माओवादीका धेरैजसो शीर्ष नेताहरु सुन प्रकरणमा मुछिए

Home Feature

कसको “कनेक्सन” कता ?


काठमाडौँ । सर्वहारा वर्गको उत्थानका लागि भन्दै हात्तीछाप चप्पल लगाएर संघर्ष गर्दै जंगल लागेका माओवादीका नेताहरु सर्वहारालाई घर न घाटका बनाएका भए पनि आफूहरु भने १७ वर्ष सत्तामा रहेसँगै सुनका जुत्ता लगाउन सक्ने हैसियतमा पुगेका छन् । १० वर्ष संघर्ष गर्ने क्रममा १७ हजारको ज्यान लिएर उथलपुथल गरेका माओवादी नेताहरु छोटो अवधिमा नै नेपालकै सबैभन्दा धनी नेताहरुमा पर्छन् । २०६३ सालदेखि सरकारमा सहभागी भएका माओवादी नेताहरु मनस्थिति नै आपराधिक चरित्रको भएकाले उनीहरु कुनै न कुनै आपराधिक क्रियाकलापमा मुछिएर छिटो भन्दा छिटो धन जोड्ने लक्ष्यमा रहेका छन् ।
जसका कारण नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने मुद्दामा माओवादीका पूर्व नेता एकं हालका एमाले नेता टोपबहादुर रायमाझी जेलमा छन् । तर धेरैजसो नेताहरु सुन प्रकरणमा मुछिएका छन् । सुनबाट सबैभन्दा छिटो मुद्रा कमाउन सकिने भएपछि नेताहरु यतैतिर जोडिएका हुन् । त्यसैले त उपाध्यक्ष कृष्णबहादुर महरा हिरासतमा छन् । महराका छोरा राहुल पनि जेलमा छन् । पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा पनि हिरासतमा छन् । भलै उनलाई सहकारी काण्डमा पक्राउ गरिएको भए पनि उनीसमेत सुनकाण्डमै मुछिने निश्चित छ ।
हुँदाहुँदै सरकारमा सहभागी मन्त्रीहरु समेत पनि सुन प्रकरणमा मुछिएका छन् । अर्थ मन्त्रालयको बागडोर सम्हालेका अर्थमन्त्री वर्षमान पुनमाथि सुन तस्करी गर्ने समूहसँग उठबस रहेको देखिए पनि सो विषयमा सरकारी तहबाट अनुसन्धान गर्ने, छानबिन गर्ने र प्रष्टिकरण लिने काम गरिएको छैन । वर्तमान राजनीतिक समीकरणबाट सरकारमा पुगेका अर्थमन्त्री पुन र उनका आफ्नै भाइ प्रनिस पुन तथा उनका सचिवालयमा रहेका व्यक्तिहरु सुन प्रकरणमा जोडिएका व्यक्तिहरुको संगतमा रहँदा पनि कुनै प्रकारको जवाफदेहिता देखिएको छैन ।
मुख्यगरी यसअघि पटक–पटक भएका सुन तस्करीदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि सार्वजनिक खरिद ऐन र नियमावली विपरीत चिनियाँ कम्पनी सीएमसीलाई ठेक्का दिने गैरकानूनी निर्णय गरेका वर्षमान पुन जोडिँदै आए पनि उनको जवाफदेहिता देखिएको छैन । उनले यो विषयमा अनुसन्धान
गर्ने निकायलाईसमेत केही भन्न सकेका छैनन् । सार्वजनिक रुपमा आफू अनुसन्धानमा सहयोग गर्छु भन्ने बाहेक उनले अरु केही बताएका छैनन् भने सरकारी निकाय पनि उनीप्रति नरम देखिएको छ । वर्षमानले सुन तस्करसँग पटक–पटक संवाद गरेको, सँगै बसेर खाना खाएको जस्ता तस्बिरहरु सार्वजनिक मात्र भएका छैनन् उनी आफैँले पनि रोल्पाली चेली अमला रोकासँग भेटघाट भएकोसमेत स्वीकार गरेका छन् । यस्तो अवस्थामा उनै विवादित पात्र पुनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थ मन्त्रालयको तालो साँचो सुम्पेपछि तस्करीलाई झन् बल पुगेको कर्मचारीहरुले जनाएका छन् । स्वार्थ बाझिने गरी नेताहरूलाई जिम्मेवारी दिइएपछि प्रमुख प्रतिपक्ष र प्रतिपक्षी दल थप आक्रोशित भएर सदनमा कुरा उठाउदा पनि सुनुवाई भएको छैन । एयरपोर्टबाटै सुन तस्करी गर्ने गरेकोमा पहिले पनि सरकारमा गएका गृहमन्त्री र मन्त्रीको नाम विभिन्न विवादमा आउने गरेको थियो । अवैध आर्जनमा मन्त्री लागेकोमा प्रश्न चिह्न उठ्दै आएको पाइन्छ । अहिले पछिल्लो समयमा कहिले एमालेका नेताका काण्ड आएका छन् कहिले सुनकाण्डमा माओवादीका नेता मुछिएको विषय बाहिर आएका छन् । यस्तो अवस्थामा सरकारमा रहेका नेताहरु जिम्मेवार देखिएका छैनन् ।
राजश्व अनुसन्धान विभागले गत साउन २ गते करिब ६१ किलो सुन बरामद गरेसँगै रोल्पाली छोरी अमला रोका र ज्वाइँ दावा छिरिङको संलग्नता खुलेको थियो । त्यसपछि साउन १४ गते तिब्बती मुलका बेल्जियन नागरिक दावा छिरिङ पक्राउ गरेसँग उनीहरुको संलग्नताबारे थप पुष्टि हुने आधार फेला परेका थिए । उनकै पत्नी अमला रोका र हालका अर्थमन्त्री पुनका भाइ साझेदार रहेको सुन उत्खनन कम्पनी रहेको पाइएको थियो । दावा हाल तस्करी अभियोगमा थुनामा रहेका छन् । उनीमाथि नेपालमा हुने सुन तस्करीको मुख्य व्यवस्थापकको अभियोग रहेको छ । तेस्रो मुलुकबाट विभिन्न वस्तुमा लुकाएर आयात हुने तस्करीको सुन पगाल्न दावाको श्रीमती अमला रोकाको नाममा रहेको सामाखुशीको ‘भियाना मल्टिप्रपोज ग्रुप’ संलग्न रहेको प्रमाणका आधारमा प्रहरीले अनुसन्धान गरेको थियो । प्रहरीले तस्करीको सुन प्रशोधन गर्न तस्करी समुहले पहुँचको आधारमा खानी विभागबाटै लाइसेन्स लिएकोसमेत पाइएको छ । तस्करी गरेको सुन प्रशोधन गर्ने उद्योग दावाकी पत्नी अमलासहितको हो । अमलासहित ४ जनाको नाममा रहेको कम्पनी ‘भियाना मल्टिप्रपोज ग्रुप प्राली’ मा वर्षमान पुनका भाइ प्रनिस पुन मगरको ३० हजार कित्ता शेयर रहेको छ । यो कम्पनीले २०७७ सालमा खानी तथा भूगर्भ विभागबाट सुन उत्खनन् तथा प्रशोधनको लाइसेन्स लिएको छ ।
स्थापना भएको ३ वर्षपछि ‘भियाना मल्टिप्रपोज ग्रुप’ले खानी तथा भूगर्भ विभागमा सुन उत्खनन् तथा प्रशोधन गर्न भन्दै लाइसेन्सको लागि निवेदन दिएको थियो । नेपालमा हालसम्म सुन खानी पहिचान नभएका कारण कम्पनीको लाइसेन्स माग आफैँमा अचम्म पार्ने खालको थियो । तर राजनीतिक दबाबमा अमलाको कम्पनीले २०७७ माघ २९ मा सुन उत्खनन् र प्रशोधनका लागि विभागबाट लाइसेन्स पायो । भूगर्भ विभागका अधिकारीहरुका अनुसार रोल्पाको सुनछहारीमा २९ किलोमिटर क्षेत्रफलमा सुन उत्खनन् गर्न भन्दै कम्पनीले लाइसेन्स लिएको थियो । ‘भियाना मल्टिप्रपोज ग्रुप’ को सुन उत्खनन् र प्रशोधन लाइसेन्स नम्बर ६५–०७७–०७८ हो । कम्पनीको ५ वर्षे लाइसेन्स को समयवधि २०८१ माघ २८ मा सम्म छ । त्यसैगरी पुनको सचिवलायमा कार्यरत रहेका जीवन रोका पनि अमलाका नातेदार भएको खुलेको छ । उनले नै वर्षमान पुनसँग अमलाको संगत गराएको स्रोतको दाबी छ ।
यसको पृष्ठभूमिका सुन खोज्न आउने चाइनिज नागरिक र कम्पनीहरु पनि रहेका छन् । २०७२ सालतिर नेपालको मध्यपश्चिम क्षेत्रमा सुन खोज्न चिनियाँ कम्पनी दर्ता भएको थियो । उद्योग विभागमा दर्ता भएको झोङ्वो इन्टरनेशनल मिनिरल कम्पनीले मध्यपश्चिम क्षेत्रमा सुनको सम्भाव्यता अध्ययन गरेको थियो । चीनको राजधानी बेङजिङ निवासी सुन डे लीको एकल कम्पनीलाई ‘क्यारिआउट फिजिबिलिटी स्टडी एण्ड प्रोस्पेक्टिङ वर्क फर प्लेसर गोल्ड माइन’ का लागि सरकारले अनुमति दिएको थियो । स्थिर पूँजी दुई करोड तीस लाख, चालु पूँजी ६० लाखसहित जम्मा तीन करोडको लगानीमा सो खानी सम्भाब्यता गर्ने उद्योग सञ्चालन गर्ने बताइएको थियो । हाल त्यो कम्पनी हराएको छ । तर नेताहरु भने सुनपति भएका छन् ।
महरालाई पहिले नै पक्राउ
नगर्नु दुर्भाग्य
सुन तस्करी प्रकरणको अनुसन्धानका लागि पक्राउ परेका पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई यसअघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले बयानका लागि बोलाएको थियो । सीआईबीमा जानु उनका लागि यो पहिलो होइन । गत साता सोमबार बिहान सीआईबीले उनलाई सुन प्रकरणमै दोस्रो पटक नियन्त्रणमा लियो । तर दुर्भाग्य उनलाई पछि साधारण तारेखका छाडिएको छ । कुन त ढिला गरी पक्राउ गर्ने त्यसपछि उनको स्वास्थ्यलाई हेरेर छाड्ने यो कस्तो न्याय ? त्यसो भए त जेलमा भएका सबै बिरामीलाई छाड्नु नि । उनले अपराध गरेको जगजाहेर छ । चिनियाँ सुनकाण्डका अपराधीसँग सयौँ पटक गरेको फोन सम्पर्क नै मूख्य आधार हो ।
गत भदौ १३ गते ९ किलो सुन प्रकरणमा महराका छोरा राहुल बुटवलबाट पक्राउ परेका थिए । बाबु छोराको नै संलग्नता देखिएको उक्त प्रकरणमा छोरालाई मात्रै नियन्त्रणमा लिएर सीआईबीले छानबिन गरेको थियो । सोही दिन प्रहरी अनुसन्धान केन्द्रीय कार्यालयमा अचानक गृहमन्त्री नारायणकाजी श्रेष्ठ पुगेका थिए । गोप्य रुपमा सीआईबीमा पुगेका उनले एक व्यक्तिमाथिको अनुसन्धानमा केन्द्रित रहेर छलफल गरेका थिए । उनले आफू निकट रहेका सहसचिव झलकराम अधिकारीलाई जोगाउनु पर्ने र कृष्णबहादुर महरालाई पक्राउ नगरी बयान लिएर छाडिदिन दबाब दिएका थिए । करिब ६१ किलो सुन तस्करीका मुख्य अभियुक्त दावा छिरिङसँग शंकास्पद सम्बन्ध देखिएका अधिकारी अध्यागमन विभागबाट मन्त्रालय तानिएका थिए ।
उनी भदौ ७ मा मन्त्रालय तानिएका थिए । सो विषयमा चासो लिएर गृहमन्त्री सीआईबी पुगेका थिए । गृहमन्त्री श्रेष्ठका अति लोकप्रिय पात्र रहेका अधिकारीलाई प्रतिवादी नबनाउन उनले ठूलो दबाव दिएका थिए । सोही दबाबका कारण सीआईबीले झलकरामलाई सामान्य बयान मात्रै लिएर छाडिदियो भने महरालाई पनि सामान्य बयान लिएर छाडिदियो । तत्कालीन सीआईबी प्रमुख किरण बज्राचार्यले महरा बाबुछोरालाई गत जेठमा पनि पक्राउ गर्न खोजेकी थिइन् । तर उनै नारायणकाजी श्रेष्ठले रोकेको स्रोतको दाबी छ । पछि मिडियाबाट चर्को दबाब परेपछि मात्रै राहुललाई पक्राउ गरिएको र कृष्णबहादुर महरालाई कागज गराएर छाडिएको थियो । जिल्ला अदालतमा दर्ता भएको अभियोग पत्रमा अधिकारी र महरालाई प्रतिवादी बनाइएको थिएन । श्रेष्ठकै निगाहमा विभिन्न मालदार निकायको नेतृत्वमा पुगेका झलकराम सुनकाण्डमा तानिए गृहमन्त्री श्रेष्ठसमेत तानिन सक्ने खतरा थियो । तर आफूसमेत तानिने डरले नारायणकाजीले यो मुद्दा कमजोर बनाएको स्रोतको दाबी छ । अहिले तिनै नारायणकाजी परराष्ट्र मन्त्री छन् । उनको नैतिकतामाथि गम्भीर प्रश्न खडा भएको छ ।
राजनीतिक स्टन्ट गर्न माहिर नारायणकाजीले आरोपी कसैलाई काखापाखा नगर्ने बताउँदै इमानको खोल लगाएर भित्र भने अनैतिक काम गर्दा रहेछन् भन्ने स्पष्ट भइसकेको छ । अहिले भने महरालाई भारत भाग्दै गर्दा कपिलवस्तुबाट पक्राउ गरियो । उनको स्वास्थ्य अवस्थालाई ख्याल गर्दै अस्पताल लगियो । उनको स्वास्थ्य अवस्थाका कारण हिरासतको अवधिभर अस्पतालमा बस्न पाउने गरी काठमाडौँ जिल्ला अदालतले आदेश दिएपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पताल लगियो । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दुर्गाप्रसाद खनालको इजलासमा सुनुवाइ भएपछि महरालाई ४ दिन थुनामा राख्न म्याद दिएको थियो ।
तर बयानपछि त अचम्मसम्म उनलाई साधारण तारेखमा पो छाडियो । जबकी सीआईबीले गरेको पहिलो चरणकै अनुसन्धानमा बाबु कृष्णबहादुर महरा र छोरा राहुलको कनेक्सन चिनियाँ सुन तस्कर दाओजिन वाङसँग देखिएको थियो । त्यतिबेला सीआईबीले लिंक चार्टमात्रै उल्लेख गरी मुद्दा अदालतमा लगेको थियो । दोस्रो चरणको अनुसन्धान गर्दा भने राहुल महरा पक्राउ परे । सीआईबीले राहुल महरालाई पक्राउ गरी मुद्दा नै चलायो । उनीसँगै लोकेन्द्रकुमार पौडेल, बेल्जियन नागरिक दावा छिरिङ र निमा गुरूङलाई प्रतिवादी बनाएको थियो । पौडेल वाङका सवारी चालक थिए । उनीहरूविरूद्ध आपराधिक विश्वासघात, भन्सार चोरी पैठारी तथा संगठित अपराध सम्बन्धी कसूरमा मुद्दा दर्ता भएको थियो । यसमा काठमाडौँ जिल्ला अदालतले राहुल र छिरिङलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको थियो । पौडेल ५ लाख धरौटीमा छुटेका थिए । यता निमा भने फरार छिन् । यही दोस्रो चरणको मुद्दा बुझाउनुअघि सीआईबीले कृष्णबहादुर महराको बयान कागज लिएको थियो । जसमा महराले फलफूल व्यवसायी दाओजिन वाङलाई सुन तस्करको रूपमा चिनेको बयान दिएका थिए । आफूले लामो समयदेखि चिनजान भएकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा सम्पर्क गरी भेपबारे बुझेको बताएका थिए ।