काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अर्थ समितिका सदस्य हुन् । राष्ट्रको ढुकुटी सम्हाल्ने व्यक्ति कुनै दलको नेता भएपछि के होला ? फेरि प्रतिपक्ष दलको । अनि त्यस्तो व्यक्तिले देशको ढुकुडी सम्हाल्दा मौद्रिक संचिति डामाडोल हुने भएको छ । राष्ट्र बैंक ऐन २०५८ को दफा २१ ‘क’ मा राजनीतिक दलको सदस्य वा पदाधिकारी रहेको व्यक्ति गभर्नर, डेपुटी गभर्नर र सञ्चालकमा नियुक्त हुन योग्य हुने छैन भन्ने उल्लेख छ । उनी एमालेको अर्थ विभागमा रहेको खुलिसकेको छ । बहालवाला गभर्नर महाप्रसाद अधिकारी नै एम अधिकारीको छद्म नामबाट एमालेको केन्द्रीय विभागमा रहेको खुलासा भएपछि राष्ट्र बैंकको स्वायत्तता, गभर्नरको जवाफदेहिता र देशको मौद्रिक नीतिको संवेदनशीलतामाथि गम्भीर प्रश्न उठेको बेला उनी जसरी पनि राष्ट्र बैंक हाँक्ने सोचमा रहेका छन् । एमालेले जारी गरेको अन्तरपार्टी निर्देशनमा स्थायी कमिटी सदस्य घनश्याम भुसाल नेतृत्वको अर्थ तथा योजना विभागमा खोटाङका एम अधिकारी छन् । ती व्यक्ति महाप्रसाद अधिकारी होइनन् भनेर स्वयम् उनले र निर्देशन जारी गर्ने एमालेले भरपर्दो आधार दिन सकेका छैनन् ।
त्यसो त यसपालि छद्म नाम राख्न खोजिए पनि २०७३ सालमा सुरेन्द्र पाण्डे प्रमुख रहँदा उनी महाप्रसाद अधिकारीकै नामबाट एमालेको विभागको सदस्य थिए । विगतमा सोही समितिमा बसेर काम गरेका गभर्नर अधिकारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन भएपछि गोप्य सूचना एमाले अध्यक्ष केपी शर्मा ओलीकहाँ पुर्याउने गरेको आरोप सत्तारूढ दलका शीर्ष नेताहरूले लगाउँदै आएका थिए । त्यसलाई नै पुष्टि गर्ने गरी अधिकारी एमालेको अर्थ तथा योजना विभागमै बसेको देखिएपछि सत्ता गठबन्धनमा रहेका दलहरू उनको राजीनामाको पक्षमा देखिएका छन् । सत्तारूढ पाँच दलका शीर्ष नेताहरूको बैठकमा पनि गभर्नर अधिकारीका विषयमा प्रश्न उठेको छ । अधिकारीको भूमिका विगतमा पनि शंकास्पद रहेको जनाउँदै बैठकमा सहभागी नेताहरूले गभर्नर अधिकारीले नैतिकताका आधारमा पदबाट राजीनामा दिनुपर्ने
धारणा राखेका छन् । गत बैशाख ५, ८ र १० मा सम्पन्न एमालेको केन्द्रीय सचिवालयले विभिन्न सांगठनिक निर्णय गरेको थियो । सोहीअनुसार भुसाल नेतृत्वको अर्थ तथा योजना विभागको सदस्यमा खोटाङका एम अधिकारीलाई पनि राखिएको छ । योगेन्द्रबहादुर शाही सचिव रहेको विभागका सदस्यमा रूपन्देहीका रामचन्द्र आचार्य, काठमाडौंका रामचन्द्र भट्टराई, कास्कीका देउकाजी गुरुङ, अछामका केशरबहादुर साउद, झापाका डिल्ली उप्रेती, ललितपुरका महेश दाहाल, चितवनका तिलचन्द्र भट्टराई र अर्घाखाँचीका गोपाल खनाल छन् । मेगा बैंकका सञ्चालक खनाल र राष्ट्र बैंकका गभर्नर अधिकारी एउटै दलको एउटै कमिटीमा आबद्ध देखिएका छन् । अर्थ तथा योजना विभागमा रहेका एम अधिकारी भन्ने व्यक्ति राष्ट्र बैंकका गभर्नर अधिकारी नै हुन् भन्ने प्रश्नले सबैतिर जवाफ मागिरहँदा एमाले भने ढाकछोपमा लागेको छ ।
कहिले गभर्नरलाई पत्राचार गर्ने त कहिले नेताहरुले होइन भन्ने मात्रै कार्य गरेका छन् । राष्ट्र बैंकले साउनदेखि लागू हुने गरी राष्ट्र बैंकले मौद्रिक नीति ल्याउने तयारी गरेको छ । बजेटले राखेको आर्थिक वृद्धिदरको लक्ष्य प्राप्त गर्न राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत बजारमा मुद्रा आपूर्तिको लक्ष्य राख्छ । मूल्यवृद्धि नियन्त्रण गर्ने नीति बनाउँछ । विदेशी मुद्राको संचिति, शोधनान्तर स्थिति, व्यापार घाटा सन्तुलनमा राख्न पनि मौद्रिक नीति बनाइन्छ । यसरी मुलुकको अर्थतन्त्रको नाभीका रूपमा रहेको राष्ट्र बैंकको गभर्नर रहेका व्यक्ति दलका संगठित कार्यकर्ता पनि हुन् भन्ने प्रश्नले अर्थतन्त्रको आत्मविश्वास नै डगमगाउने विज्ञहरूको चिन्ता छ । केपी ओली नेतृत्वको सरकारका पालामा लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत र पछि गभर्नर बनाइएका अधिकारीले पछिल्लो समय जानाजान सरकारलाई असहयोग गरेको भन्दै सत्तापक्षका सांसदहरूले संसदमा आवाज उठाएका छन् । तर उनले एमालेलाई पत्राचार गरेर सोध्ने काम गर्दे बच्न खोजिरहेका छन् । एमाले कार्यालय सचिव भिष्म अधिकारीले पनि एम अधिकारी भन्ने व्यक्ति राष्ट्र बैकको गर्भनर नभएको भन्दै पत्रचार गरेका छन् । एम अधिकारी महाप्रसाद हैनन् भने को हुन् ? भनेर जवाफ दिने हैसियत एमालेसँग छैन ।
त्यतिमात्र हैन उनको मोबाइल नम्बर पनि एमालेको क्रियाशील सदस्यका रुपमा छ । त्यसैले त सत्तापक्षका सांसदले राष्ट्र बैंकका गभर्नर अधिकारीमाथि छानबिन गरी पदच्युत गर्नुपर्ने माग राखेका छन् । सरकारको नेतृत्व गरिरहेको कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद गगनकुमार थापाले कस्तो मौद्रिक नीतिको अपेक्षा गरिएको छ भन्ने सुनाउँदै गभर्नरको भूमिकामाथि प्रश्न उठाए । ‘मैले गर्ने सम्पूर्ण अनुरोध नेपाल राष्ट्र बैंकको गभर्नर श्री महाप्रसाद अधिकारीलाई हो । एमालेको अर्थ तथा योजना विभाग सदस्य मिस्टर एम अधिकारीले मलाई भनेको हो कि भन्ने बुझ्नु भएमा क्षमा चाहन्छु’, भन्दै थापाले धारणा राखेका थिए । कांग्रेसकै सांसद मीन विश्वकर्माले गभर्नर अधिकारीले अर्थतन्त्रलाई लिएर जनमानसमा आतंक मच्चाएको बताएका थिए । ‘गभर्नरजस्तो एउटा जिम्मेवार व्यक्तिले सरकारको सल्लाहकारका रूपमा सहयोग गर्नु पर्नेमा निरन्तर सार्वजनिक कार्यक्रममार्फत यो देश श्रीलंका हुन्छ, अब टाट पल्टिन्छ भनेर रियल स्टेट कारोबारीलाई निषेध गर्ने, निजी क्षेत्रलाई हतोत्साही गर्ने, सेयर मार्केटमा निषेध र पुँजीबजारका ४० लाख जनतालाई अत्याउने काम गरिराख्नुभएको छ,’ उनले भने । विश्वकर्मा अगाडि थप्छन्, ‘राष्ट्र बैंकको गभर्नरजस्तो जिम्मेवार व्यक्तिलाई यस्तो नगर्न, नबोल्न र नागरिकलाई आतंकित नगराउन रुलिङ हुनुपर्छ ।’ एमालेको अर्थ तथा योजना विभाग प्रमुख भुषालले पार्टीको कमिटी र विभागहरूमा सार्वजनिक पद धारण गरेका व्यक्ति रहने वैधानिक व्यवस्था नरहेको भन्दै उनको बचावट गरे । तर उनी एमालेको संगठित सदस्य रहेका छन् । उनको संगठित सदस्य नम्बर नै ९६६८८ रहेको छ । उनले २०४८ सालमा संगठित सदस्य पाएको र त्यसको डिजिटल नविकरण २०५८ सालमा गरेको देखिन्छ । यसले पनि अर्थ समितिमा प्रमुख भुषालको दाबीलाई खण्डन गरेको छ ।
एमालेले गर्भनर अधिकारीलाई जोगाउन नक्कली एम अधिकारी खडा गर्न खोजेको थियो तर असफल भएको छ । एमालेले विराटनगरका एक जना चार्टर्ड एकाउन्टेन्टलाई एम अधिकारी बनाएर सार्वजनिक गर्ने प्रयास गरेको पाइए पनि असफल भएको हो । राष्ट्र बैंकका गभर्नर अधिकारीमाथि राजीनामाको दबाव बढेपछि एमालेले बिहीबार विज्ञप्ति निकालेर उनी गभर्नर नभएको दाबी गर्दै नक्कली एम अधिकारी खडा गर्ने प्रयास गरेको थियो ।