किन डराइरहेछन् प्रम ओली
काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पहिलो पटक कुनै आत्मविश्वास बिना नै सरकारको नेतृत्व सम्हालिरहेका छन् । यसअघि दुई पटकको कार्यकाल जसरी शानका साथ कसैलाई पनि नगनी थर्काइथर्काइ सरकार चलाइरहेका थिए अहिले भने माहोल त्यस्तो देखिएको छैन । खासमा अहिले त उनको दलभन्दा बलियो पार्टी नेपाली कांग्रेसको साथ छ । यसपालि उनी डराएको हाउभाउमा प्रस्तुत हुन थालिसकेका छन् । उनको पार्टीका नेताहरु बाध्यतामा परेर हो मा हो थप्ने बाहेक सत्तामा भएकै सहयात्री दलका नेताहरुले उनको तथाकथित बोलीलाई स्वीकार्ने अवस्था नै छैन ।
यसको प्रमुख कारण हो उनलाई पत्याइदिनेको कमी । किनकि उनले संविधानको अक्षरसः पालना गर्छु भने तर यसअघिको कार्यकालमा दुई पटकसम्म संविधानको अवमूल्यन गरेर संसद विघटन गरे । सत्ता बाहिर भएका दलले बहुमत पुर्याएर राष्ट्रपति कार्यालयमा निवेदन दिँदासमेत उनले तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीलाई अस्वीकार गर्न लगाएर आफूलाई नै प्रधानमन्त्री नियक्त गर्न भने । उनकै इशारामा भण्डारीले संसदका दुवै सदनबाट पारित भएर दुई दुई पटकसम्म प्रमाणीकरणका लागि गएको नागरिकता विधेयकलाई रोकाइदिए ।
उनी आफू पनि भ्रष्टाचार नगर्ने र अरुलाई पनि भ्रष्टाचार नगर्ने भनेर यसअघिको कार्यकालमा शून्य सहनशीलताको नारा घन्काए । आफूले भ्रष्टाचारीलाई नदेख्ने पनि बताए । तर तिनै ओलीको त्यो पालामा नेपाल सबैभन्दा भ्रष्ट सरकार ठहरियो । त्यो पनि अन्तर्राष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदनमा । यी विगतका ओलीका छवि हेर्दा उनी फेरि प्रधानमन्त्री भएर गरेका भ्रष्टाचार विरुद्धका प्रतिबद्धता फगत नाटक हुन् भन्ने नै अधिकांशले ठानेका छन् । त्यसो त उनले शुरुआतदेखि नै आफ्नो कार्यकालको दिनगन्ती थालेका छन् ।
यसले उनका लागि यो कार्यकाल सहज छैन भन्ने पनि स्पष्ट पार्छ । यसो भनिरहँदा उनको डराएको भाव भने झल्कन्थ्यो । किनकि उनको यो कार्यकाल धेरै हिसाबले सहज छैन । उनी डराउनुका पछाडि उनकै कूकर्म इतिहास नै प्रमुख कारण हो । त्यसैले त उनी डराइरहेका छन् । श्रीलंका र बंगलादेशमा युवाहरूले
देखाएको क्रान्ति छोटो समयको ठूलो उपलब्धि हो परिवर्तनका लागि । तर त्यो कति सान्दर्भिक र कति असान्दर्भिक तपसिलको कुरा । यद्यपि युवाले चाहे भने अब लामो समयको क्रान्ति पर्खदैनन् भन्ने देखाएको छ । यसका लागि पनि केपी ओली पुरानै ढर्रामा हैन नयाँ शिराबाट अगाडि बढ्नु पर्ने चुनौती छ ।
ओली आफैँसमेत यो परिवर्तनबाट स्तब्ध छन् । किनकि बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिना ओलीकी निकट मित्र थिइन् । जसरी बर्खास्त गरियो त्यसले ओलीलाई गहिरो चोट पुर्याएको छ । त्यसो त ओलीले नेपालमा बङ्गलादेश र श्रीलङ्काको जस्तो अवस्था नआउने बताएका छन् । उनले नेपालमा बेथिति चलाउन नसिकिने भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सम्झाएर बङ्गलादेशमा जे भयो नेपालमा पनि त्यही हुन नेपाल कुनै देशको फोटोकपी मेशिन नभएको बताएका छन् । यसरी स्पष्टीकरण दिनुपर्ने आवश्यकता डरले पैदा गरेको भनी विश्लेषण थालिएको छ ।
सबैभन्दा ठूलो डर उनलाई छिमेकीको निम्तोले पनि पारेको छ । यसअघि पहिलो र दोस्रो कार्यकाल प्रधानमन्त्री हुँदासाथ बधाईको ओइरो आउँदै गर्दा भ्रमणको पनि निम्तो आउने गर्दथ्यो । तर यसपालि प्रधानमन्त्री नियुक्त भएको दुई महिना हु्नै लाग्दा दुई छिमेकी देशहरू भारत र चीनबाट कुनै निम्तो नै आएको छैन । परराष्ट्र मन्त्री डा आरजू राणा देउवा भारत पुगेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएर आउँदासमेत ओलीलाई अझ भारतले निमन्त्रणा गरेको छैन । अर्कातर्फ चीनले कम्युनिष्ट नेता प्रधानमन्त्री हुनासाथ भारतले भन्दा पनि पहिले आफूले स्वागत गर्न पाए हुने भनी इच्छा राख्ने गर्दथ्यो । यसपालि त्यो हुन सकेको छैन । जसका कारण उनको यो कार्यकालको पहिलो विदेश भ्रमण अमेरिकाबाट हुने भएको छ । अमेरिकामा असोज ७ गतेदेखि न्यूयोर्कमा हुने संयुक्त राष्ट्र संघको ७९ औँ महासभामा उनले भाग लिने भएका हुन् ।
ओली हरेक कुरामा षड्यन्त्र देख्छन् । ती षड्यन्त्र गर्ने पात्र यतिबेला कोही हुन् भने प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र माधवकुमार नेपाल हुन् । कुनैबेला रविलाई काखी च्यापेका ओलीलाई अहिले तिनै रविले षड्यन्त्रमा फसाउने जाल रच्दै गरेको भान ओलीलाई भइसकेको छ । ओलीमा देखिएको डरको फाइदा उठाएर आफूविरुद्ध आन्दोलन भड्काइरहेको शंका उनमा पसिसकेको छ । ओलीलाई गल्ती गर्न बाध्य पार्ने र नेपाली कांग्रेससँगको गठबन्धन तोड्ने उनीहरुको उद्देश्यप्रति ओली थप चिन्तित बनेका छन् । यसमा माधवकुमार नेपालको पार्टीसमेत रहेको नेकपा एकीकृत समाजवादी र नेत्र विक्रम चन्दको पार्टीसमेत सहभागी रहेको समाजवादी मोर्चासमेत लागेको चस्को ओलीमा परेको छ । आफूले गल्ती गरेपछि त्यसको सजाय त भोग्नैपर्छ । त्यही डरको सजाय अहिले ओलीले भोगिरहेका छन् । गणतन्त्रमा कसैलाई पनि निच देखाउनु हुँदैन । ओलीले विपक्षी कुनै पनि दलका नेतालाई छाडेका छैनन् । जसका कारणले गर्दा ओली प्रधानमन्त्री त छन् तर शिर ठाडो पार्न सकेका छैनन् । उनी आफैँमाथि थुप्रै नैतिकताका भ्रष्टाचारका फाइल छन् । आफ्नै पालामा भएका घटना नसल्टाएसम्म उनको त्रास रोकिने छैन ।