प्रहरी र सरकारी वकिलको कार्यालयले उजुरी नलिएपछि सांसद यादव गए मानवअधिकार आयोगको शरणमा, नेकपाका दुई सांसद महेश बस्नेत र किसन तथा पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध अपहरणको उजुरी

Home Feature राजनीति

काठमाडौं । सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसदहरु महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ ‘किसन’ तथा पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी परेको छ ।

जनता समाजवादी पार्टीका सांसद एवं पूर्व स्वास्थ्य राज्य मन्त्री डा सुरेन्द्र यादवले आफुलाई अपहरण गरेको भन्दै तीनै जनाविरुद्ध बिहीबार आयोगको कार्यालय पुगेर उजुरी दिएका हुन् ।

उजुरी बुझेपछि आयोगका सदस्य प्रकाश वस्तीले उजुरीमा उल्लेख भए बमोजिम कार्यहरु भए–नभएको विषयमा अनुसन्धान गरिने बताएका छन् ।

अपराध भए–नभएको, अपहरण भए–नभएको हेर्ने काम अदालत र प्रहरीको भएको उल्लेख गर्दै वस्तीले उजुरी कर्ताको मानवअधिकार भएको छ कि छैन भन्ने विषयमा आयोगले अनुसन्धान गर्ने बताए ।

उजुरीमा उल्लेख भएअनुसार मानवअधिकार उल्लङ्घन भएको पाइए त्यसबारे के गर्नुपर्छ त्यसका लागि सरकारलाई निर्देशन दिइने उनले बताए ।

डा यादवले सदस्यद्धय वस्ती र मोहना अन्सारीलाई भेटेर उजुरी दिएका हुन् । शक्तिको आडमा आफ्नो ज्यान नै लिनसक्ने जोखिम रहेकोले सांसदहरु र पूर्वआइजीलाई पक्राउ गरी आवश्यक छानबिन र कारबाही गर्न आयोगमा दिइएको उजुरीपत्रमा उल्लेख गरिएको छ ।

काठमाडौंबाट गएका सांसदहरु बस्नेत र श्रेष्ठ तथा पूर्वआइजी खनालले यादवलाई बैशाख १० गते काठमाडौं ल्याएका थिए ।

यसअघि महानगरीय प्रहरी परिसर र जिल्ला सरकारी वकिल कार्यालयमा यादवले उजुरी दिन गएका थिए । दुवै निकायबाट उजुरी लिन मानिएको थिएन ।

जनता समाजवादी पार्टी फुटाउन डा यादवलाई अपहरण गरिएको दावी उक्त पार्टीले गरेको छ । यसमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रत्यक्ष सहभागीता रहेको दावीसमेत गरिएको छ ।

अपहरण निकै ठूलो अपराध भएको भन्दै ओलीलाई प्रधानमन्त्रीको पदमा रहने नैतिक अधिकार नरहेको समेत अधिकारवादी एवं कानुनविद्हरुले बताउँदै आएका छन् ।