गणतन्त्रको बेथिति बढार्नेगरी पूर्वराजाको अभिनन्दन गरिँदै

Home Feature

इनरुवा । पूर्वराजा ज्ञानेन्द्र शाहको नागरिक अभिनन्दन आज हुँदैछ । सुनसरीको इनरुवामा नागरिक अभिनन्दन हुन लागेको हो । यसका लागि केही दिनदेखि नै राजसंस्थाप्रति आस्थावान नेपाली समुदाय इनरुवा आउने क्रम जारी रहेको छ । यो नागरिक अभिनन्दनको चाँजोपाँजो राष्ट्रिय शक्ति नेपालले मिलाएको हो । राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर विष्टको संयोजकत्वमा एक हजार एक सदस्यीय नागरिक अभिनन्दन मूल समारोह समिति बनेको छ । ‘श्री ५ महाराजाधिराज सरकारको नागरिक अभिनन्दन’ नामकरण गरिएको छ । आयोजनास्थललाई झकिझकाउ पारिएको छ । यो नागरिक अभिनन्दनका लागि विष्टको टिम केही सातादेखि खटिइरहेको छ । उनले इनरुवाको कार्यक्रममा पूर्वबाट त राजावादी र अस्थावानमात्र नभइ देशैभरबाट आउने दाबी गरेका । उनले हजारौंको सहभागीतामा नागरिक अभिनन्दन भब्य हुने दाबीसमेत गरेका छन् ।
उनले कार्यक्रमबारे भने, ‘राजाको सवारी इनरुवामा हुँदैछ । नागरिक अभिनन्दनका लागि सबैलाई आमन्त्रण गरिएको छ । एक हजार एक जनाको अभिनन्दन मूल समारोह समिति बनेको छ । अभिनन्दन स्थललाई भब्य बनाइएको छ । धेरै स्वागतद्धारहरु बनेका छन् । बन्दोबस्तीका साथ व्यवस्थित तरिकाले चलिरहेको छ ।’ उनले देशैभरबाट राजाको सम्मान गर्न आउने क्रम जारी रहेको बताए । उनले भने, ‘देशका विभिन्न जिल्लाबाट मानिसहरु आउने क्रम जारी रहेको छ । पूर्वबाट त सबैको सहभागीता हुन्छ नै सुदूरका जिल्ला जिल्लाबाटसमेत हामीलाई सम्पर्क गरेर आउँदैछौं भनेर भन्नुभएको छ । यो त नागरिकले खुल दिलले गर्ने अभिनन्दन हो ।
त्यसैले धेरैको सहभागीता हुन्छ ।’ उनले भने, ‘यो कुनै दल विशेषको कार्यक्रम हैन । कुनै दलीय नभइ मञ्च सबैको साझा होस् भनेर आयोजक भनेर कोही पनि राखिएको छैन । नेपाली कांग्रेस, राप्रपासहित अन्य दलबाट पनि स्वतस्फूर्तरुपमा आउँदै हुनुहुन्छ । राप्रपाका त केन्द्रीय सदस्यहरु नै सहभागी हुनुहुनेछ ।’ उनले राजालाई मान्नलाई कारण नचाहिने स्पष्ट पारे ।
भन्छन्, ‘राजा भन्या दलभन्दा माथि हो । देश अक्षमताको पराकाष्ठामा पुगेका बेलामा राजावादीहरुले राजा सम्झनु पक्कै राम्रो कुरा हो । देशको समस्या समाधान त गर्नुपर्यो नि । राजा हटेको १५(१६ वर्ष भयो । तर देश त झन् झन् दलदलमा फस्दैछ । हामीले त राजासहितको प्रजातन्त्र हुनुपर्छ भनेर भनिराखेको हो । सबै मिलेर देश बनाउँ भन्ने हो । हामीले दलहरु खारेज गरेर अर्को व्यवस्था ल्याउन खोजेको त हैन नि । यहाँ राष्ट्र बनाउने, देश बनाउने र देशको विकास गर्नका लागि अग्रसर गराउनु पर्नेमा राजालाई निषेध गर्ने काम भइरहेको छ ।’
उनले राजालाई कुनै एक दललेमात्र समातेको नभइ सारा नेपालीले समातेको स्पष्ट पारे । उनले भने, ‘म शुरुदेखि सक्रिय भएर लागेको देखिनु नै ठूलो कुरा हो । राष्ट्र सम्झेर गर्ने काम हो । राप्रपाले गरेको काम मात्र हैन वीपी कोइरालाले राख्नु भएको थिएन र ? मनमोहन अधिकारीले राख्नु भएको थिएन र ? मदन भण्डारीले राख्नु भएको थिएन र ? हामीले राजासहितको प्रजातन्त्र भनेका छौं । अहिले देश खोक्रो पार्न थालिएको छ । यसलाई बचाउनु पर्यो भनेर लागेका हौं ।’ नागरिक अभिनन्दनका लागि पूर्वराजा शाह गत सातादेखि नै पूर्वमै रहेकाले आज झापादेखि आउँदा र बाटोको कारणले गर्दा केही समय तलमाथि हुन सक्ने समितिले जनाएको छ । दिउँसो साढे १२ बजेदेखि कार्यक्रमको तामझाम रहेको भए पनि दिउँसो २ बजेदेखि शुरु गर्ने कार्यक्रम रहेको विष्टले बताए ।
एसईईको जाँचका कारणले पनि समय ढिला गरी कार्यक्रम राखिएको छ । जिल्ला प्रशासनले पनि अनुरोध गरेर समय ढिला आयोजना गर्न भनेको थियो । त्यो एकदम राम्रो हो । एसईईको जाँचका बेलामा कुनै पनि डिस्टर्ब विद्यार्थीलाई नहोस् भनेर हामी सचेत भएको उनले बताए । उनले भने, ‘आयोजना स्थलको वरिपरि चार पाँच वटा विद्यालय छन् । त्यसैले पनि जाँच सकिएपछि नै हामीले जुलुस निकाल्ने छौं । कार्यक्रम सकभर छोटो हुनेछ । स्वागत हुन्छ । समितिले केही समय लिन्छ । अभिनन्दन चढाउने हो । त्यसपछि सकिन्छ ।’ नागरिक अभिनन्दनपछि पूर्वराजाले सम्बोधन गर्ने आशा धेरैको छ । देशभरबाट ‘राजाबाट के आदेश हुन्छ ? के कुरामा जोड दिइन्छ ? भनेर सुन्न आउने धेरै हुने गरेको समितिका एक सदस्यले बताए । पूर्वराजाले सम्बोधन गर्न पनि सक्ने र नगर्न पनि सक्ने देखिएको छ । तर धेरैको सहभागीता हुने भएकाले केही सम्बोधन अवश्य हुने विश्वास गरिएको छ ।
गणतन्त्रको बेथिति बढार्ने गरी अभिन्दन
पूर्वबाट राजतन्त्र उदाउने विश्वास गरिएको छ । टुक्रिएर रहेका राजावादीहरु अहिले एक हुने प्रयासमा रहेका छन् । त्यतिमात्र हैन नेपाली कांग्रेसका नेताहरुले पनि चासो राखेका कारण यो थप उर्जाशील भएको बुझिएको छ ।
त्यतिमात्र हैन अहिलेका शीर्ष दलका शीर्ष नेताहरु स्वार्थमा मात्र हिँडेका कारण देशकै अस्तित्व खतरामा परेको भाषास पाएको भन्दै देशभक्तहरु एकजुट भइरहेका छन् । त्यसैले पनि पूर्वराजाको यो नागरिक अभिनन्दनका कारण केन्द्रमा गणतन्त्रका पक्षहरुको सातो गएको बुझिन्छ । पछिल्लो समय गणतन्त्रधारी दलहरुप्रति नागरिक अभिरुची घट्दै गइरहँदा पूर्वराजाको गर्न लागिएको नागरिक अभिनन्दनका कारण शीर्ष नेताहरु झस्किएको दाबी राजावादीहरुको छ ।
राजावादीहरुले बिना जग देशको ढुकुटी रित्याउन सक्रिय भएको आरोप शीर्ष नेताहरुलाई लगाउँदै आएका छन् । नेताहरुलाई उनीहरुले देश बनाउन भन्दा पनि शक्ति आर्जन गर्न हानथाप गरिरहेको आरोप लगाउँदै आएका छन् । पूर्वराजाबाट दलहरुलाई विभिन्न सन्देश दिँदै देश नबनाए दुर्घटना बेहोर्नुपर्ने भनी सचेत गराइरहँदा बेवास्ता गर्दै आइरहेका छन् । तर पछिल्लो समय राजावादीहरु सक्रिय हुँदै जाँदा उनीहरुमाथि डर मडारिइरहेको छ ।
संसदमा राप्रपाले खरो भएर राजसंस्थाको वकालत गर्ने र विभिन्न राजावादी संस्थाहरु जाग्नुका साथै नागरिक तहमा पनि ‘राजा आऊ देश बचाउ’ को नारा लागिरहँदा यसको असर गणतन्त्र पक्षधर नेताहरुलाई परिरहेको छ । नागरिक तहमा राजाले राख्न दिएको श्रीपेज खोज्ने बेला आएको भन्दै नेताहरुलाई सचेत गराइरहेको अवस्था छ । २०६५ सालमा नारायणहिटी राजदरबारबाट बाहिरिँदासमेत पूर्वराजाले श्रीपेश सुरक्षित राख्नू भनी सरकारलाई भनिएबाट पनि त्यसको आवश्यकता अब जुनसुकै बेला पर्नेतर्फ पनि संकेतहरु देखिन थालेका पाइन्छन् । त्यसो त यसको छनक नेताहरुले पनि पाइसकेका छन् । तर नेताहरु आफूलाई सच्याउनुको सट्टा आपसमा शक्तिका लागि कुर्सीको हानथाप गरिरहेका छन् । पूर्वराजाको नागरिक अभिनन्दनलाई अर्थपूर्णरुपमासमेत लिइएको छ । यसले गणतन्त्रका दिनगन्ति शुरु भएकोसमेत अनुमान भइरहेको छ ।