सर्वसम्मतिको नाममा लोकतान्त्रिक अभ्यास नै कुण्ठित

Home Feature

एमालेमा भागबण्डाको सकस


काठमाडौं । केपी शर्मा ओलीले एमालेलाई निकै नै तनाव दिन थालेका छन् । उनले संसद विघटन गरेरै संविधानको धज्जी उडाए । एक पटक नभई दुई पटक नै उनले संविधानको उल्लंघन गरेर संसद विघटन गरे । त्यसपछि उनी दलहरुबाट समेत टाढिन पुगे । तर पनि एमालेका अन्य नेताहरुले उनलाई काखी च्याप्दै गए । कानून जानेकाले पनि च्यापे नजानेकाले पनि च्यापे । यतिसम्म कि संविधान लेख्दाका हस्तीसभामुख सुवास नेम्वाङले पनि काखी च्यापे । ओलीले अहिले एमालेको महाधिवेशनमा त झन् अति नै गरे । नेम्वाङ वरिष्ठ उपाध्यक्षमा उठ्न खोजिरहेका थिए ।
उनलाई थन्क्याइदिए । अब बल्ल थाहा पाए होलान् ओली कत्तिको तानाशाही रहेछन् भन्ने कुरा । नभन्दै चितवनको सौराहामा भएको १० औं महाधिवेशनमा सर्वसम्मतिका नाममा आन्तरिक लोकतान्त्रिक अभ्यास नै कुण्ठित पारिएको छ । सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टी दाबी गर्ने एमालेले महाधिवेशनमा आवश्यकताभन्दा बढी पद सिर्जना गरी भागबन्डा मिलाउनमात्र खोजे खुला प्रतिस्पर्धासमेत गर्न नदिएर अर्को अधिकार कुण्ठित गर्न खोज्यो ।
सर्वसम्मतिका नाममा हुने नेतृत्व चयनले खुला प्रतिस्पर्धाबाट आउने नयाँ सक्षम व्यक्तिलाई रोक्न खोजियो । कुनै पनि पार्टीमा खुला प्रतिस्पर्धा नहुनु भनेको नयाँ पुस्तालाई नेतृत्वमा आउन ब्रेक लगाउनु भएको राजनीतिक विश्लेषकले बताएका छन् । महाधिवेशनबाट केन्द्रीय नेतृत्व चयनमा सर्वसम्मत गर्ने कसरत गर्दै खुला प्रतिस्पर्धा गर्न चाहने नेतामाथि दबाब दिइयो ।
यतिसम्मकि ओलीले बन्दसत्रमा नेतृत्व चयनमा प्रतिस्पर्धा गरी ‘काँचो व्यवहार’ नगर्न चेतावनी दिए । उनले पार्टीभित्र बढी महत्वाकांक्षा राखेर अस्वस्थ प्रतिस्पर्धा नगर्न नेता कार्यकर्तालाई निर्देशन दिए । ‘आफ्नो महत्वाकांक्षाका कारणले अस्वस्थ प्रतिस्पर्धा गर्नुहुन्न, पार्टीकै प्रभाव, प्रतिष्ठा र एकता खँदिलो हुने कुरामा प्रतिकूल असर पार्ने काम नगरौं, फेरि पनि पालो आउँछ, त्यसैले हतारोका साथ प्रतिस्पर्धा गर्ने, लोकतान्त्रिक अभ्यास प्रतिस्पर्धालाई मात्र नभनौं ।’
ओली अझै रोकिएनन् । उनले भने, ‘अब पनि हामीले काँचा व्यवहार नगरौं । हामीले जिम्मेवारीपूर्वक
नेपालको पार्टी नयाँ सफलताका साथ अघि बढ्दै छ भन्ने सन्देश दुनियाँका लागि दिनुपर्छ । पार्टीबीच आन्तरिक लोकतान्त्रिक मुख्य कुरा हो । प्रतिस्पर्धा प्रमुख हुन्छ प्रतिपक्षसँग लड्दा, पार्टीभित्र प्रतिस्पर्धा मुख्य कुरा होइन, एकता मुख्य कुरा हो ।’
चुनाव हुँदैमा एकता टुट्ने भने चुनाव नै किन गर्नुपर्दथ्यो त । ओलीले अहिले पार्टीको १० औं महाधिवेशन नगरेको भए पनि कुनै बन्देज लाग्ने थिएन । तर एमालेको एउटा ठूलो शक्ति माधवकुमार नेपाल पक्षले छाडेर नेकपा एकीकृत समाजवादी गठन गर्दासमेत उनलाई कुनै पनि अप्ठेरो महसुस भएन । अब फेरि कुन चाहिँ कुण्ठा ।
अध्यक्ष पदमा भीम रावल, वरिष्ठ उपाध्यक्षमा सुवास नेम्वाङ, उपाध्यक्षमा घनश्याम भुशाल, सचिवमा टंक कार्कीलगायत दर्जनौं नेताहरुले प्रतिनिधिसमक्ष प्रत्यक्ष र सामाजिक सञ्जालबाट मत मागिरहेका बेलामा ओलीको यो भनाइ आउनु कतै पनि शोभनीय हैन । आफ्नै पार्टीभित्र यो किसिमको गलत प्रवृत्ति बस्छ भने एमाले आगामी निर्वाचनमा कुन मुख लिएर जनता सामु पुग्छ ? यसरी माथिबाट शक्ति थोपर्दा त पार्टीमा ढिलोचाँडो विद्रोह नै हुने हुन्छ । आखिर ओलीले यो कुरा कहिले बुझ्छन् ?
के माधव नेपाल बाहेक अरु कोही पनि विद्रोह गर्ने नेता एमालेमा बाँकी छैनन् भनी पुष्टि गर्न खोजिएको हो ? आफूलाई लोकतान्त्रिक पार्टी भन्नेले नेतृत्व चयनमा माथिबाट शक्ति थोपर्दा के हुन्छ ? यही गतिले त जनताले पनि पत्याउन छाड्छन् ओलीलाई । ओली कम्पनीले यसरी लोकतन्त्रलाई खुम्चाउने हो भने एमाले पनि कुनै समय एकादेशको पार्टी बन्न बेर लाउँदैन ।