नेपाल वायुसेवा निगम अगाडि एकजना कुप्रे वृद्ध हिँड्दै गाली गरिरहेका थिए । उनको कुरोमा कतिजनाले ध्यान दिए, थाहा छैन । तर जतिले ध्यान दिएका थिए, तिनले बूढा मान्छे सहि बोलीरहेका छन् भनेर मनमनै भए पनि समर्थन गरिरहेका थिए । बूढा नेवारी भाषामा भन्दैथिए ‘यो मानिसहरु पैदल हिँडने पेटी हो कि पसल चलाउने ठाउँ ? फुटपाथमै पसल चलाउने हो भने हामी कहाँबाट हिँड्ने !’ यस्तै यस्तै उनी फलाकीरहेका थिए । उनको यो पीडा जायज पनि थियो । सायद उनी संकटा वा गणबहाल तिरका रैथाने बूढा थिए होलान् । जसले काठमाडौंको खुला पेटीमा आनन्दले हिँडेको अनुभव गरेका थिए । अहिले त्यो अनुभव इतिहासमा बदलिएको छ । उनी त उमेरका कारण कुप्रो भए । तर नगरपालिका र सरोकारवाला निकायका हाकिमहरु मानसिक रुपमै कुप्रो भएको उनी देखिरहेका थिए ।
त्यसैले त उनी गाली गरिरहेका थिए, सडकपेटीमा सजिलो गरी हिँडन सकिएन भनेर । महानगरपालिका, नगरपालिका र स्थानीय निकायहरुले फुटपाथमा पसल राख्ने व्यवसायीहरुको व्यवस्थापन गरिदिनु पर्ने हो । एउटा निश्चित ठाउँ बनाइदिनु पर्ने हो । सडकको पेटीमा बेच्न र किन्न नदिएर एउटा ठाउँ तोकिदिए तिनको गुनगान गाउने थिए किन्ने र बेच्ने दुवैले । तर त्यस्तो छैन । अनि ठेलामा वा अरु कुनै साधनमा सामान बेच्न हिँडेका सामान्य व्यापारीलाई महानगरका प्रहरी भनाउँदाले लुटेको देख्दा मानिसहरुले महसुस गर्छन्, महानगरको दुईजिब्रे नियत । त्यो ठेलाबाट पैसा नझरे पछि नै होला त्यसको हुर्मत लिएको ।
सामाजिक सँजालमा यस्ता घटना धेरै देखिएका छन् । सामाजिक
सँजालमा यस्ता भिडियो हालेपनि महानगरपालिकाका मानिसहरुको घैँटोमा घाम लागेको देखिँदैन । त्यसैले पनि होला, सडक पेटीमा अतिक्रमण बढ्दै गइरहेको छ । कतिपय ठाउँमा पेटी नै साँघुरो भएर गएको छ भने कतिपय सडकमा फूटपाथ नै छैन । फुटपाथ भएको ठाउँ पनि मिचेर ध्वस्त पारिएको छ । कतिपय भित्री सडकमा पनि मानिस हिँड्न नसक्ने अवस्था छ । काठमाडौंका गल्ली गल्लीमा पीच बनाइएको छ र त्यो पीचलाई अर्को खाली जग्गामा घर बनाउने मानिसले बालुवा, गिट्टी, सिमेन्ट र छडको भण्डार घर बनाइदिएको छ । अनि त मानिस हिँडनै गाह्रो हुने त्यो सडकमा गाडीहरु कसरी गुडलान् ?
यसरी हेर्ने हो भने काठमाडौं साँघुरिँदै गएको छ । तर काठमाडौंको यो साँघुरोपनमा कसैको ध्यान गएको छैन । अब कस्ले काठमाडौंलाई ठूलो बनाउने सपना देख्छ ? के साँच्चीकै काठमाडौं फराकिलो होला त ? यो प्रश्नको जवाफ नखोजे हुन्छ ।