संवैधानिक राजसंस्था र हिन्दू राज्यको पक्षमा विशाल प्रदर्शन हुँदै

Home Feature

‘आयातित’ गणतन्त्र धरापमा


काठमाडौँ । यो मुलुक बिगार्नमा सबैभन्दा ठूलो हात कसैको छ भने त्यो नेपाली कांग्रेसकै हो । किनकि कांग्रेसले जहिले पनि मुलुकको राजनीतिक परिवर्तनको ठेक्का लिने गर्छ । त्यसलाई साथ दिने अर्को पार्टी हो एमाले । एमालेले आफू सदावहार रुचाउने कांग्रेसभन्दा एक कदम अगाडि भएको दाबी गर्छ । अनि अझ बढी क्रान्तिकारी ठान्ने सत्र हजारको ज्यान लिएर पनि भोग दिन नपुगेजस्तै गर्ने माओवादी केन्द्र अर्को नेपाली राजनीतिको दुर्भाग्य हो । यी तीन दल बाँडिचुँडी सरकारमा रहेर देश लुट्ने ठेक्का नै लिएका छन् । २०७२ सालको संविधान जारी गरेपछि यिनै तीन दलका प्रमुखहरु मात्रै बाँडिचुँडी सरकारमा बसेका छन् ।
देशलाई अधोगतिमा धकेल्ने कोही छन् भने यी तीन दल र तिनीहरुका नाइके नै हुन् । यिनै तीन दलको यतिबेला सातो गएको छ । माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड त गणतन्त्र खतरामा परेको र ठूलो षड्यन्त्र भइरहेको बताउँदै हिँडेका छन् । एमालेले त मंसिर ७ मै कार्यक्रम गरेर आफ्ना उग्र नेता महेश बस्नेतका कर्तुतहरु लुकाउन खोज्दैछ । खासमा मंसिर ७ मा काठमाडौँमा संवैधानिक राजसंस्था र हिन्दू राज्यको पक्षमा विशाल प्रदर्शन हुँदैछ । त्यही प्रदर्शनको सन्देशसहित पूर्वराजा ज्ञानेन्द्र शाह मंसिर ९ गते झापा जाने कार्यक्रम रहेको छ । यो कार्यक्रम भब्य हुने दाबी गरिएको छ । अनि यसैलाई लिएर एक महिनादेखि नै प्रचण्डले गणतन्त्र खतरामा परेको भनेर कुतर्क गरिरहेका छन् । प्रचण्डले १७ हजारको ज्यान लिएर आफू र आसेपासेलाई देश चुस्न सक्रिय पारे । तर गणतन्त्र संस्थागत गर्न केही गरेनन् । १७ वर्षदेखिको शान्ति प्रक्रियालाई थाङ्नामा सुताएर उनले हालीमुहाली गरिरहेका छन् । देशलाई कंगाल पारिरहेका छन् । राजसंस्था फालेर प्रचण्डसहितका तीन दलका नेता अनि भुरे नेताहरु राजा बनिरहेका छन् बिना संस्कारका ।
त्यसैले पनि मंसिर ७ को सानो आगोका झिल्कोदेखि डराइरहेका छन् । हुनत राजवादीहरु पनि मिलेको अवस्था छैन । दुर्गा प्रसाई एक खाले नीति लिएर बुरुक्क उफ्रिएका छन् भने राप्रपालाई उनले गनिरहेका छैनन् । राजावादीहरु एक हुने हो भने कांग्रेस, एमाले र माओवादी एकै भुङ्ग्रोमा हुने आँकलन भइरहेको छ ।
किनकि देशलाई खोक्रो पार्ने यिनै तीन दल भएको आक्रोश उनीहरुकै दलका युवा नेताहरु ओकलिरहेका छन् । यही मौकामा राजवादीहरु एक हुनका लागि राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले आह्वान गरेका छन् । उनले भनेका छन्, ‘यस्तो समयमा पनि एउटा राजसंस्थावादीले अर्को राजसंस्थावादीलाई गाली गरिरहेको देख्छु र सुन्छु । त्योभन्दा ठूलो विडम्बना के हुनसक्छ ? हेर्नुहोस्, कसैको कारणले कसैको कार्यक्रम विग्रिँदैन । हामी हाम्रो उद्देश्यमा पुग्न सबैको कार्यक्रम सफल हुनुपर्छ । पञ्चायत ढाल्न, गणतन्त्र ल्याउन र जोगाउन ‘कट्टर दुष्मन’हरू सहकार्य गर्न सक्ने, राजसंस्थावादीहरू नसक्ने ? अनि झन् त्यसमा पनि गाली गरेर बस्ने ? यस्तै पाराले लक्ष्यमा पुगिन्छ ?’
मिश्रले अगाडि भनेका छन्, ‘मैँ सबैभन्दा ठूलो राजसंस्थावादी, अरू त केही होइनन्’ भनेर देखाउन खोजेको हो भने, भिन्दै कुरा । अन्यथा, विनाशकारी अग्रगमनको विशाल चट्टान फुटाउनु छ । आफैँ–आफैँ बाझेर आ–आफ्ना अहं पूरा होला तर उद्देश्य प्राप्ति हुँदैन । त्यसैले सकिन्छ, सहकार्य गरौँ । सकिँदैन, सहयोग गरौँ । सहयोग पनि गर्न मन नलागे असहयोग नगरौँ । र, सार्वजनिकरूपमा एकले अर्कोलाई हियाउने र मचाहिँ असल, ऊचाहिँ कमसल भन्ने काम नगरौँ । मिश्रले सबैको हैसियत सम्झाउँदै पनि भनेका छन्, ‘हामी सबै मान्छे हौँ । कसैले फुर्ति लाउन पर्दैन । कमजोरी नभएका हामी कोही छैनौँ । हाम्रा देवताका त कमजोरी थिए । हाम्रो के कुरा ? पेट चि¥यो भने सबैको पेटबाट गन्ध निस्किन्छ । अहिले एकले अर्काको पेट चिर्ने बेला होइन । यो विनाशकारी अग्रगमन बल्ल ढल्ने दिशामा जाँदैछ । ‘प्रचण्डपथगामी’हरू सबै आत्तिएको अवस्था छ । त्यसैले भाइ फुटे, गाउँ लुटे को स्थिति गर्ने बेला होइन ।’
आन्दोलन दबाउन एमाले मिसन
मंसिर ७ को संवैधानिक राजसंस्था–हिन्दू राज्यवादीहरुको विशाल प्रदर्शन रोक्ने अनेक प्रपञ्च भइरहेको छ । एकातिर शीर्ष दलहरुको सातो गएको छ भने अर्कातिर प्रहरी प्रशासनको बलमा सरकारले अभद्र व्यवहार गर्न सक्ने खतरा देखिएको छ । सुशासनमा नबस्ने र जहिले पनि लुट्न तम्सिनेविरुद्ध क्रान्तिको ज्वाला लिएर मंसिर ७ मा काठमाडौँमा विशाल भेला हुन लागेको छ । यसलाई कतिपयले गणतन्त्र पतनको शुरुआत भनेका छन् । गणतन्त्र सकिए हालीमुहाली गर्न नपाइने शंकामा दलहरुको दिमागमा ढयाङ्ग्रो ठोकिएको छ । त्यसैले त प्रदर्शनलाई एमालेले ‘मिसन’को रुपमा लिएको छ । सोही दिन पूर्वराजाको नाम लिएर मेडिकल व्यवसायी दुर्गा प्रसाईले देशभरबाट समर्थकहरु काठमाडौँ उतार्ने भनेपछि युवा संघले गर्ने भनेको प्रदर्शनमा एमालेले ‘मिसन’को रुप दिएको हो । एमालेले पहिलो चरणमा २३ वटा जनसंगठनलाई प्रदर्शनमा उतार्ने भएको छ । ‘काठमाडौँमा भएको सबै कार्यकर्तालाई प्रदर्शनमा आउन निर्देशन दिएको छ’, एमाले कार्यालय सचिवालयले भन्यो ।
जनसंगठन संयन्त्रले मंसिर ७ लाई लक्षित गरेर शनिबार भेला गरेपछि यो मिसनको रुपमा अघि बढेको हो । एमाले जनसंगठन संयन्त्र प्रमुख पोलिटब्युरो सदस्य भानुभक्त ढकालले एमालेको युवा संघले मात्र यो प्रर्दशन गर्ने होइन भन्दै यसमा सबै २३ वटै संगठनहरु परिचालन हुने मिडियालाई बताए । ‘हामीले सरकारविरुद्ध आन्दोलन गरिरहेका थियौँ, कुशासनविरुद्ध आन्दोलन गरिरहेका थियौँ, जनसंगठनहरु त्यसको विरोधमा थिए, तर यहाँ कुनै एक व्यक्तिको नाममा प्रतिक्रियावादीहरु सल्बलाउन थाले यसलाई एमालेले टुलुटुल हेरेर बस्दैन शान्तिपूर्ण ढंगले प्रतिवाद गर्न चाहन्छ’, जनसंगठन संयन्त्र संयोजक ढकालले भने ।
उनका अनुसार एमालेका शक्तिशाली जनवर्गीय संगठनहरु युवा–विद्यार्थी, सम्पर्क मञ्च, रिटनी फेडरेशन, भूपू सैनिक संगठन लगायतको बाक्लो सहभागिता रहनेछ । ‘हामीले एमाले र जनसंगठनको झण्डा अनिवार्य भनेका छौँ’ ढकालले भने । स्रोतका अनुसार एमालेले प्रदर्शनका लागि माइतीघरदेखि नयाँ बानेश्वरसम्मको स्थान तय गरिसकेको छ । यही स्थान दुर्गा प्रसाई पक्षले पनि तोकेको छ । ‘युवा संघ इन्चार्ज महेश बस्नेतले माइतीघरदेखि बानेश्वरसम्मको ठाउँ माग्नु भएको छ’, सुरक्षा स्रोतले भन्यो । महेश बस्नेतले जिल्ला प्रशासन कार्यालय काठमाडौँ प्रहरी परिसर र प्रधानमन्त्री कार्यालयलाई पनि आफ्नो पार्टीको प्रदर्शन रहेको जानकारी दिइसकेको स्रोतले जनाएको छ । एमाले अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले मंसिर ७ गते युवा विद्यार्थीले गर्ने प्रदर्शनमा पार्टीको साथ समर्थन रहेको बताउँदै शान्तिपूर्ण प्रदर्शन गर्न निर्देशन दिइसकेका छन् ।
शनिबार काठमाडौँमा जनसंगठनको भेलालाई सम्बोधन गर्दै ओलीले ७ गते शान्तिपूर्ण रूपमा सरकारलाई शक्ति देखाउन निर्देशन दिएका थिए । उनले सो दिन सरकार र दक्षिणपन्थी शक्तिहरूलाई थोरै सङ्केत मात्र गर्ने बताउँदै शान्तिपूर्ण राजनीतिको रूपमा राजनीतिक प्रदर्शन गर्ने बताएका थिए । उनले लोकतन्त्रका विरुद्ध औँला उठाउनेलाई शान्तिपूर्ण रूपमा औँलो तल झारिदिने बताएका थिए ।