पार्टीभित्र देउवाको ‘दादागिरी’
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट पनि शेरबहादुर देउवा सभापति बन्न सफल भएका छन् । इतर पक्ष बाँडिएपछि त्यसकै फाइदा उठाएर देउवा निर्वाचित भएका हुन् । उनले पदाधिकारीमा क्लिनस्विप गर्न नसके पनि आरामदायी बहुमत ल्याएका छन् । जसका कारण उनलाई निर्णय गर्न समस्या हुने छैन । तर पदाधिकारीमा उनी र उपसभापति पूर्णबहादुर खड्का बाहेक सबै नयाँ हुन् । युवाको वर्चश्व हुँदा उनलाई समस्या भने पक्कै हुनेछ । कांग्रेसको संशोधित विधानअनुसार पदाधिकारीको संख्या १३ छ । देउवा पक्षका मात्रै आठ जना निर्वाचित भएका छन् ।
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको दादागिरी जारी छ । उनी पार्टीको १३ औं महाधिवेशनदेखि नै पार्टीभित्र एकलौटी गरिरहेका छन् । यसपटक केही युवाहरु कार्यसमितिमा रहे पनि उनले त्यो केन्द्रीय कार्यसमितिलाई नै बेकामे बनाउने गरी कार्यसम्पादन समिति बनाएका छन् । त्यो कार्यसम्पादन समितिमा उनले आफ्नालाई समेटेका छन् । बुढाखाडा र पार्टीको महाधिवेशनमा सहभागी नभएका पनि समेटिएका छन् । अर्थात् रामचन्द्र पौडेललाई केन्द्रीय सदस्यमा मनोनित गरेर देउवाले कार्यसम्पादन समितिमा समेटेका हुन् ।
गत शुक्रबार उनले ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन गरेका हुन् । देउवाले समितिमा १३ जना पदेन पदाधिकारीबाहेक २४ सदस्य मनोनयन गरेका हुनरु। कार्यसम्पादन समिति गठनमा वरिष्ठतालाई प्रमुख आधार बनाइएको छ । पूर्वपदाधिकारीहरू रामचन्द्र पौडेल, गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, शशांक कोइराला, चित्रलेखा यादव, रामशरण महत, अर्जुननरसिंह केसी, प्रकाशशरण महत र सुनीलबहादुर थापा कार्यसम्पादन समितिमा समेटिएका छन् ।
वरीयताका आधारमा केन्द्रीय सदस्यहरू शेखर कोइराला, बलबहादुर केसी, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, उमा रेग्मी, रमेश रिजाल, नारायण खड्का, जिपछिरिङ लामा, सुजाता कोइराला, एनपी साउद, जीवनबहादुर शाही र
आनन्दप्रसाद ढुंगाना समिति सदस्य बनेका छन् । कांग्रेस विधानको दफा २३ मा ४७ सदस्यीय कार्यसम्पादन समिति गठन हुने प्रावधान छ । समितिमा १४ जना पदाधिकारी, प्रवक्ता र संसदीय दलका नेता पदेन सदस्य हुन्छन् । हाल कोषाध्यक्ष र प्रवक्ता मनोनीत भएका छैनन् भने संसदीय दलको नेता देउवा स्वयं छन् । दफा २३ (२) मा सभापतिले कार्यसमितिका सदस्यमध्येबाट समावेशी सिद्धान्तसमेतलाई ध्यानमा राखी ३१ सदस्य प्रस्ताव गर्ने उल्लेख छ । तर कार्यसम्पादन समितिमा महिला ४ जनामात्र छन् । दलित समुदायका सहमहामन्त्री जीवन परियार मात्र पदेन हैसियतले समितिमा पुगेका छन् । केन्द्रीय सदस्य डिला संग्रौलाले पार्टीका हरेक तहका कार्यसमितिमा एकतिहाइ महिला अनिवार्य हुनुपर्ने व्यवस्था भए पनि कार्यसम्पादन समितिमा संख्या किटान नगरिएकाले महिला प्रतिनिधित्व कम भएको प्रतिक्रिया दिएकी छिन् ।
समितिमा ७ जना सदस्य मनोनीत हुन बाँकी छन् । कांग्रेस विधानमा महिनाको एक पटक कार्यसम्पादन समितिको बैठक बस्ने प्रावधान छ । प्रत्येक दुई महिनामा बस्ने केन्द्रीय कार्यसमिति बैठक नभएका बेला केन्द्रीय कार्यसमितिले गर्नुपर्ने काम समेत गर्ने भनिएको छ । कार्यसम्पादन समितिले आफ्नो निर्णय केन्द्रीय कार्यसमिति बैठकमा पेस गरी अनुमोदन गर्नुपर्छ । ३७ सदस्यीय समितिमा सभापति देउवा समूहका २१ जना छन् । यसबाट देउवाले थप दादागिरी देखाउने भएका छन् । डा. शेखर कोइराला समूहका उनीसहित रामशरण महत, अर्जुननरसिंह केसी र बलबहादुर केसी मात्र मनोनित भएका छन् । उपसभापति गुरुङ, महामन्त्री थापा, सहमहामन्त्रीद्वय परियार र पाण्डे पदेन हैसियतले स्वतः समितिमा परेका छन् ।
महाधिवेशनमा छुट्टै प्यानल बनाएका प्रकाशमान सिंह र सुजाता कोइराला पनि सदस्य भएका छन् । उक्त समूहका महामन्त्री शर्मा स्वतः समितिमा पुगेका छन् । कृष्णप्रसाद सिटौला समूहका उनीसहित सहमहामन्त्री उमाकान्त चौधरी छन् । त्यसबाहेक रामचन्द्र पौडेल, शशांक कोइराला, विमलेन्द्र निधि पनि सदस्य भएका छन् । आखिर देउवालाई सघाउनेहरु सबै उनका आफ्ना भएका छन् । उनले डा. शेखर कोइराला पक्षका केन्द्रीय सदस्यहरु कममात्र कार्यसम्पादन समितिमा राखेसँगै आफूले मनलाग्दी निर्णय लिनसक्ने गरी दादागिरी गरिरहेको आरोप उनीमाथि लागेको छ । राजनेता बन्ने अवसरबाट फेरि पनि देउवा चुकेको कांग्रेसका पाका नेताहरुले भन्न थालेका छन् ।