ओलीमय एमाले, अरुलाई थामथुम्

राजनीति

काठमाडौं । अहिले नेकपा एमाले ओलीमय भएको छ । अध्यक्ष केपी शर्मा ओली पुनः अध्यक्ष बन्न चाहेपछि वाध्य भएर एमाले फुट्न पुग्यो र दशौं महाधिवेशन ओलीमय बनाइयो । महाधिवेशन प्रतिनिधि हुन चाहने तर ओलीका विरोधी छन् भने तिनीहरुलाई पहिल्यै धम्क्याएर नेकपा एकीकृत समाजवादीमा गए हुन्छ भनी पछाडि धकेलिन्छ । त्यसैले प्रतिनिधिमा ओली पक्षको एकछत्र देखिएको छ । अधिकांश ठाउँमा ‘सर्वसम्मत’ प्रतिनिधि चयन गर्दा दशबुँदे सहमतिका पक्षधर र पूर्वमाओवादी समूहको झिनो उपस्थिति देखिएको छ । एकताको सन्देश प्रवाह गर्न भन्दै एमाले नेतृत्वले प्रतिनिधि चयनमा सकेसम्म सर्वसम्मत विधि अपनाउन प्रदेश, जिल्ला र निर्वाचन क्षेत्रसम्मै निर्देशन दिएको थियो ।
कार्तिक २८ यता भएको प्रतिनिधि चयनमा भौगोलिक र गैरभौगोलिक दुवैतिर ओली पक्षको वर्चस्व देखिएको होर । ९८ प्रतिशत प्रतिनिधि सर्वसम्मत रूपमा चुनिएको केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिएर । चितवनमा मंसिर १०–१२ मा हुने महाधिवेशनमा निर्वाचित, पदेन र मनोनीत गरी १ हजार ९ सय ९९ प्रतिनिधि सहभागी हुनेछन् । यसरी छानिएर आएकाहरुले ओलीमय महाधिवेशनमा ओलीले जसलाई भन्छन् उसैलाई विजयी गराउँछन् । यति हुँदा पनि ओलीभित्रका आकांक्षी पदाधिकारी बढेका छन् । जसलाई पाखा पारियो उनीहरु नेकपा एसमा जाने शंकाले ओलीले सबैलाई व्यवस्थित गर्न खोजिरहेका छन् । त्यसैले त अध्यक्षसहित पदाधिकारी तहमा सर्वसम्मत नेतृत्व चयन गर्ने कसरतमा लागेका नेताहरु विधान संशोधन गरेर पदाधिकारीको संख्या बढाउने विषयमा छलफल गर्न थालेका छन् । ओलीलाई एक पटक सर्वसम्मत अध्यक्ष बनाउने र त्यसमुनिका सबै पद बढाएर नेताहरुलाई समावेश गराउने तयारी अन्तर्गत विधान संशोधनबारे छलफल शुरु भएको हो ।
गत असोजमा सम्पन्न विधान अधिवेशनले पदाधिकारीको संख्या १५ मात्रै बनाएपछि आंकाक्षी नेताहरु धेरै भएको तथा नेताहरुलाई समावेश गर्न असहज हुने भएपछि नेताहरुले यो विषयमा छलफल अघि बढाएका छन् । एमाले उच्च स्रोतका अनुसार वरिष्ठ उपाध्यक्षसहित ७ उपाध्यक्ष, उपमहासचिव एक गरी तीन पद थप गर्ने विषयमा नेताहरुबीच छलफल शुरु भएको हो । विधान महाधिवेशनले उपमहासचिव एक, वरिष्ठ उपाध्यक्षसहित उपाध्यक्ष ५ पद निर्धारण गरेको थियो । दशैंअघि घनश्याम भुषालले एक कार्यक्रममा दशौं महाधिवेशनको हलबाट विधान संशोधन गर्न सकिने र पदाधिकारीको संख्या बढाउन सकिने बताएका थिए । आगामी मंसिर ९ गते सौराहामा बस्ने केन्द्रीय कमिटीको बैठकले पदाधिकारीको संख्या बढाउनका लागि महाधिवेशनको हललाई आग्रह गर्ने गरी तयारी थालेको स्रोतको दाबी छ । त्यसो गर्दा अहिले वरिष्ठ उपाध्यक्षको दाबी गरिरहेका ईश्वर पोखरेललाई चुनौती दिएका सुवास नेम्वाङ र रामबहादुर थापा बादललाई समेट्न पनि सहज हुने बुझाइ नेताहरुमा छ । त्यसैगरी सुरेन्द्र पाण्डेले महासचिव भन्दा तल बसेर काम गर्न असहज हुने भएकाले महासचिवमा आफ्नो दाबी रहने बताइसकेका छन् । त्यसकारण उनको दाबीलाई न्यूनिकरण गर्न र उपाध्यक्षमा बढुवा गर्न सहज हुनेछ ।
त्यस्तै महासचिवको दाबी गरिरहेका शंकर पोखरेललाई उपमहासचिव बढुवा गर्न र घनश्याम भुषाललाई एक कार्यकाल उपमहासचिवमै रहने गरी मनाउन सहज हुने बुझाइ नेताहरुको छ । यसपटक पृथ्वी सुब्बा गुरुङले उपमहासचिव वा उपाध्यक्ष दाबी गरिरहेका कारण उनलाई पनि उपाध्यक्षमा बढुवा गर्न सकिने नेताहरुले जनाएका छन् । त्यस्तै सचिवमा माओवादीबाट एमालेमा आएका नेताहरु लेखराज भट्ट र टोपबहादुर रायमाझीलाई ल्याउने गरी छलफल थालिएको छ । १० बुँदेबाट एमालेमा रहेका र माओवादीबाट एमालेमा आएका नेताहरुलाई समेट्न पनि पदाधिकारीमा
सर्वसम्मत गर्नुपर्ने बाध्यता एमालेलाई छ । तर सुदूरपश्चिम प्रदेशमा प्रतिनिधि छनोटको विवाद रहेको छ । सो विषयमा उपाध्यक्ष रावलले बुधबार विज्ञप्ति जारी गरेर कैलालीलगायत विभिन्न जिल्लामा महाधिवेशन प्रतिनिधि चयन स्वच्छ रूपमा नभएको भन्दै असन्तुष्टि जनाएका छन् । उनले यसो गर्दा ओलीलाई अप्ठेरो पर्ने हो कि भन्ने चिन्ता नेताहरुमा रहेको छ । अछाम पुगेर अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका रावलको कैलालीको विषयमा असहमति रहेको छ । अब कुनै पनि नेतालाई बिच्काउनु भनेको जतिसुकै ओलीमय एमाले भए पनि विद्रोह गर्छन् भनेर बुझे हुने हो । तसर्थ ओली आफ्नालाई त व्यवस्थित गर्न खोजिरहेका छन् नै विपदमा साथ दिएका माओवादीबाट आएकाहरुलाई पनि व्यवस्थित गर्ने नै छन् ।