मेलम्ची ः पिलाउने होइन कमाउने

Home Feature

मेलम्चीको पानी काठमाडौं बासिन्दाहरुका लागि फेरि वितरण गर्न थालिएको छ । दुई चार दिनअघिदेखि खानेपानीले जडान गरेको धारामा मेलम्चीको पानी ओइरिन थालेको समाचार सामाजिक सञ्जालहरु बाट थाहा पाइन्छ । त्यसो त मिडियाहरुमा समाचार पनि बनेको छ मेलम्चीको पानी । तर सामाजिक सञ्जालमा कतै मेलम्ची झरिरहेको देखिन्छ भने कतैकतै मेलम्चीले बाटो पो बिर्सियो कि भन्ने खालका कुरा पनि लेखिँदै आएको छ । यसबाट देखिन्छ, काठमाडौंमा मेलम्चीको पानीले सुख मात्रै दिएको छैन । कतिपयलाई दुःख पनि दिएको छ । तीस वर्षअघि तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले
मेलम्चीबाट काठमाडौंमा पानी ल्याउन सक्ने भन्दै यस परियोजनाको श्रीगणेश गरेका थिए । उतिखेरै काकाकूल काठमाडौंका लागि मेलम्चीको पानीले एउटा आशाको किरण देखाएको थियो । यो सपना मात्रै थिएन । त्यसका लागि काम पनि सुरु भयो । भलै त्यसिको केही समयपछि केपी भट्टराई प्रधानमन्त्री रहेनन् । सत्ताको बागडोर गिरिजाप्रसाद कोइरालाको हातमा गयो ।
तर मेलम्ची सपनाको रुपमा स्थीर रहेन । त्यसका लागि प्रारम्भिक चरणका कामहरु हुँदै गयो । अहिले यो परियोजनालाई राष्ट्रिय गौरवको कायोजना भनिँदै आइएको छ । तर यो गौरव बेलाबेलामा भत्किन्छ र काठमाडौंमा बगेको पानी बर्सौँ गायब हुन्छ । आज यस आयोजनालाई अगाडि बढाउने पूर्व प्रम भट्टराई र कोइराला दुवै यस लोकमा छैनन् । आफूले अगाडि बढाएको परियोजनाको यो अवस्था देख्दा ति दुवैले के महसुस गर्थे होलान् ? कतिपय चियाचर्चाले मेलम्चीलाई पनि ठाउँ दिएको देखिन्छ । चिया पसलमा एक वृद्ध भन्दै थिए, मेलम्चीलाई एउटै बाढीले तर्साएको छ । यसमा काम गर्ने इन्जिनियरहरूले पनि गेग्रान जमेको ठाउँलाई परियोजना स्थल बनाएर आफूहरु कुशल प्राविधिक भएको प्रमाण दिएका छन् । बिगतमा आएको बाढीको कहरले तिनको काम कस्तो थियो भन्ने देखाएको छ । अरबौं रुपैयाँ खर्च हुने यस्ता ठूला परियोजनाहरुमा काम गर्दा त्यस्ता परियोजनाले सय दुई सय वर्ष धानोस् भनेर प्राविधिकहरुले सोच्नु पर्ने होइन र ? तर नेपालीहरूको विडम्बना, तिनका भागमा विज्ञ प्राविधिकभन्दा कमाउने प्राविधिकहरु परेका छन् । जसले पैसा कमाउने उपाय मात्रै सोच्छ, परियोजनाको दूरगामी असर बारे अलिकति पनि सोच्दैन ।
भन्न त काठमाडौंका बासिन्दाहरुको सपना पूरा भएको भन्दै मेलम्चीको पानी अलिअलि झार्ने काम गरिँदै आएको छ । तर उहिल्यै दैनिक २६ करोड लिटर पानी आपूर्ति हुनुपर्नेमा कूल १७ करोड लिटर मात्रै पानी दिनसक्ने गरी परियोजना बनाइएको थियो । बाँकीको नौ करोड लिटर पानी भगवान् भरोसा थियो । अहिले दैनिक २६ करोड लिटर पानीले पुग्नै अवस्था छैन । अझै बढी चाहिन्छ । तर त्यति महँगो मेलम्चीले सिंगो काठमाडौंलाई पानी पिलाउन सक्दैन । जब सबै काठमाडौंवासीलाई पानी पिलाउन सक्दैन भने यस्ता परियोजनाको के नै अर्थ रह्यो र ! यो त सम्बन्धीत र सरोकारवालाहरुलाई कुस्त कमाउन दिएको आयोजनाभन्दा अरु के नै भयो र ?