो समयदेखि हड्तालले गर्दा आम नेपालीहरुलाई न्याय दिनुबाट बञ्चित गरिरहेका छन्, यसमा अधिकांश काला कोटहरुको कालो छायाँ परेको देखिन्छ । कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका सबै अनिर्णयको बन्दी बनेको छ । नेपालको इतिहासमा सम्भवतः सबैभन्दा असजिलो अवस्था भनेको यही नै भन्नु पर्दछ । यस्तो असजिलो अवस्थामा अमेरिकी परियोजना एमसीसी प्रतिनिधिसभाबाट पास गराउन सत्तारुढ सरकार अग्रसर भएको देखिन्छ ।
एमसीसीको कारण नेपाल अधिराज्य दुई भागमा विभाजित भएको देखिन्छ । युरोपियन युनियनसँग आवद्ध राष्ट्रबाट पोषित नेताहरु अमेरिकन भक्तिमा लागेका र सत्ता टिकाइराख्न चाहने सत्तारुढ दलहरु र उत्तरी मित्रहरुबाट प्रभावित दल र राजनैतिक नेताहरुबीच निक्कै कडा घम्साघम्सी हुने लक्षण देखिएको छ । जसरी अमेरिकन राजूतावास अहिले सक्रिय देखिएको छ त्यसरी नै चिनियाँ राजदूतको नेताहरुबीच आवतजावत पनि बढिरहेको देखिन्छ । पृथ्वीनारायण शाहको दिव्य उपदेशमा भनिएजस्तै ‘तरुल’को रुपमा रहेको नेपाल राष्ट्रियता राष्ट्रिय स्वाभिमान कसरी बचाइराख्ने त्यो भने अहिले सत्तामा बसेका र सत्ता बाहिर रहेका नेताहरुबाट कूटनीतिक रुपमा लागू हुने लक्षण देखिँदैन । अहिले सत्ताको नेतृत्व लिएको शक्ति ‘जे पर्छ त्यही टर्छ’ भन्ने जस्ता अहँ पालेर बसेको देखिन्छ, त्यसरी नै सत्तामा बसेको माओवादी केन्द्र भने कुनै पनि हालतमा एमसीसी पास गर्न दिइँदैन भन्ने स्पष्ट संकेत दिइसकेको छ । वर्तमान सभामुखले एमसीसी प्रतिनिधिसभामा ल्याउन नदिने संकेत गरिसकेका छन्(पूर्व सभामुख कृष्णबहादुर महराले त यही एमसीसीकै कारण सभामुखको पदमात्रै होइन सार्वजनिक रुपमै अपमान सही सक्नु परेको छ ।
अहिलेको अवस्थालाई राम्ररी मनन गर्ने हो भने अमेरिकन ताकेता र चीनको अमेरिकन परियोजना ल्याउन नदिने शक्ति प्रयोगले नेपालमा निक्कै ठूलो रक्तपात हुने त होइन(यसमा कति निर्दोष नेपालीहरु पर्ने हुन्, त्यही नै सोचनिय अवस्था छ । भर्खरै माओवादीको हत्या, हिंसा, अपहरण र लुटले थिलथिलो पारेको मुलुकलाई अर्को फेरि ठूलै बज्रपात पर्ने हो कि भन्ने सबै नेपालीहरुमा चिन्ता बढ्दो छ ।