सरकारको सानो चित्त चिर्दै पूर्वराजा शाह काठमाडौं फिर्ता

Home Feature राजनीति

काठमाडौं पूर्वराजा ज्ञानेन्द्र शाह झापाको दमकमा रहेको हिमालय महालक्ष्मी चिया बगानस्थित निवासबाट शुक्रबार बिहान सवारी साधन पास लिएर काठमाडौं फिर्ता भएका छन् ।

कोरोना भाइरस (कोभिड –१९) को रोकथामका लागि सरकारले चैत ११ गते बन्दाबन्दी लागू गर्नुअघिदेखि अर्थात् चैत २ गते उनी झापामा गएका थिए ।

प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले पूर्वराजा ज्ञानेन्द्र, पूर्वरानी कोमल शाहसमेत पाँच जनाको सवारी पास जारी गरिएको बताए । पूर्वराजा शाहका तर्फबाट उनको सचिवालयले काठमाडौंँ जानका बिहीबार झापा जिल्ला प्रशासन कार्यालयमा सवारी पासका लागि इमेलबाट निवेदन पठाएको थियो ।

अन्तरजिल्ला सवारी पासका लागि जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयलमा निवेदन पठाएपछि मन्त्रालयले स्वीकृति प्रदान गरेको प्रजिअ रानाले जानकारी दिए ।

उनै प्रजिअ रानाले गृहमन्त्रालयको आदेश अनुसार बिहीबार पास दिएको एक घण्टापछि पास स्थगित गरिएको जानकारी मिडियालाई दिएका थिए ।

तर पूर्वराजाको पास स्थगित गरिएपछि सामाजिक संजालदेखि राजनीतिक वृत्तमा चर्को विरोध भएको थियो । उक्त विरोधलाई धान्न नसकेपछि पूर्वराजालाई शुक्रबार बिहानै पास दिइएको हो ।

पूर्वराजालाई पासको जरुरी नपर्ने भए पनि कम्युनिष्ट सरकारले अवसर पाएका बेलामा अपमान गरेको भन्दै विरोध भएको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति निवासमै बसेर डिजिटलको प्रयोग गरी नीति तथा कार्यक्रम पढे हुनेमा उनका लागि काठमाडौंमा अनावश्यक गाडीहरुको कोलाहल मच्याइँदा पूर्वराजाले आफू घर पनि आउन नपाउने ? भन्दै सामाजिक संजालमा विरोध भएको थियो ।

पूर्वराजाले भने बिहीबार पास नदिइए भद्रपुरमै बस्ने योजना बनाएको स्रोतको भनाई छ ।

तर दवाव थेग्न नसकेपछि केपी शर्मा ओली नेतृत्वको सरकारले पास दिन वाध्य भएको हो ।

पूर्वराजासंगै पूर्वरानी कोमल शाह पनि संगसंगै फर्केकी हुन् ।