काठमाडौं । नेपालीमा भनाइ छ जस्तो कर्म उस्तै फल । यो भनाइ काठमाडौं महागरपालिकालाई फेरि हाँक्न तम्सेका केशव स्थापितलाई लागू हुन्छ । महानगर हाँक्न अब्बल नेतृत्व चाहिन्छ भनी खोजी भइरहँदा एमालेले रोजेका नेता । तर स्थापित पटक पटक विवादमा आइरहने पात्र हुन् । कुनै न कुनै सन्दर्भमा उनी विवादमा आइरहन्छन् । त्यही पात्रलाई टपक्क टिपेर ल्याएपछि एमाले पनि विवादमा परेको छ । झन् एमाले अध्यक्ष केपी शर्मा ओलीका त कुरै बेग्लै । एमालेको तर्फबाट २०५४ सालमा मेयर हुँदा पनि उनी विवादमा थिए । त्यसपछि राजाको शासनकालमा मेयर हुँदा पनि झन् धेरै विवादमा परे । २०७४ सालपछि प्रदेश सांसदबाट मन्त्री हुँदा पनि विवादमा मुछिएका थिए । केशव स्थापित भन्ने बित्तिकै कुनै न कुनै विषयमा विवाद गरिरहने मानिसको रुपमा देखिन्छन् ।
गत बिहीबार दिउँसो पनि उनी त्यही रुपमा प्रस्तुत भए । दिउँसो स्थापितले महिलाबारे दिएको अभिव्यक्तिलाई साँझ उनकै पार्टीका अध्यक्ष केपी शर्मा ओलीले ढाकछोप गरिदिए । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरको मेयरका उम्मेदवार केशव स्थापितको पक्षमा अभिव्यक्ति दिएर ढाकछोप गरे । एमालेबाट मेयरका उम्मेदवार बनेका स्थापितमाथि ‘मीट्र’ को आरोप उत्कर्षमा पुगेको अवस्थामा ओलीले उनको पक्षमा अभिव्यक्ति दिएपछि स्थापितलाई हाइसन्चो भएको छ । काठमाडौंमा
आयोजित एक कार्यक्रममा बोल्दै उनले मीट्र केही नभएको बताए । ‘चुनावको बेलामा यस्ता आरोपहरू आउँछन्, ‘मीट्र’ का कुरा आउँछ,’ अध्यक्ष ओलीले भने, ‘के हो मीट्र भनेको ? हामीले काठमाडौंको मेयरमा केशव स्थापित जस्तो अनुभवीलाई नेतृत्व दिन लागेका छौं ।’ यस्तै उनले मीट्रको कुनै जवाफ नआउने भन्दै एमाले महिलाको अस्मिताको विषयमा गम्भीर हुने एक मात्र पार्टी भएको बताए । तर यो विषयलाई ओलीले त्यतिमै टुंग्याउन चाहे । तर सर्वाधिक चासोको सूचीमा रहेको महानगरपालिका हाँक्ने उम्मेदवारमाथि लागेको ‘मीट्र’ आरोपलाई प्रतिरक्षा गर्न स्थापितलाई निकै अप्ठेरो परेको छ । काठमाडौंको धुम्बाराहीस्थित नेसनल कलेजमा आयोजित एक कार्यक्रममा सहभागीहरुले मीट्रबारे स्थापितलाई सोधिएको प्रश्नमा उनी आक्रोशित बनेपछि प्रतिरक्षाका लागि अप्ठेरो परेको प्रष्ट भएको थियो । उनले बिहीबार जे अभिव्यक्ति दिए त्यसको सामाजिक सञ्जालमा धेरै विरोध भएको छ । शुक्रबार, शनिबार र आइतबार दिनभर पनि त्यो ट्रोल बन्यो । यो क्रम सम्भवतः केही समय चल्नेछ । बिहीबार नेसनल कलेजमा भएको कार्यक्रममा भावना राउतले मीट्र आरोपबारे स्थापितलाई प्रश्न सोध्दा स्थापित जंगिएका थिए । ‘यु आर नाइस लेडी तर तपाईको थुतुनो ठीक छैन’, स्थापितले भनेका थिए । उनले जे शब्द बोलेका थिए त्यसमा आम नागरिकले सामाजिक सञ्जालमा अहिले पनि आपत्ति जनाइरहेका छन् । राउतले निर्दोष छु भनेर कि प्रमाणित गर्नुस् अथवा प्रमाणित गर्न सक्नुहुन्न भने तपाईं यो ठाउँमा बस्ने नैतिकता राख्नुहुन्छ र ?’ भन्ने प्रश्नको उत्तरमा उनी निकै आक्रोशित भएका थिए ।
काठमाडौं महानगरपालिकाका पूर्वमेयरसमेत रहेका स्थापितलाई त्यहीँ काम गर्ने एक महिला कर्मचारी एवं संचारकर्मी रश्मिला प्रजापती र अर्की एक जना पत्रकार उज्ज्वला महर्जनले यौन दुर्व्यवहार गरेको आरोप लगाएका थिए । यसबारे कुनै पनि न्यायालयमा मुद्धा परेको थिएन ।
त्यसबेला स्थापितले प्रमाणित गर्न चुनौती दिएका थिए । लामो यो विषय सेलाएको थियो । उनी प्रदेश सांसद हुँदा पनि यो विषयलाई उछालिएको भए पनि सामान्य बनाइएको थियो । अरुको मामिलामा निकै उत्तेजित बनेर आक्रामक अभिव्यक्ति दिने स्थापित बिहीबार दिउँसो भने आफ्नो बारेमा निकै कमजोर रुपमा प्रस्तुत भए । त्यतिमात्र होइन उनले प्रश्नकर्ता राउतलाई ‘थुतुनो ठीक छैन’, भन्दै अपशब्दसमेत प्रयोग गरे । उम्मेदवारको हिसाबले जुन शब्द निकै पेचिलो र अपशब्दको रुपमा प्रयोग भएको थियो ।
जसलाई पायो त्यसलाई अपशब्द प्रयोग गर्ने, आफूलाई संसारको अब्बल नागरिक ठान्ने केशव स्थापित विवादै विवादमा मुछिने गरेका छन् । बागमती प्रदेशमा भौतिक पूर्वाधार मन्त्री हुँदा पनि उनी विवादमा परेका थिए । तत्कालीन मूख्यमन्त्री डोरमणी पौडेललाई तथानाम गाली गरेका थिए । त्यसपछि केपी ओलीलाई नै भनेर जिम्मेवारीबाट मुक्त गरिएको थियो । त्यति धेरै विवादित भएकै अवस्थामा एमालेले काठमाडौं महानगरपालिकाको मेयरमा टिकट दियो । मेयरको उम्मेदवारी दिएकै दिन उनलाई मिटुबारे प्रश्न सोधिएको थियो । त्यसदिन उनले विवादमा नआउने पनि केशव स्थापित हुन्छ भन्दै आफू विवादमा आउन चाहने व्यक्ति भएको सन्देश दिएका थिए ।
३० बैैशाखमा हुने स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा एमालेले केशव स्थापितलाई टिकट दिँदै गर्दा महिला हिंसाप्रति एमाले जिम्मेवार नभएको टिप्पणी गरिएको छ । यसबारेमा एमालेले कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन । काठमाडौंका पूर्वमेयर समेत रहेका स्थापितलाई २५ वर्षपछि एमालेले टिकट दिएपछि पार्टीभित्रकै नेता र कार्यकर्ताहरुले पनि प्रश्न उठाएका छन् । उनको अस्थिर स्वभाव र भावलाई पार्टी कार्यकर्ताहरुले प्रश्न उठाइरहेका छन् । विगतमा एमालेकै तर्फबाट महानगरपालिकाको नेतृत्व गरिसकेका स्थापितले काठमाडांै बासीलाई धेरै सपना मात्रै बाँडेका थिए । एमाले विभाजनपछि मालेमा लागेका उनी माले हुँदै राजावादी, प्रजापरिषदको अध्यक्ष, एमालेबाट विभाजित भएको अशोक राईको पार्टीमासमेत आवद्ध हुँदै पुनः एमालेमा फर्केका थिए । एमालेमा फर्केपछि २०७४ सालमा पनि मेयरको आकांक्षी रहेका स्थापितलाई प्रदेश सभाको टिकट दिइएको थियो । अहिले उनी विवादित छन् भन्ने थाहा पाउँदा पाउदै पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थापितलाई उम्मेदवार बनाएका छन् । उनीमाथि महिला हिंसा तथा यौन दुव्र्यवहारको आरोप यथावत नै छ ।