पार्टीको एजेण्डा विपरीत लिङ्देन

Home Feature

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले भाइ कांग्रेस भएर कान्तिपुर मिडिया ग्रुप रुपका अध्यक्ष कैलाश सिरोहियालाई ‘सत्ताको चरम दुरुपयोग’ गरेर पक्राउ गरिएको टिप्पणी गरेपछि राजावादीहरू आक्रोशित भएका छन् । उनीहरू वस्तुस्थिति नबुझी गलत टिप्पणी गरेको भन्दै लिङ्देनमाथि रिसाएका हुन् । उनीहरूले जुन मिडियाको मालिक दरबार हत्याकाण्डलाई राजनीतिक रुप दिन ज्ञानेन्द्र शाहले यो घटना गराएको हो भन्ने भाष्य स्थापित गर्न खोज्ने, राजसंस्था चाहिँदैन भन्ने, हिन्दू धर्म चाहिँदैन भन्ने नीति लिएर पत्रकारिताको दुरुपयोग गर्नेको कुकर्ममा किन साथ दिएको भन्दै लिङ्देनमाथि आक्रोश पोखेका हुन् ।
मंगलबार साँझ सिरोहिया पक्राउ परेपछि त्यसको केही समयपछि लिङ्देनले प्रेस विज्ञप्ति जारी गरी गलत समय र गलत तरिकाबाट सिरोहियालाई गिरफ्तार गरिएको बताएका थिए । उनले लेखेका थिए, ‘कान्तिपुर प्रकाशन गृहका अध्यक्ष कैलाश सिरोहियामाथिको अभियोगका सम्बन्धमा न्यायिक निरुपण हुने नै छ । तर सरकारबाट जुन समय र तरिकाबाट सिरोहियालाई गिरफ्तारी गरियो सर्वथा अनुपयुक्त छ । उनले लेखेका थिए, ‘कान्तिपुरले लगातार रूपमा सहकारी ठगी सम्बन्धमा प्रकाशित गर्दै आएका प्रमाण र तथ्यहरूलाई असत्य सावित गरेर देखाउनुपर्नेमा यस प्रकारको गिरफ्तारी सत्ताको चरम दुरुपयोग हो ।’
यसअघि सिरोहियाका दुई वटा नागरिकता रहेको भन्दै गृह मन्त्रालयले अनुसन्धानका लागि प्रहरीलाई निर्देशन दिएलगत्तै धनुषा प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो । धनुषा प्रहरीको अनुरोधमा उपत्यका अपराध कार्यालयले सिरोहियालाई मंगलबार साँझ पक्राउ गरेको थियो । लिङ्देनमाथि चर्को दबाब आएपछि अर्को विज्ञप्ति निकालेर त्यसलाई साम्य पार्न खोजिएको थियो । तर राजवादीहरू कैलाश सिरोहियालाई
‘कालो सर्प’ का रुपमा लिन्छन् । कैलाश राजसंस्थाप्रति सधै बेइमान भएको पनि बुझाइ छ । त्यससँगै अहिले राजावादीहरूसँग निकै नजिकबाट जोडिएका युवराज घिमिरे पनि रहेका छन् ।
घिमिरेले दरबार हत्याकाण्ड हुँदा कैलाशसँग मिलेर भूमिगतमा रहेका तत्कालीन विद्रोही माओवादी नेता डा. बाबुराम भट्टराईलाई दरबार हत्याकाण्ड पूर्वराजा ज्ञानेन्द्र शाहले नै गराएको हो भनी प्रेस विज्ञप्ति निकाल्न र लेख लेख्न आग्रह गरेका थिए । सोअनुसार बाबुरामले मानेका पनि थिए ।
अहिले तिनै युवराज राजसंस्थाप्रति बफादार भएको देखिन्छन् । अनि राजसंस्थासँगै राप्रपाले बोकेको हिन्दू राष्ट्रको विरुद्धमा कलम चलाउन आफ्ना कामदारलाई निर्देशन दिने कैलाशको कतै पनि सराहना गर्न नहुनेमा राजावादीहरू एक भएका छन् । सोही कारणले पनि उनीहरू सिरोहियालाई कालो सर्पको रुपमा परिभाषित गर्ने गर्छन् ।