युवाको वर्चश्वले दबाबमा देउवा
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट पनि शेरबहादुर देउवा सभापति बन्न सफल भएका छन् । इतर पक्ष बाँडिएपछि त्यसकै फाइदा उठाएर देउवा निर्वाचित भएका हुन् । उनले पदाधिकारीमा क्लिनस्विप गर्न नसके पनि आरामदायी बहुमत ल्याएका छन् । जसका कारण उनलाई निर्णय गर्न समस्या हुने छैन । तर पदाधिकारीमा उनी र उपसभापति पूर्णबहादुर खड्का बाहेक सबै नयाँ हुन् । युवाको वर्चश्व हुँदा उनलाई समस्या भने पक्कै हुनेछ । कांग्रेसको संशोधित विधानअनुसार पदाधिकारीको संख्या १३ छ । देउवा पक्षका मात्रै आठ जना निर्वाचित भएका छन् ।
उपसभापतिमा निर्वाचित पूर्णबहादुर खड्का र विभिन्न समूहबाट सहमहामन्त्रीमा निर्वाचित ६ जना देउवा समूहबाट निर्वाचित बनेका हुन् । देउवा समूहबाट सहमहामन्त्रीमा निर्वाचित महालक्ष्मी उपाध्याय ‘डिना’, भिष्मराज आङ्देम्बे, फरमुल्लाह मन्सुर, किशोरसिंह राठौर, उमाकान्त चौधरी र महेन्द्र यादव निर्वाचित भएका हुन् । चौधरी कृष्णप्रसाद सिटौला समूहका भए पनि महाधिवेशनमा देउवासँग तालमेल भएको थियो । महाधिवेशन परिणामअनुसार पदाधिकारीतर्फ देउवा समूहका पाँच जना उम्मेदवार मात्रै पराजित भएका हुन् ।
देउवा समूहबाट उपसभापति बनेका विजयकुमार गच्छदार, महामन्त्रीका उम्मेदवारद्धय डा. प्रकाशशरण महत र प्रदीप पौडेल तथा सहमहामन्त्रीमा दलिततर्फ मानबहादुर विश्वकर्मा र पिछडिएको क्षेत्र तर्फबाट उम्मेदवार बनेका जीवनबहादुर शाही पदाधिकारीमा पराजित भए ।
यसरी हेर्दा कांग्रेसको १३ पदाधिकारीमध्ये देउवा समूह तर्फका आठ जना केन्द्रीय समितिमा निर्वाचित भएका छन् । सभापतिका अर्का उम्मेदवार डा. शेखर कोइरालाको समूहबाट भने चार जना नेता पदाधिकारीमा निर्वाचित भए । उपसभापतिमा कोइराला समूहका धनराज गुरुङ, महामन्त्रीमा गगनकुमार थापा, सहमहामन्त्रीतर्फ दलित समूहमा जीवन परियार र पिछडिएको क्षेत्रबाट बद्री पाण्डे कोइराला समूहबाट निर्वाचित भएका हुन् । यसैगरी अर्को एक महामन्त्रीमा भने प्रकाश
मान सिंहको समूहबाट उम्मेदवार बनेका विश्वप्रकाश शर्मा निर्वाचित भएका हुन् ।
यसपालि विभिन्न पेशा र व्यवसायमा आबद्ध व्यक्ति पदाधिकारीदेखि सदस्यसम्मका विभिन्न पदमा उम्मेदवार रहे । महाधिवेशनमा उद्योगी व्यवसायी, पर्यटन व्यवसायी, ठेकेदार, चिकित्सक, पत्रकार र राजनीतिमा नै सक्रिय रहिरहेका चर्चित नेतासम्म उम्मेदवार बन्दै गर्दा विशेषज्ञता हासिल गरेका तीनसहित पाँच डाक्टर पदाधिकारीको निर्वाचनमा पराजित भए ।
सभापति पदमा डा. शेखर कोइराला शेरबहादुर देउवासँग पराजित भए भने उपसभापतिमा डा. चन्द्र भण्डारी पराजित भए । कोइराला पेशाले मेडिकल डाक्टर भए पनि राजनीतिमा सक्रिय रहँदै आइरहेका नेता हुन् । महामन्त्री पदतर्फ कांग्रेसका महाधिवेशन प्रतिनिधि मतदाताले गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई जिताउँदा तीन विज्ञ डाक्टर मैदानबाट बाहिरिए । महामन्त्रीमा डा. मिनेन्द्र रिजाल, डा. प्रकाशशरण महत र डा. राजाराम कार्की पराजित भए । मतगणना भने कछुवा गतिमा भएको छ । विद्युतीय मतदान नभएर अहिले पनि कागजी मतदान गरेर कांग्रेसले आफूलाई ढिलासुस्ती नम्बर एक पार्टी बनाएको हो । हुन पनि सरकारमा रहँदा पनि यसको काम यस्तै हो । जेमा पनि ढिलासुस्ती । तर युवाको मत बलियो भएपछि अब भने देउवाले ढिलासुस्ती नगर्लान् कि भन्ने हो ।