जनभावना डेस्क ।
काठमाडौं । सबैभन्दा बिचित्रको हुँदोरैछ डर । त्यो पनि मृत्युदेखि । मानिस तँछाडमछाड गर्छ सारा उपलब्धि पाउनका लागि । तर थचक्क बस्छ मृत्युको दिशादेखि । उसलाई सबैभन्दा प्यारो आफू नै लाग्छ । अनि सारा रीसराग त्यागेर ऊ भगवानको शरणमा पर्छ ।
अहिले देशमा लकडाउन छ । विश्व नै लकडाउनको अवस्थामा छ । आर्थिक स्थिति ठप्प छ । बाँच्नका लागि जागिर खानेहरु अहिले बाँच्नकै लागि जागिर छाडेर घरभित्र कैद छन् ।
सबैसंग मित्रता राख्ने र भेटघाट गर्ने नै ठूलो र धनी भनिन्थ्यो अहिले सामाजिक दूरी राखेर घरमै थन्किनेलाई स्वस्थ्य र ज्ञानी भनिन्छ ।
समय बदलियो । परिभाषा बदलियो । सामाजिक दूरी टाढियो । मान्छेका लागि मान्छे नै दुस्मन भइदियो ।
आफन्त पराइ भए । ओहो यो के भयो ।
हो, विश्वलाई अहिले कोरोना भाइरस (कोभिड–१९) को त्रास छ । रोगको औषधि नबनेकाले यसको असर कहिलेसम्म रहन्छ भन्ने पनि पत्तो छैन । तर रोगभन्दा त्रासले धेरैलाई मार्न लागेको छ ।
कोरोना भाइरसले अझै कतिलाई मार्ने हो अत्तोपत्तो छैन । रोगको निदान अझै आइसकेको छैन । उपचारका लागि खोप पनि बनेको छैन । औषधि छैन ।
विश्वभर सामाजिक दूरी कायम गर्ने र आइसोलेसनमा रहेर नै यो रोगलाई निको पार्ने सिद्धान्त मात्र लागु भएको छ ।
दिनानुदिन हजारौं नयाँ संक्रमित थपिएका छन् । हजारौंको मृत्यु हुँदै आएको छ । २१० देशमा संक्रमित छन् ।
हालसम्म ३४ लाख ३ हजार भन्दा बढी संक्रमित भइसकेका छन् । २ लाख ११ हजारको संख्यामा ज्यान गुमाइसकेका छन् । १० लाख ८२ हजारलाई मात्रै निको भएको छ ।
मै हुँ भन्ने ठूला राष्ट्रहरु झन् बढी पीडित छन् । विश्वकै शक्तिशाली राष्ट्र अमेरिका सबैभन्दा बढी प्रभावित छ ।
अमेरिकामा ११ लाख ३१ हजार ४५२ जना संक्रमित भइसकेका छन् । ६६ हजारको करिबमा मृत्यु भइसकेको छ ।
इटालीमा २८ हजार मरे । बेलायतमा साढे २७ हजार मरे । स्पेन र फ्रान्समा २५ हजार नजिक मरिसके । जर्मनीमा ६ हजार ७ सय, टर्कीमा ३ हजार भन्दा बढी, रुसमा १ हजार भन्दा बढी, इरानमा ६ हजार भन्दा बढी, ब्राजिलमा ६ हजार भन्दा बढी, चीनमा ४ हजार ६ सय भन्दा बढीको ज्यान गइसकेको छ ।
क्यानडामा ३ हजार ४ सय, बेल्जियममा ७ हजर ७ सय, नेदरल्यान्डस्मा ४ हजार ९ सय, भारतमा १ हजार २ सय बढी, स्वीटजरल्यान्डमा १ हजार ७ सय बढीको ज्यान गइसकेको छ ।
कोरियामा २५०, जापानमा ४५५, बंगलादेशमा १७०, पाकिस्तानमा ४१७ जनाको ज्यान गइसकेको छ ।
छिमेकी देशहरुमा कोरोनाले धमाधम मान्छे मारिरहँदा नेपालमा संक्रमित बिस्तारै बढ्दै गइरहेका छन् । नेपालमा ५९ जना पुगिसकेका छन् ।
अहिलेसम्म १६ लाई निको भयो । ज्यान कसैको गएको छैन । तर भोलि के हुन्छ अत्तोपत्तो छैन ।
भारतमा दिनानुदिन संक्रमितको संख्या बढिरहेको छ भने मृतक पनि थपिइरहेका छन् । त्यसैले पनि सचेत अझै हुनु जरुरी छ ।
त्यसै पनि सरकारको नीति के बन्ला भन्ने पनि हो । विदेशबाट पनि नेपालीहरुलाई आउन चाहनेलाई सरकार ल्याउन खोजिरहेको छ ।
तिनीहरु आउँदा फेरि कोरोनाको संक्रमण झन् बढ्ने हो कि भन्ने आशंका छ ।
सरकारले बैशाख २५ गतेसम्म लकडाउन गरेको छ । तर यो कहिलेसम्म भन्ने यकिन छैन । भारतको रणनीति हेरेर नेपालमा लकडाउनको शैली बदल्ने अवस्था छ ।
मानिसलाई विशेष काम पर्दा बाहेक बाहिर निस्कन नदिने र सामाजिक दूरी कायम गर्ने भन्ने हो । तर पूरै संरचना ठप्प नै पारेर यसरी लकडाउनमा राखिरहँदा त्यसले पार्ने असरबारे पनि सरकार सचेत हुनु जरुरी छ ।