‘नेपालको प्रधानमन्त्री विदेशीको योजनामा बनाइन्छ’

Home Feature

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालको प्रधानमन्त्री विदेशीहरूको इच्छा र योजनामा बनाइने गरेको बताएका छन् । शुक्रबार विश्व ॐकार एकता महाअभियानको आयोजनामा काठमाडौँमा भएको ॐकार एकता राष्ट्रिय धर्म सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले नेपालको प्रधानमन्त्री विदेशीहरूको चासो र योजनामा बनाइने गरेको बताएका हुन् । उनले नेपालको विषयमा निर्णय गर्ने कुरा विदेशीहरूको हातमा रहेको उल्लेख गरे । उनले मन्त्रीहरू को बनाउने र आगामी निर्वाचनमा कुन पार्टीलाई जिताउने भन्ने कुरामा पनि विदेशीहरूको चासोको विषय हुने गरेको जिकिर गरे ।
लिङदेनले हिन्दुराष्ट्रको समाप्त पार्नेहरूको अभिष्ट अझै पूरा भइ नसकेको टिप्पणी गरे । उनले भने, ‘नेपालको प्रधानमन्त्री को हुनुपर्छ, मन्त्री को हुनुपर्छ, चुनावमा कुन पार्टीले जित्नुपर्छ र को प्रधानमन्त्री हुनुपर्छ विदेशीहरुको चासो र योजनाको विषय बन्न थालेको छ । त्यसकारण यो धर्मको कुरामात्रै होइन हाम्रो पहिचान, एकता, हाम्रो अस्तित्व र हाम्रो सार्वभौमिकताको प्रश्न हो हिन्दुराष्ट्र भन्ने कुरा ।’ अध्यक्ष लिङ्देनले नेपाललाई कसैको मागबिना नै धर्मनिरपेक्ष राष्ट्र घोषणा गरिएको भन्दै हिन्दु राष्ट्र पुनःस्थापनाका लागि ॐकार परिवारको प्रयत्न र सक्रियतालाई अझै बढाउनुपर्नेमा जोड दिए ।