मन्त्रीलाई कर्मचारीले टेर्न छाडे
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिमण्डल पु्नर्गठन गर्ने भनेको धेरै भइक्यो । दशैँदेखि नै मन्त्रीहरु फेर्ने भनेर प्रचण्ड कुर्लिदै आएका छन् । अहिलेसम्म मन्त्री फेर्न सकेका छैनन् । अरु त परै जावस् उनले आफ्नै पार्टी नेकपा माओवादी केन्द्रकै मन्त्री फेर्न सकेका छैनन् । प्रचण्डले कुनै पनि मन्त्रीको रिपोर्ट कार्ड राम्रो नभएको बताउँदै आएका छन् । यति हुँदा पनि सरकारलाई बदनाम बनाउने काम स्वयं प्रचण्डले नै गर्दै आएका छन् । मन्त्री फेर्ने भनेपछि नै हरेक मन्त्रालयका कर्मचारीले मन्त्रीलाई टेर्न छाडेका छन् । र पनि प्रचण्डले मन्त्री फेर्ने भनाइलाई कथाको श्लोकजस्तै हाल्न छाडेका छैनन् ।
भन्ने बेलामा भने सत्ता गठबन्धनका अन्य दलले नाम नदिएका कारण मन्त्रिपरिषद् पुनर्गठन गर्न नपाएको भनेर प्रचण्डले भन्दै आएका छन् । खासमा सत्तारुढ दलहरुबीच मन्त्रिपरिषद् पुनर्गठनमा समझदारी भए पनि प्रधानमन्त्रीको प्रयासले मूर्त रुप पाउन नसकेको भन्न सकिन्छ । प्रचण्डले आफ्नो कार्यकाल एक वर्ष पुगेकै दिन नै मन्त्रिपरिषद् पुनर्गठन गर्न चाहेका थिए । उनले एक वर्ष पुगेको अवसरमा राष्ट्रका नाममा गरेको सम्बोधनमा पनि मन्त्रीहरुलाई पद छाड्नका लागि तयार रहन सन्देश दिएका थिए । उनले भनेका थिए, ‘आज जनतालाई साक्षी राखेर माननीय मन्त्रीहरुलाई भन्न चाहन्छु, हामीलाई असफल हुने छुट छैन । कार्यसम्पादन कमजोर भएको अवस्थामा म कसैलाई माफ गर्नसक्ने अवस्था र मनस्थितिमा छैन ।
त्यसलगत्तै केही मन्त्रीहरुले सार्वजनिक कार्यक्रममै मुखै फोडेर कहिलेसम्म रहिन्छ टुंगो हुँदैन भनेका थिए । खासमा नेपाली कांग्रेस नै मन्त्री फेर्न तयार नभएको प्रचण्डको भनाइबाट बुझिन्छ । यद्यपि सबैभन्दा कमजोर रिपोर्ट कार्ड कांग्रेसकै मन्त्रीहरुको रहेको बुझ्न सकिन्छ । कांग्रेस सभापति शेरबहादुर देउवा आफ्नो पार्टीको अवस्था अनुकूल नबनाइ सरकारलाई अनुकूल हुन नदिने अडानमा छन् । देउवाको अडानले नै प्रधानमन्त्रीको प्रयास तत्कालका लागि स्थगित भएको छ । कांग्रेसका मन्त्रीहरु भ्रष्टाचारमा लिप्त हुन पाएसम्म नछाड्ने मुडमा छन् । तर प्रचण्डको सनकपनबाट जानकार उनीहरु कतिबेला पद खुस्किने हो भन्ने चिन्तामा यद्यपि रहेका छन् । कांग्रेसका मन्त्रीहरुको बारेमा महामन्त्री गगन थापाले केन्द्रीय कार्यसमिति बैठकमा खुलेआम आठ मन्त्रीका आठ काम देखाउन चुनौती दिएका थिए । तर कुनै पनि मन्त्रीले यो काम गरेँ भनेर भन्ने आँट गरेनन् । अर्थात् यो मामलामा मन्त्रीहरु निकम्मा बनेर निस्केका छन् । नीतिगत रुपमै आफूहरु मन्त्री फेर्नुपर्छ भन्ने पक्षमा नभएको धारणा कांग्रेसका प्रचार विभागले जनाउँदै आएको छ । कांग्रेसले कम्तीमा फागुन १० गते सकिने महाधिवेशनसम्म कुर्नुपर्ने अडान राखेको छ । मन्त्रिपरिषद् पुनर्गठनको विषय धेरै अघिदेखि उठ्दै आए पनि नेपाली कांग्रेसले महासमिति बैठकपछि भन्दै आएको छ ।
देउवालाई महासमितिले नै ठेगान लगाउने चिन्ता भएकाले कसैलाई पनि नचिँढाउन उनले यस्तो रणनीति बनाएको स्पष्टै बुझिन्छ । त्यसो त कांग्रेसले नै पटक पटक महासमिति बैठकको मिति फेर्दै आएकाले पनि प्रचण्डको सार्वजनिक भनाइको तुक हराएको हो । माओवादी केन्द्रका नेताहरु भने देउवा सीमित मन्त्रीहरु फर्ने मुडमा रहेको बताउँछन् । देउवा गृहमन्त्री फेर्ने मुडमा छन् । जबकि गृहमन्त्रीको रिपोर्ट कार्ड अरुको भन्दा राम्रो छ । गृहमन्त्रीले अहिले धमाधम भगुवा अपराधका आरोपी र भ्रष्टाचारका आरोपीलाई पक्राउ गरेकाले कार्ड राम्रो छ । तर त्यही राम्रोपनले धेरैका मथिंगल बिगारेको छ । देउवा भने गृहमन्त्री फेर्नकै लागि अन्य मन्त्रीहरु फेर्न पनि तयार भएका हुन् ।
देउवाले गृहमन्त्री फेर्न प्रस्ताव गरेपछि माओवादीले उनलाई मात्र फेर्दा राम्रो सन्देश नजाने भन्दै कांग्रेसबाट पनि अर्थमन्त्री फेर्न सर्त राखेका थिए । उनीहरुले गृह मन्त्रालय र अर्थ मन्त्रालय साटेर लिनसमेत देउवासँग प्रस्ताव गरेका थिए । तर शुरूआतमा देउवाले अर्थमन्त्री फेर्ने विषय भने सुन्नै चाहेका छैनन् । अर्थमन्त्री डा. प्रकाशशरण महतले भने कुनै पनि अर्थतन्त्र सुधार गर्न नसकेको जगजाहेर छ । देशको अर्थतन्त्र खस्किँदासमेत अर्थमन्त्री भने सुस्ताउँदो छन् ।