पूर्वराजाको काठमाडौंबाहिर बसाइ लम्बियो

Home Feature

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहको उपत्यका बाहिरको बसाइ लम्बिएको छ । गत पुस ८ गते एक महिनाका लागि भनेर भैरहवा गएका पूर्वराजाको काठमाडौँ फर्किने समय लम्बिएको हो । पूर्वराजाको अधिकांश समय भैरहवामा बसे पनि हालका दिनमा भने वीरगञ्जमा बसाइ रहेको छ । वीरगञ्जमा बसे पनि पूर्वराजालाई विभिन्न स्थानमा नागरिक अभिनन्दन गरिएको छ भने विभिन्न मन्दिरमा पूजाआजा पनि भइरहेको छ । पूर्वराजा भैरहवामा छँदा पनि लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा सोही क्रम चलेको थियो । अहिले वीरगञ्ज गएपछि पनि यो क्रम जारी छ ।
आइतबार हेटौँडामा भव्य स्वागत भएको छ । प्रायः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेताहरु सक्रिय हुँदै आएकामा हेटौँडामा राप्रपा नेपालका नेता कार्यकर्ता पनि स्वागतका लागि सक्रिय भएका छन् । यसले पूर्वराजासँग राप्रपा नेपालका अध्यक्ष कमल थापालाई जोड्ने सूत्रको पनि निर्माण भइरहेको छ । तर पूर्वराजाले यसरी कसरी लिने भन्नेबारे केही खुलेको छैन । राप्रपाको चुनावमा अध्यक्ष राजेन्द्र लिङ्देनसँग हारेपछि कमल थापाले पूर्वराजासहित दरबारलाई निकै नै तल्लो स्तरमा पुगेर अपमान गरेका थिए ।
त्यसलाई राजावादीहरुले भुलेका छैनन् । कमल थापालाई राजावादीभित्रको सबैभन्दा ठूलो अवसरवादीका रुपमा चिन्ने गरिन्छ । तर पछिल्लो समय कतै राप्रपा पनि त्यही कमल थापाको लाइनमा त जान लागेको हैन ? भन्ने प्रष्ट उठ्दै आएको छ । एकातिर राजसंस्था फर्काउनु पर्छ भन्ने अनि अर्कोतिर गणतन्त्रमा जोडतोडले सहभागी भएर सफलता हासिल गर्दै जाने राप्रपा अध्यक्ष लिङ्देनले संघीयताको विरोध गरे पनि अहिले दुई प्रदेशको सभामुखमा राप्रपाकै नेता रहेका छन् । यसलाई भने विचार र वास्तविकतामा तालमेल नमिलेको जिकिर गर्न थालिएको छ । र पनि पूर्वराजाबाट
यसबारेमा कुनै प्रतिक्रिया दिइसकेको अवस्था छैन । र पनि राप्रपाले राजसंस्थाका लागि भने जोडजुलुम गरिरहेको छ । तर विद्रोह गर्न नसक्दा नेताहरुको भित्री मनमा के छ भन्ने बारेमा विभिन्न शंका उपशंका उब्जिएको छ । जे भए पनि पूर्वराजा जहाँ जाँदा पनि नागरिक अभिनन्दन हुने र जहाा पनि ‘राजा आउ देश बचाउ’ को नारा गुन्जिरहेको अवस्थामा अन्य दलका नेताहरुलाई भने छट्पटी छुटेको छ । सो क्रममा पूर्वराजाको आगामी माघ १३ गते वीरगञ्जमै नागरिक अभिनन्दन हुनेछ । पूर्वराजाको संवाद सचिवालयका अनुसार पूर्वराजा माघ २० गतेसम्म काठमाडौँ फर्कन सक्ने बुझ्न सकिन्छ ।