माधव नेपाल स्वयंले पार्टीमा गुटहरु सक्रिय पारेपछि

Home Feature

नेकपा एसको भविष्य धरापमा


काठमाडौँ । नेकपा एमालेबाट फुटेर सानो पार्टीमा स्थापित भएर संसदीय दलमा राष्ट्रिय दलकोसमेत मान्यता पाउन नसकेको नेकपा एकीकृत समाजवादीको भविष्य संकटमा परेको छ । पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पदाधिकारीहरू सबै मिलाएर अगाडि बढ्नु पर्नेमा आफैँले गुट सक्रिय पारेपछि सिंगो पार्टीकै भविष्य धरापमा परेको हो । पदाधिकारी र पोलिटब्युरो सदस्य चयनका लागि भएको निर्वाचनबाट अध्यक्ष नेपाल पक्षका नेताहरू निर्वाचित भएका छन् । गत मंगलबार साँझ भएको निर्वाचनको मतगणनाबाट नेपाल पक्षका नेताहरू निर्वाचित भएका हुन् ।
वरिष्ठ उपाध्यक्ष दावी गरिरहेका घनेन्द्र बस्नेत, प्रमेश हमाल र बेदुराम भुषाललाई वरिष्ठ नेता बनाउने सहमतिसँगै सुरेन्द्र पाण्डे वरिष्ठ उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । तर दावी गरेर पछि सरेका बस्नेत, हमाल र भुषाल माधव नेपाल समूहका नेताहरू हुन् । एकीकृत समाजवादीमा १७ पदाधिकारी र १०५ जना पोलिटब्युरो सदस्य चयनका लागि मतदान भएको हो । यसअघि दशौँ महाधिवेशनबाट अध्यक्षमा माधव नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुषाल चयन भए पनि बाँकी पदाधिकारी र पोलिटब्युरो सदस्य चयन हुन सकेको थिएन ।
केन्द्रीय समिति बैठकबाटै पदाधिकारी र पोलिटब्युरो सदस्य सर्वसम्मत चयन गर्ने प्रयास भए पनि त्यो सम्भव नभएपछि निर्वाचन भएको हो । मतदानमा गुटगत प्रतिस्पर्धा भएको थियो । अध्यक्ष नेपाल पक्षले पदाधिकारीहरूमा जिताउनुपर्ने नेताहरूको नामावली (चिट) बाँडेको थियो । सार्वजनिक भएको चिटमा महिला उपाध्यक्षमा रामकुमारी झाँक्रीको नाम हटाइएको थियो । उनी पराजित भएकी छिन् । यो पदमा झाँक्री र जयन्तीदेवी राईको प्रतिस्पर्धा थियो । जसमा राई निर्वाचित भइन् । मधेसी समुदायको उपाध्यक्षमा रामचन्द्र झाको नाम उल्लेख छ । झाको प्रतिस्पर्धामा धर्मेन्द्रप्रसाद साह थिए । जसमा साह निर्वाचित भएका छन् । खुला उपाध्यक्षहरूमा गंगालाल तुलाधर, जगन्नाथ खतिवडा, प्रकाश ज्वाला र भानुभक्त जोशीले जितेका छन् । उपाध्यक्षमा डा गंगालाल तुलाधर (१८९), जगन्नाथ खतिवडा (१६१),
भानुभक्त जोशी (१५६) र प्रकाश ज्वाला (१४५) विजयी भएका छन् । ज्वाला फरक कित्ताबाट विजयी भएका हुन् । माधव नेपाल पक्षको चिटमा डा.विजयकुमार पौडेल र प्रकाश ज्वालालाई हटाइएको थियो । पछिल्लो पटक ज्वाला र पौडेलसँग नेपाल असन्तुष्ट रहेका छन् । चार उपमहासचिवमा मेटमणि चौधरी १५८ मतसहित विजयी भएका छन् । यस्तै रामकुमार खड्का र गरिमा शाहले समान १०७ मत पाएर विजयी भएका छन् । राजेन्द्र राईले १०६ मत पाएर विजयी भएका छन् । ४ उपमहासचिवका लागि १९ जनाको उम्मेदवारी परेको थियो । ७ सचिवमा चन्द्र शाही, सावित्रा भुषाल, शेरबहादुर कुँवर, सोमप्रसाद पाण्डे, श्रीनाथ बराल, टोकबहादुर वाइवा र कृष्ण नेपाली विजयी भए ।
वाइवा आदिवासी जनजाति र कृष्णबहादुर नेपाली दलित समुदाय तर्फको सचिवका भएका हुन् । ५ खुला सचिचका लागि भएको निर्वाचनमा २६ जना उम्मेदवार रहेका थिए । जसमा श्रीनाथ बराल १०७, शेरबहादुर कुँवर १५३, चन्द्रबहादुर शाही ९१, सोमप्रसाद पाण्डे १४१ र सावित्रीकुमारी भुसाल १०६ ले मत पाएर विजयी भए । पदाधिकारीमा झलनाथ खनाल र घनश्याम भुषाल समूहका प्रकाश ज्वाला बाहेक कोही पनि परेका छैनन् । माधव नेपालको सूचीमा नपरेका अर्का साह पनि निर्वाचित भएका छन् । पूर्व एमाले हुँदै माओवादीबाट नेकपा एसमा आएका झा उपाध्यक्षमा पराजित भएका छन् । मतदान हुँदा एकीकृत समाजवादीभित्रको अन्तरसंघर्ष र गुटगत राजनीति छरपष्ट भएपछि यो पार्टीको भवष्यमाथि कालो तुवाँलो लागेको एक केन्द्रीय सदस्यको भनाइ छ । अहिले पराजित हुनेहरू प्रायः एमालेमा फर्कनका लागि प्रयास गरिरहेकाहरू परेको पनि उनले बताए ।
माधव नेपालले जब कुनै पनि बेला मौका मिले एमालेमा फर्कनका लागि खुट्टा उचालिरहेका छन् भने अब उनलाई बोकिरहनुको कुनै तुक नभएको भन्दै पदाधिकारीबाट हटाउनुमै वेश हुने ठानेर त्यस्तालाई पहिले नै ठेगान लगाएको उनी निकट एक नेताले बताएका छन् । अब भविष्य पार्टीको पनि खतरामा परेको हुन सक्ने उनको आँकलन छ । तर अचम्म त के भने पदाधिकारीमा हारेकाहरुले पोलिटव्युरोमा भने गतिलै मत पाएर विजयी भएका छन् ।