एक महिना सीमामा क्वारेन्टाइन बसेपछि नेपाल छिर्न पाए नेपाली मजदुर, फर्केकाले भने–भारतमा बसेर उनीहरुको गाली खानुभन्दा आफ्नो ठाउँ फर्किनु जाती

Home Feature समाचार

दार्चुला । भारतमा रोकिएका नेपाली मजदुरहरु धमाधम घर फर्किन थालेका छन् । सरकारले नेपाल भारतको सीमा धार्चुलामा रोकिराखेका नेपाललाई भित्र छिर्न दिइएको हो ।

कोरोना भाइरस (कोभिड–१९) ले त्रसित बनाएपछि भारतमा मजदुरी गर्न गएका नेपाली धमाधम स्वदेश फर्कन थालेका हुन् ।

रोजगारी खोज्न भारतका कालापहाडमा गएकाहरु एक महिनादेखि धार्चुला भारतमा क्वारेन्टाइन बसेका सबै नेपाली स्वदेश फर्किएका हुन् ।

३४ दिन भारतको क्वारेन्टाइनमा दुःखकष्ट सहेर स्वदेश फर्किएका नेपाली आफ्नो गाउँमा आउन पाएकामा निकै खुशी छन् । फर्किएकाले भारतमा बसेर उनीहरुको गाली खाएर बस्नुभन्दा आफ्नो ठाउँ आएको बताए ।

बिहीबार दार्चुला जिल्लाका दुई नाका दत्तु र खलङ्गा तथा बैतडीको झुलाघाट नाका भएर नेपालीको उद्धार गरिएको छ । सदरमुकाम खलङ्गाको पुलघाँटबाट आएकाहरुलाई महेन्द्र नमूना मावि खलङ्गा र दत्तुमै स्वास्थ्य जाँच गरिएको छ । स्वास्थ्य जाँचपछि अधिकांशलाई घर पठाइएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए ।

बैतडी, बझाङ र दार्चुलाका विभिन्न स्थानीय तहका व्यक्तिलाई सम्बन्धित स्थानीय तहकै क्वारेन्टाइनमा व्यवस्थापन गर्ने गरी पठाइएको उनले बताए । नेपाल भित्र्याइएका कैलाली कञ्चनपुरलगायत अन्य जिल्लाका नागरिक पनि पठाउने तयारी भइरहेको छ ।

आफ्ना स्थानीय तहका नागरिक लिन बैतडी र बझाङका जनप्रतिनिधि दार्चुला आएका थिए । धार्चुलाका विभिन्न क्वारेन्टाइनमा राखिएका नेपालीमध्ये बैतडी र बझाङका नागरिकलाई दत्तु नाकाबाट ल्याइएको छ भने दार्चुलालगायत अन्य जिल्लाका नागरिक खलङ्गा नाकाबाट नेपाल भित्र्याएको हो ।

नेपाल भारतमा लकडाउन भएपछि धार्चुलामा पुगेका नेपालीले स्वदेश फर्किन पाउनुपर्ने माग गर्दै तीन दिनसम्म पुल छेउबाटै नाराबाजी गरेका थिए । सयौँ नेपाली महाकाली तरेरसमेत नेपाल फर्किएका थिए । नेपाल भित्रिन नसकेका मजदुरलाई उच्चस्तरीय सहमतिपछि नेपाल प्रवेश गराइएको हो । दत्तु र खलङ्गा नाका भएर अपराह्नसम्म एक हजार २९० नेपाली स्वेदश फर्किएका छन् ।

दार्चुलाका ३११, बैतडीका ४७४, बझाङका २८३, अछामका ५०, कैलालीका १०२, डोटीका दुई, डडेल्धुराका २१ र कञ्चनपुरका २१ जना रहेका छन् । यस्तै दैलेखका दुई, सुर्खेतका तीन, हुम्लाका एक र कालीकोटका तीन जना छन् । उद्धार गरिएका दार्चुलाका अधिकांश स्थानीय तह र बैतडी बझाङका केहि व्यक्तिलाई सम्बन्धित स्थानीय तहमा पठाइएको छ ।