नेपालमा कोरोना भाइरसबाट तीन जनाको मृत्यु, चार सय ५३ संक्रमित

Home Feature समाचार समाज

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ । रुपन्देहीको क्रिमसन अस्पतालमा उपचाररत गुल्मीका ४१ वर्षीय पुरुषको बिहीबार मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उनी विद्यालयका प्रधानाध्यापक थिए । यसअघि कोरोना संक्रमित सिन्धुपाल्चोककी एक सुत्केरी महिला र बाँकेका एक युवकको मृत्यु भएको थियो ।

मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या चार सय ५३ पुगेको छ । पछिल्लोपटक नौ जना संक्रमित थपिएका छन् । झापाका १७, १८, १८, २०, २०, २३, ५२ र ५५ वर्षीय पुरुष र रुपन्देहीका २७ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यसअघि बिहीबार बिहान झापाका १८ देखि ४६ वर्षका १५ जना पुरुष, धनकुटाका ३४ वर्षीय पुरुष र सुनसरीकी ५१ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

संक्रमितमध्ये ४९ जना निको भएका छन् । टेकुमा उपचाररत चारजना कोरोना संक्रमित बिहीबार निको भएर घर फर्किएका छन् । प्रवक्ता देवकोटाका अनुसार २३ र २५ वर्षीया महिला तथा २७ र ३७ वर्षीय पुरुष नवौँ दिनमा डिस्चार्ज भएका हुन् ।