माओवादी केन्द्र र नेकपा एसमा मन्त्री फिर्ताको रडाको

Home Feature

पाँचदलीय गठबन्धनमा भूकम्प


काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी एसमा मन्त्री फिर्ता बोलाउने खेल शुरु भएको छ । यो खेल किन खेल्न थालियो भन्नेमा कसैसँग पनि जवाफ छैन । धेरैजसोले यसलाई ‘म्यादी प्रहरी’ को संज्ञा दिएका छन् । गत असार २९ गतेदेखि माओवादी र नेकपा एसका मन्त्रीहरु विस्तार गर्न शुरु भएको थियो । तर गत हप्ता नेकपा एसबाट आफ्ना चार मन्त्रीलाई सरकारबाट फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने भने पनि अहिलेसम्म सपथ हुन सकेको छैन । नेकपा एसले सरकारमा सहभागी सबै मन्त्रीलाई फिर्ता बोलाएपछि त्यसको असर अन्य दलमा परेपछि सपथ हुन नसकेको हो ।
खासगरी माओवादी केन्द्रभित्र यसको ठूलो असर परेको छ । एस पार्टीले सरकारबाट सेट नै फिर्ता गर्ने भएपछि सो पार्टीमा विवाद बढेको हो । माओवादी केन्द्रभित्र सरकारमा सहभागी भएका मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउनु पर्ने आवाज उठेकाले विवाद शुरु भएको छ । गठबन्धनको सरकार बनेपछि सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता ल्याएर नयाँ नेताहरुलाई सरकारमा पठाउनु पर्ने आवाज उठेको माओवादीका नेता वर्षमान पुनले बताएका छन् । नेकपा एसले सरकारमा सहभागी मन्त्रीहरु फिर्ता बोलाउने निर्णयपछि नेकपा माओवादी केन्द्रमा पनि विवाद उत्पन्न गराएको माओवादी नेताहरुको दाबी छ । संघीय संसदको निर्वाचन घोषणा हुनुपूर्व गठबन्धन दलभित्र आलोपालो मन्त्री हुन चाहनेका कारण यस्तो विवाद उत्पन्न भएको हो । पुनले पनि माओवादीभित्र पुराना मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ साथीहरुलाई पालो दिनु पर्ने आवाज उठेको बताए । ‘एस पार्टीले सेट नै परिवर्तन गर्ने निर्णय गरेपछि हाम्रो पार्टीमा पनि दबाब परेको छ, नेताहरुले यो विषयलाई ध्यान दिनुहुनेछ’, पुनले मिडियालाई भने । उनका अनुसार अन्य दलहरुमा पनि दबाब भएका कारण माओवादीमा पनि त्यसको असर परेको हो । माओवादीभित्र यसअघि पनि सरकारमा रहेका मन्त्रीहरुले राम्रो काम नगरेको भन्दै आलोचना भएको थियो ।
अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैकका गर्भनर हटाउने निर्णय गरेपछि माओवादीभित्र त्यसको असर परेको थियो । उर्जा मन्त्री पम्फा
भुषालले पनि राम्रो काम गर्न नसकेकोमा पार्टीभित्र आलोचना भएको छ । त्यसैगरी युवा खेलकुद मन्त्री महेश्वरजंग गहतराज अथकको कार्यशैलीप्रति पनि माओवादीभित्र प्रश्न उठाउन थालिएको छ । ‘मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेको छ साथीहरुले मन्त्री परिवर्तनको विषयलाई लिएर पार्टी अध्यक्ष प्रचण्डसँग पनि भेटघाट गरिसकेको अवस्था छ’, माओवादी केन्द्रका एक नेताले भने ।
माओवादीका केन्द्रीय सदस्यहरुले सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ नेताहरुलाई सहभागी गराउन माग गरेका थिए । तर शीर्ष नेताहरुले त्यसलाई बेवास्ता गर्दै आए पनि नेकपा एसले पूरै सेट परिवर्तन गर्न लागेपछि माओवादीलाई पनि दबाब परेको बताइएको छ । हाल माओवादीको तर्फबाट जनार्दन शर्मा, पम्फा भुषाल, देवेन्द्र पौडेल, शशी श्रेष्ठ, महेश्वरजंग गहतराज, बोधमायाकुमारी यादव मन्त्री रहेका छन् । निर्वाचनको समयमा मन्त्रीलाई फिर्ता बोलाएर अरु नेताहरुलाई पालो दिने विषयमा पार्टीभित्र चर्चा चलेपनि एस पार्टीको निर्णय नै कार्यान्वयन नगर्न माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नै लागिपरेको स्रोतको दाबी छ ।
प्रचण्डसँग एस पार्टीका मन्त्रीहरु विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेम आले, किसान श्रेष्ठले भेटेर मन्त्री परिवर्तन गर्न नहुने धारणा राखेका थिए । एस पार्टीको मन्त्री परिवर्तन गर्ने निर्णय कार्यान्यन भए आफ्नो पार्टीमा दबाब पर्ने भएपछि सो निर्णय कार्यान्वयन नगर्ने उनको मनसाय रहेको माओवादीकै एक नेताले भने । माओवादीभित्र यसअघि पनि सरकारमा जाने रस्साकस्सी चलेको थियो । पार्टीभित्र रस्साकस्सी चलेका बेला पार्टी अध्यक्ष प्रचण्डले आलोपालो गर्ने गरी सरकारमा पठाएका थिए । पार्टीभित्र देव गुरुङ, हरिबोल गजुरेल, जयपुरी घर्ती लगायतका नेताहरुलाई पछि पठाउने भनिएको थियो । उनीहरुलाई अहिले पनि अवसर दिने संभावना निकै कम रहेको स्रोतले जनाएको छ । एस पार्टीभित्र सो विषय विवादमै रहे पनि नेतृत्वले जसरी पनि परिवर्तन गर्ने तयारीमा रहेको छ । एस पार्टीले बजेट अधिवेशनको क्रममा मन्त्रीहरुले संसदमा जवाफ दिएपछि परिवर्तन गर्ने पक्षमा रहेको हो । ‘पार्टीभित्र भएको निर्णय किन कार्यान्वयन भएको छैन । यस बारेमा मैले थाहा पाएको छैन’, एस पार्टीका सम्मानित नेता झलनाथ खानलले भने ।
उनले अन्य पार्टीमा विवाद हुन्छ वा मन्त्री परिवर्तन गर्ने दबाब परेको छ भन्दैमा आफ्नो पार्टीको निर्णय रोक्ने काम गलत भएको पनि बताए । ‘पार्टीले गरेको निर्णय कार्यान्वयन हुन्छ यसमा दायाँ बायाँ हुँदैन’, सम्मानित नेता खनालले भने । तर नेकपा एस एक पार्टीजस्तोमात्रै देखिएको छ । रिमोट कन्ट्रोल भन्तै रहेको स्पष्ट भएको छ ।