महँगो यात्रा गर्न बाध्य छन् जनता

समाचार

यतिबेला चर्चा गर्न योग्य कुरा भनेको चुनाव र महँगी भएको छ । सानोसानो चिया पसलदेखि ठूलाठूला गोष्ठीहरुमा पनि चुनावको चर्चा भइरहेको हुन्छ भने अहिलेको बढ्दो महँगीको चर्चा पनि हुँदै आएको देखिन्छ । चुनावको चर्चा स्वाभाविक हो । नाकै अगाडि चुनाव आएको छ । तर दलहरुको प्रवृत्ति र रवैयाले गर्दा आम नागरिकको चुनाव तिर त्यति ध्यान गएको छ भन्ने देखिँदैन । दलका नेताहरुप्रति विश्वास गर्ने अवस्था नै नरहेको धेरैको मत छ । आजभन्दा तीस वर्ष अघिदेखि दलहरुलाई विश्वास गरेर मत दिइँदै आइए पनि जनताका भागमा थोरै पनि सुख नपरेको सबैले महसुस गरेको विषय हो ।
दललाई विश्वास गरियो । दलले सरकार बनायो । तिनका नेताले सत्ताको बागडोर सम्हाले । तर देश र जनताका लागि तिनले केही गरेनन् । सधैँ आफू र आफ्नाका हित सोचे । जनताको हित कहिल्यै सोचेनन् । यदि जनताका बारेमा सोच्थे भने तिनले आफूले पैसा कमाउनुभन्दा नागरिकलाई कसरी समृद्ध बनाउने भन्ने सोच्थे । कतार र मलेसिया जानेहरुलाई नेपालमै कामको व्यवस्था गर्ने थिए । सुकेर गएका खेतबारीलाई मलिलो बनाउन लगाएर त्यसैमा तरकारी र अन्न उब्जाउन लगाउँथे ।
तर तिनले यतातिर कहिल्यै सोचेनन् । त्यसको परिणाम नेपाली जनताले भोगिरहेका छन् । र यहि भोगाइको अर्को पाटो हो अहिलेको बढ्दो महँगी र कृत्रिम अभाव । मूल्य बढेको बढेकै गर्न सक्छ भन्ने लाग्नासाथ ठूला व्यापारीले आफूसँग
भएका स्टक सामान बाहिर निकाल्न छोड्छन् । अभाव सिर्जना गर्छन् । र महँगोमा सामान बेच्छन् । यतिबेला पेट्रोलियम पदार्थको मूल्य आकाशमा पुगेकोले सारा सरसामानको भाउ आकाशमा पुगेको छ । ढुवानी महँगो भएकोले सामानको मूल्य बढ्नु जरुरी हुन्छ भन्दै सबै सामानमा आठ÷दस÷बीस रुपैया महँगो गर्न थालिएको छ । र त्यहि महँगोले जनताको भान्सा महँगो भएको छ । जीवन यापन महँगो भएको छ । योसँगै यात्रा पनि महँगो भएको छ । आफ्नै गाडी हुनेले पनि मौकामा साइकल चलाउने अभ्यास गर्न थालिसकेका छन् । फर्सदको दिन साइकल निकालेर घुमघाम गर्छन । गाडी हुनेले मोटरसाइकल र मोटरसाइकल हुनेले साइकल निकाल्ने क्रममा बृद्धि भएको छ ।
तर सामान्य नागरिकलाई जहिले पनि पेलानमा पारिएको छ । किनभने साधारण नागरिक सार्वजनिक सवारीमा यात्रा गर्छन् । र एक पटकको यात्रा आठ दस रुपैयाँ महँगो हुन पुगेको छ । यो महँगो यात्रा गर्न बाध्य छन् जनता । आम नागरिक दोहोरो मारमा छन् । सामान त महँगो छँदैछ, त्यसमाथि सार्वजनिक सवारी साधनमा चढ्दा पनि तिनले बढि पैसा तिर्नु परिरहेको छ । के मुलुक यसरी नै चल्छ ? के जनताले सहने मात्रै हो ? यो सवालको जवाफ सायद छैन ।