कांग्रेसको नेतृत्व कसको हातमा ?
काठमाडौं । नेपालीमा एउटा उखान छ – भाइ फुटे गँवार लुटे । अहिले नेपाली कांग्रेस १४औं महाधिवेशन नजिक हुँदा सो पार्टीको संस्थापन इतर पक्ष आपसमा झगडामा व्यस्त छ । कांग्रेसको यही मंसिर २४ देखि २६ गतेसम्म हुने महाधिवेशनमा सभापति पदका लागि संस्थापन इतर समूहबाट साझा उम्मेदवार छान्ने प्रतिवद्धता नेताहरुले जनाएको भए पनि पछिल्लो समय दूरी झन् बढ्दै गइरहेको पाइन्छ । पछिल्लो समय संस्थापन इतर समूहमा देखिएको आन्तरिक कलहले त्यो सम्भावना टर्दै गइरहेको आँकलन सर्वत्र भइरहेको छ । यद्यपि सम्भावना भने टरिसकेको छैन ।
कांग्रेसभित्र संस्थापन इतर समूहबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, हालका महामन्त्री डा. शशांक कोइराला, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, अर्का पूर्व महामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य डा. शेखर कोइराला, नेतृ सुजाता कोइराला र युवा नेता कल्याण गुरुङ सभापतिमा उठ्ने आकांक्षा राख्दै आइरहेका छन् । वरिष्ठ नेता पौडेलले अहिलेसम्म सिटौला बाहेकको समूहलाई इतर समूहमा रहेर नेतृत्व दिंदै आइरहेका छन् । सिटौलाको आफ्नै छुट्टै समूह छ । उनी १३औं महाधिवेशनदेखि कांग्रेसभित्र तेस्रो धारको नेतृत्व गर्दै आइरहेका छन् । पौडेलले नेतृत्व गरेको इतर समूहमा भने अहिले एक नेताले अर्को नेतालाई टेर्नै छाडेका छन् । वरिष्ठ नेता पौडेल महाधिवेशनमा आफैं मैदानमा उत्रिने अवस्था देखेपछि सोही समूहमा रहेका नेता सिंहले पौडेलबाट पार्टी नचल्ने सार्वजनिक अभिव्यक्ति नै दिइसकेका छन् । उनको सो अभिव्यक्तिपछि पौडेल र सिंहबीच दूरी बढेको छ ।
उनीहरुबीच लामो समयदेखि बोलचाल नै नभएको निकट स्रोत बताउँछ । त्यतिमात्रै होइन केही दिनअघि पौडेलले डाकेको बैठकमा नेता सिंह अनुपस्थित भएर उनी प्रतिको आफ्नो असन्तुष्टि देखाइसकेका छन् । पौडेलले आफूलाई सभापतिमा लड्न नदिने छाँट देखेर आफूलाई एक वर्षका लागि सभापति दिएमा पार्टीलाई प्रतिनिधिसभाको निर्वाचनमा बहुमत ल्याएर देखाइदिने भनी आकर्षण गर्न खोजेका छन् । आफैंले यसअघिको निर्वाचन हारेका पौडेलको एक वर्षसम्म
सभापति र त्यसपछि पार्टीका नाममा पद समर्पण गर्ने योजना पनि आकांक्षी नेताहरुलाई चित्त नबुझेको अड्कल गर्न सकिन्छ । यसैगरी महामन्त्री कोइरालाले पनि पूर्व महामन्त्री सिंहको पकड काठमाडौंमा मात्रै रहेको र काठमाडौं बाहिर उनलाई कसैले नचिन्ने बताएपछि सिंह उनीसँग पनि आक्रोशित छन् । महामन्त्री कोइरालाले केही दिनअघि सर्लाहीमा नेता कार्यकर्तासँगको भेटका क्रममा सिंहलाई काठमाडौं बाहिर कसैले नचिन्ने हुँदा उनले पार्टीलाई नेतृत्व दिन नसक्ने बताएका थिए ।
त्यसलगत्तै नेता सिंहले पनि महामन्त्री कोइरालालाई जवाफ फर्काएर आफ्नो रेकर्ड पल्टाएर हेर्न भनेका थिए । उनले बुधबार विराटनगर पुगेर कोइरालाप्रति आफ्नो आक्रोश व्यक्त गरेका थिए । बुधबारै नेता कोइरालाले आफूले प्रकाशमानलाई त्यसो नभनेको मिडियामा स्पष्ट पार्दै ‘आफूले प्रकाशमानजीको पकड काठमाडौंमा बढी भएको र बाहिर कम रहेको बताएको थिएँ’ भनेका छन् । यसरी दूरी बढेपछि कोइरालाले प्रकाशमान निवास चाक्सीबारीमा शनिबार गएर माफी नै माग्नुपरेको छ । यता सिंहले पार्टी विभाजन हुँदा शेरबहादुर देउवा र एकतापछि गिरिजाप्रसाद कोइरालाको उपसभापति भएर काम गरेको र आफू ग्रासरुटबाट राजनीति गरेर आएको दाबी गरेका थिए । यसैगरी नेतृ सुजाता पनि वरिष्ठ नेता पौडेल र महामन्त्री कोइरालासँग रुष्ट छिन् । उनी आफूलाई मन्त्री नबनाएको भन्दै पौडेल र महामन्त्री कोइरालासँग रुष्ट हुँदै आएकी हुन् । मन्त्री बन्न नपाएको झ्वाँकमा उनलेसमेत पौडेलबाट पार्टी नचल्ने अभिव्यक्ति दिएकी थिइन् ।
संस्थापन इतर समूहमा रहेका केन्द्रीय सदस्य डा. शेखर कोइराला भने इतर समूहमा कसैका विरुद्ध मुख खोलेको सुनिएको छैन । उनी बुधबार विराटनगर पुगेका छन् । विराटनगर जाँदै गर्दा सभापतिका आकांक्षी रहेका पूर्व महामन्त्री सिंहसँग उनको विमानस्थलमा आकस्मिक भेट भएको थियो । यी सबै घटनाक्रमलाई तेस्रो धारको नेतृत्व गर्दै आइरहेका सिटौलाले भने हेरिरहेका छन् । सबैभन्दा ठूलो कुरा त दोस्रो पटक सभापति बन्ने चाहना पालेका वर्तमान सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले निकै गम्भीर तरिकाले नियालिरहेका छन् । पौडल पक्षमा फाटो ल्याउन सके उनी सुनिश्चित हुने देखिरहेका छन् । त्यसैले पनि बुधबार बिहानमात्रै उनले प्रधानमन्त्री निवासमा डा. शशांक कोइरालालाई बोलाएका थिए । देउवाले आफ्नै पक्षका विमलेन्द्र निधी र गोपालमान श्रेष्ठले पनि सभापति हुने चाहना राखिरहँदाको व्यवस्थापनबारे गम्भीर भइरहेका छन् । अहिले इतर पक्षमा त टाउको दुखाइ छ नै देउवा पनि आरामदायी अवस्थामा नभएको उनी निकट स्रोत बताउँछ । तर विश्लेषकहरु बताउँछन् –इतर फुटे कि देउवा जिते ।