सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा के–के समेटियो ?

Home Feature अर्थ राजनीति

समस्या केन्द्रीत बजेट आएन– मिनेन्द्र रिजाल, कार्यान्वयन चुनौती– प्रचण्ड, सीमामा खुट्टा कमायो
काठमाडौं । सरकारले प्राथमिकताविहीन बजेट ल्याएको भन्दै त्यसलाई सच्याउन प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले माग गरेको छ । कांग्रेस सांसद मिनेन्द्र रिजालले सरकारको प्राथमिकता एकातिर हुनुपर्नेमा नीति तथा कार्यक्रम अर्कातिर आएको बताए ।

उनले कोरोना भाइरसको संक्रमणका बारेमा तत्काल अपनाउनु पर्ने विधिसमेत पनि नअपनाएको आरोप लगाए । त्यस्तै उनले अहिलेको जल्दोबल्दो विषय सीमामा भारतको अतिक्रमण भएकामा त्यसमा सरकारले खुट्टा कमाएको बताए ।

उनले संचारकर्मीसंग भने, ‘केही विशेष आउला भन्ने थियो । लास्टमा अलिकति छोइयो । यसले केही हुनेवाला छैन । सरकारले खुट्टा कमायो ।’

सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नीति तथा कार्यक्रम राम्रो भए पनि कार्यान्वयनमा चुनौती रहेको बताए ।

उनी आफै पनि केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको नीति तथा कार्यक्रममा सन्तुष्ट हुन सकेनन् । आफ्नै पार्टीका अध्यक्षसमेत सन्तुष्ट हुन नसक्दा विपक्षीका के कुरा ।

राष्ट्रपतिले पढिन् नीति तथा कार्यक्रम
राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरिन् । उनले कोरोना भाइरसबाट ज्यान जाने अवस्था आउन नदिन सरकार दृढतापूर्वक लागेको बताइन् ।

उनले यसको लागि एक ढिक्का भएर लाग्न पनि सबैलाई आग्रह गरेकी छन् । साथै दीगो विकास लक्ष्य प्राप्तिमा कोरोनाले ठूलो व्यवधान निम्त्याएको सरकारले ठहर गरेको छ । उनले कोरोनाका कारण पर्यटन क्षेत्र ध्वस्त भएको तथा उद्योगधन्दा बन्द हुने अवस्थामा पुगेको बताएकी छिन् ।

के के छन् सरकारका नीति तथा कार्यक्रममा ?
कृषि क्षेत्र उच्च प्राथमिकताः सरकारले आगामी आर्थिक वर्षमा कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर बजेट निर्माण गर्ने भएको छ । भण्डारीले कृषि क्षेत्रलाई महत्व दिँदै कार्यक्रम आउने घोषणा गरेकी छिन् । उन्नत वीउबिजन उपलब्ध गराउने, भूमि बैंकको स्थापना गरिने, सामूहिक खेतीलाई प्रोत्साहन गरिने तथा रोजगारी सिर्जनमा जोड दिइने उनले बताइन् । सबै जमिनको उपयोग गरी कृषि उत्पादन वृद्धि गर्ने कार्यक्रम समेत नीति तथा कार्यक्रममा समेटिएको छ ।

कोरोना प्रभावित उद्योगलाई सहुलियतः राष्ट्रपति भण्डारीले कोरोना महामारीका कारण प्रभावित उद्योगहरुले सहुलियत पाउने बताएकी छिन् । कोरोनाका कारण प्रभावित उद्योग तथा व्यवसायलाई सहुलियत दिने नीति तथा कार्यक्रममा उल्लेख छ । औद्योगिक कार्यहरु सुचारु गर्दै अर्थतन्त्रलाई गति दिने तथा अत्यावश्यक खाद्य वस्तुको आपूर्ति व्यवस्था सहज बनाइने राष्ट्रपति भण्डारीद्वारा घोषणा भएको नीति तथा कार्यक्रमा उल्लेख छ ।

विदेशमा रोजगारी गुमाएकालाई स्वदेशमै अवसरः राष्ट्रपति भण्डारीले विदेशमा रोजगारी गुमाएकालाई सरकारले स्वदेशमै अवसर दिने बताएकी छन् । उनले सरकारले स्वदेशमै अवसरका लागि वातारण सिर्जना गर्ने बताइन् । कोरोना भाइरसका कारण स्वदेशमै रोजगारी गुमाएकाहरूका लागि पनि रोजगार कार्यक्रम सञ्चालन गरिने उनले जानकारी दिइन् ।

ठूला आयोजनालाई बजेट अभाव नहुनेः कोरोना भाइरस संक्रमण रोकथामका लागि लागू गरिएको लक डाउनका कारण अर्थतन्त्र सुस्त भए पनि निर्माणाधीन ठूला आयोजना समयमै सम्पन्न गर्ने कार्यक्रम सरकारले घोषणा गरेको छ । उनले निर्माणाधीन रूपान्तरणकारी तथा ठूला विकास निर्माण आयोजना समयमै सम्पन्न गर्न बजेटको अभाव हुन नदिने बताइन् ।

संघ र सातै प्रदेशमा अत्याधुनिक सरुवा रोग अस्पताल निर्माणः सरकारले संघमा ३०० शैय्याको अत्याधुनिक अस्पताल निर्माण गर्ने भएको छ । राष्ट्रपति भण्डारीले संघ र सातै प्रदेशमा सरुवा रोग अस्पताल निर्माण गर्ने जानकारी दिएकी छन् ।

आगामी आर्थिक वर्षमा साक्षर नेपाल घोषणाः सरकारले आगामी आर्थिक वर्ष साक्षर नेपाल घोषणा गर्ने राष्ट्रपति भण्डारीले बताइन् । सरकारले आगामी वर्ष विश्वविद्यालयको पाठ्यक्रम समयानुकूल परिवर्तन गर्ने समेत उल्लेख गरेको छ ।

देशभित्रै अन्तर्राष्ट्रियस्तरको शिक्षा र स्वास्थ्य सेवाका लागि पूर्वाधारः देशभित्रै अन्तर्राष्ट्रिय स्तरको शिक्षा र स्वास्थ्य सेवाका लागि पूर्वाधार निर्माण गरिने भएको छ । राष्ट्रपति भण्डारीले शिक्षा र स्वास्थ्य क्षेत्रमा सरकारको भूमिका थप प्रबल बनाउँदै निजी क्षेत्रलाई लगानी गर्न प्रोत्साहित गरिने बताइन् ।

स्नातकोत्तर पढेका युवालाई शैक्षिक विकासमा परिचालनः सरकारले स्नातकोत्तर गरेका युवालाई विकास निर्माण र शैक्षिक विकासका काममा परितालन गर्ने भएको छ । ‘चिनौ आफ्नो मानो, बनाउन आफ्नै देश’ नारासहित स्नातकोत्तर गरेका युवालाई विकास निर्माण र शैक्षिक विकासका काममा मुलुकभर परिचालन गरिने भण्डारीले घोषणा गरेकी छिन् ।

वैदेशिक रोजगारीमा जानेलाई सामाजिक सुरक्षा योजनाः सरकारले आगामी वर्षदेखि वैदेशिक रोजगारीमा जाने युवाहरुलाई पनि सामाजिक सुरक्षा योजनामा समेट्ने भएको छ । सबै नेपालीको जीवन सुरक्षित, मर्यादित तथा गुणस्तरीय बनाउनका लागि वैदेशिक रोजगारीमा जाने युवाहरुलाई पनि सामाजिक सुरक्षा योजनामा समेट्ने नीति नीति सरकारले लिएको हो ।

सहकारी संस्था गाभ्न प्रोत्साहनः सरकारले सहकारी संस्थाहरु गाभ्न प्रोत्साहन गर्ने भएको छ । सरकारले सहकारी संस्थाहरुलाई मर्जरमा लैजानका लागि प्रोत्साहन गर्ने उल्लेख गरेको हो ।

स्वदेशी वस्तु उपयोगको लागि अभियानः ‘स्वदेशी वस्तुको उपयोग गरौं, आन्तरिक उत्पादनलाई प्रोत्साहन गरौं’ भन्ने नारासहित सरकारले स्वदेशी वस्तु उपयोग गर्ने अभियान चलाउने भएको छ ।

हिमाल सरसफाइमा निरन्तरताः सरकारले हिमालको सौन्दर्यता काम गर्न हिमाल सरसफाइ कार्यक्रमलाई निरन्तरता दिने भएको छ।

अन्तरदेशीय आर्थिक क्षेत्र स्थापनाः सरकारले दुई छिमेकी मुलुकलाई औद्योगिक क्षेत्रमा समेत साथ लिने उद्देश्यले अन्तर देशिक आर्थिक क्षेत्र स्थापनाको अवधारणा ल्याएको छ । उनका अनुसार सम्भाब्यताका आधारमा यस्तो आर्थिक क्षेत्र स्थापना हुने भएको हो । बन्द तथा रुग्ण उद्योगलाई अधिकतम क्षमतामा पूर्ण सञ्चालनको योजना समेत सरकारले बनाएको छ । यसमा निजी क्षेत्रलाई समेत सहभागी गरिने भएको छ ।

वर्षमा दुई अन्तराष्ट्रिय विमानस्थल सञ्चालनः सरकारले आगामी वर्ष २ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको घोषणा गरेको छ । यसअघि चालु आवमै सञ्चालनको योजना रहेको भैरहवास्थित गौतमबुद्ध विमानस्थल सञ्चालनको लक्ष्यसमेत पछाडि धकेलिएको हो । साथै पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलसमेत आगामी आवमा निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइने भएको छ ।

वैदेशिक व्यापारमा चीनका सात बन्दरगाहः सरकारले चीनसँग सम्झौता भएको ७ वटा बन्दरगाह प्रयोगलाई प्राथमिकता दिने भएको छ । उनले यी बन्दरगाहको प्रयोगमार्फत वैदेशिक ब्यापार बढाउने बताइन् । आदि आदि ।