काठमाडौं । नेकपा एकीकृत समाजवादीभित्र बिवाद चर्किएको छ । स्थायी कमिटी सदस्य मुकुन्द न्यौपानेले नेकपा माओवादी केन्द्रसँगको एकताबारे महासचिव डा. बेदुराम भुसालले जारी गरेको विज्ञप्तिलाई लिएर कडा आलोचना गर्नुभएपछि सो पार्टीको बिवाद सतहमा आएको हो । माओवादी केन्द्रसँग एकताको प्रचारमा कुनै सत्यता नरहेको भनी महासचिव भुसालले विज्ञप्ति निकाले लगत्तै नेता न्यौपानले गत भदौं १ गते माओवादी केन्द्रसँग एकता गर्ने गरी नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीले गरेको निर्णय सार्वजनिक गरिदिनु भएको छ ।
अहिले कार्यकर्ताबाट विरोध आएपछि महासचिवले विज्ञप्ति निकालेको भन्दै न्यौपानेले लेख्नुभएको छ, ‘आज यत्रो कसरतपछि देशभरि कार्यकर्ताको बिरोध देखेर हतार हतार विज्ञप्ति गरेर छोप्न खोज्नु कति सर्मको कुरो हो ।’ माओवादीसँगको एकताबारे महासचिव भुसालको विज्ञप्तिप्रति नेता न्यौपानेको तिखो टिप्पणी छ, ‘खोले एक गल्ती, छोपे तिन गल्ती ।’ शुक्रबार मात्रै महासचिव भुसालले विज्ञप्ति निकालेर माओवादी केन्द्रसँगको एकता प्रयासबारे प्रष्टीकरण दिनुभएको थियो । ‘यो पूर्णतः निराधार हो, यसमा कुनै सत्यता छैन,’ माओवादीसँगको एकताबारे महासचिव भुसालको बिज्ञप्तीमा भनिएको छ ।
नेपाली कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउनुपर्ने आवश्यकता छ भन्नेमा प्रष्ट रहेको तर, यस सम्बन्धमा कुनै छलफल, वार्ता वा संवाद केही पनि नभएको पनि भुसालले बताउनु भएको छ । ‘हुँदै नभएको प्रचार गराएर भ्रम सिर्जना गर्न खोजिएकाले त्यस्तो भ्रममा नपर्न सबैमा अनुरोध छ’ महासचिवको विज्ञप्तिका उल्लेख छ । महासचिव भुसालको यस्तो विज्ञप्ति जारी गरे लगत्तै नेता न्यौपानेले माओवादी केन्द्रसँग पार्टी एकता गर्ने गरी नेकपा एकीकृत समाजवादीले गरेको निर्णय सार्वजनिक गरिदिनु भएको हो । उहाँले गत साउनमा माओवादी केन्द्रसँग एकता गर्ने र एमाले बाहेकको समाजवादी केन्द्र बनाउने भनेर भएको छलफल पनि स्मरण गर्नुभएको छ । त्यसबेला अध्यक्ष माधव कुमार नेपालले पार्टीको सचिवालयका सदस्य सहितको वैठक वोलाएर चार दिनसम्म तिनकुनेस्थित पार्टी कार्यालयमा छलफल गरेको उहाँको भनाइ छ ।
यस्तो छ न्यौपानेको काउन्टर
‘श्रावणमा माओवादी संग एकतागर्ने र एमाले बाहेकको समाजवादी केन्द्र बनाउने भनेर मा ओवादी संग छलफल गरेर आएका अध्यक्षको सचिवालयका सदस्य सहितको वैठक वोलाएर चारदिन सम्म तिनकुने समाजवादीको पार्टी कार्यालयमा वैठक बस्यो।तर वैठक लगातारछ बिषय केही छैन । चार दिनपछि चम्पादेवी सारियो । चम्पादेवी सारेपछी सचिव गंगा
तुलाधरले अब ‘माओवादीसँग एकता गरेर जानु पर्छ । एमालेसँग मिल्न सकिदैन त्यसैले एमाले बाहेकको वामपन्थी एकता गर्ने’ भनेर प्रस्ताव राखेपछि मैले यसको बिरोध गरेर असहमति जनाएँ । मैले भने ‘एमाले बाहेकको एकता भन्नु कम्युनिष्ट आन्दोलन सिद्याउनु हो । त्यसपछि कमरेड झलनाथ खनाल र विजय पौडेलले पनि ‘अहिले अलिक राम्ररी छलफल नगरी त्यसो नगरौ’ भनेपछि एकछिन बहसमा तानातान भयो र वैठक बिनानिष्कर्ष टुङ्गियो । यो कुरो स्थानीय निकायको चुनावको लगत्तै पछि ‘समाजवादी र हाम्रोबीच एकता गर्ने कुरा भएको छ अब छिट्टै एकता हुन्छ’ भनेर लमजुङमा चुनाव हारेपछी माओवादीका महासचि देब गुरुङले आफ्नो अन्तरवार्तामा भन्नु भएको छ । सुर्खेतको चुनावी सभामा माओवादीका अध्यक्ष प्रचण्डले यही कुरा भनेपछि मैले ‘समाजवादीले नभनेको कुरा प्रचण्ड किन बोल्छन्’ भनेर ब्यवसायीको एउटा वैठकमा कुरो उठाए पछि एकजना सदस्यले ‘आफ्नो कमिटीको वैठकबाट अपानिमा लेखेर सर्कूलर गर्ने अनि प्रचण्डलाई आलोचना गर्ने’ भन्नुभयो मैले कुन वैठकले कैले सर्कुलर पठाएको छ भनेर सोधेपछि म तपाईंलाई पठादिन्छु भन्नुभयो । पछि वास्सपमा पठाउनुभयो जुन वैठकमा मलाई खवर पनि गरिएको थिएन । आज यत्रो कसरतपछि देशभरि कार्यकर्ताको बिरोध देखेर हतारहतार विज्ञप्ति गरेर छोप्न खोज्नु कति सर्मको कुरो हो ।’
उक्त बैठक चार दिनपछि चम्पादेवी सारिएको र त्यहाँ सचिव गंगा तुलाधरले ‘अब माओवादीसँग एकता गरेर जानु पर्छ । एमालेसँग मिल्न सकिँदैन त्यसैले एमाले बाहेकको वामपन्थी एकता गर्ने’ भनेर प्रस्ताव राखेको न्यौपानेले बताउनु भएको छ । सचिव तुलाधरले यस्तो प्रस्ताव राखेपछि आफूले विरोध गरेको पनि उहाँले बताउनु भएको छ । ‘एमाले बाहेकको एकता भन्नु कम्युनिष्ट आन्दोलन सिध्याउनु हो’ भनेर आफूले राखेपछि झलनाथ खनाल र विजय पौडेलले पनि अलिक राम्ररी छलफल गरौं भनेको न्यौपानेले बताउनु भयो ।