सम्पादकीय
विगतमा ओली सरकारले नेतृत्व लिएको केही महिनामै नेपालका एक लोक गायक पशुपति शर्माले ‘लुट्न सके लुट कान्छा…नेपालमै छ छुट’ भन्ने लोकप्रिय गीत प्रस्तुत गरेर आमनेपाली राजनेताहरुलाई भ्रष्टाचारीहरुका नाइकेहरु नै नेता हुन पुग्दछन् भन्ने संकेत गरेका थिए । त्यस्तै नेपाली कांग्रेसको १४ औं महाभिवेशनमा राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देलले ‘गाउँमा नेता आयो कि चोर आयो भन्ने गर्दछन् भनी नेताहरुलाई नराम्ररी नै घोचेका थिए, जसको थप सहमति कांग्रेसका महाधिवेशनमा माओवादीका सदावहार अध्यक्ष प्रचण्डले दर्शकदीर्घामा बस्नेहरुलाई सोच्दा पनि ‘हो’ भन्ने आवाजले सभाकक्ष हल्लिएको थियो । २०४६ सालपछि त्यसमा पनि ०६२।०६३ पछि त नेपालमा राजनीति गर्नेहरु अधिकांश भ्रष्टाचारीहरु मात्रै हुन्छन् भन्ने मान्यता अधिकांश जनतामा फैलिएको छ । प्रजातन्त्रमा विश्वास गर्ने देशमा चुनाव नगरी नहुने र चुनाव ताका सही र सत्य कुन व्यक्ति हो भन्ने छान्नुभन्दा जसले राष्ट्रको दुरुपयोग गरेर सत्ता र शक्तिको प्रलोभन दिन सक्दछ त्यसलाई नै आफ्नो मत दिने प्रचलन अहिलेसम्म नेपालमा चलिरहेको छ, त्यो हिजो निर्दलीय व्यवस्था थियो र हालसम्म पनि छँदैछ, जसलाई भेट्न मत दिन आम जनतामा विवेक आउनु पर्ने हो, त्यो अझै केही दशक आउने लक्षण देखिँदैन ।
अहिले नेपालमा रहेका अधिकांश ठूला साना सबै आकारका पत्रपत्रिका र सामाजिक सञ्जालमा ‘बतास समूह’ले नारायणहिटी संग्रहालय भित्र रहेको रेष्टुरेन्ट खोल्न लागेको समाचार छरपस्ट देखिएको छ । बतास समूहले कौढीको भाउमा नारायणहिटी दरबार संग्रहालयको रेष्टुरेन्ट मात्रै होइन, पाटन दरबार क्षेत्रको पसल भारतीय सहयोगमा बनेको पशुपतिनाथको धर्मशाला, पोखराको प्रदेश संग्रहालय भवनमा सञ्चालित अटो शो रुम, पोखराकै पृथ्वीचोकस्थित कृषि सामग्री केन्द्रको जमिन सस्तोमा लिएर महंगोमा भाडामा दिएका जस्ता समाचार प्रशस्त देखिएका छन् । नारायणहिटी दरबारमा हटाइएको रेष्टुरेन्टमा त पर्यटनमन्त्री आलेले, प्रेसदेखि आम सामाजिक सञ्चालमा स्यावासी पनि पाएका छन् । यस्ता लुट ‘बतास समूह’को मात्रैमा त रहँदैन । एमाले निकट यती समूहले दरबारको दक्षिणको मुखमै कौडीकै भाउमा जग्गा भाडा लिएर बनाएको विशाल महतको बारेमा चर्चा हुनु, त्यस्तै गोकर्ण रिसोर्टदेखि यती समूहले सरकारी जग्गाको दुरुपयोग गरेकोबारे कम चर्चा हुनु, सबै ठूला सञ्चार गृहलाई साथमा लिनु नै होइन र ! भन्नेहरु पनि कम छैनन्, त्यस्तै कुनै बेला सुन कारोबारीमा नाम कमाएका दीपक मलहोत्राले अन्तर्राष्ट्रिय विमानस्थलको मूलढोकामै भव्य महल बनाएर करोडौं करोड कमाएका बारेमा पनि कम चर्चा हुनुलाई के ठान्ने, त्यसरी नै त्रिपुरेश्वरस्थित त्रिभुवन विश्वविद्यालयको जग्गा, थापाथलीस्थित खाद्य संस्थानको जग्गा पनि कौडीको भाउमा भाडामा दिएर त्यसबखतका नेताहरुले राष्ट्रको सम्पतिमाथि दोहन गरेको कुरा आमनेपालीहरुबीच जानकारीमा नआएको होइन, तर कुनै विषयवस्तु बढी चर्चामा आउनु र कुनै विषयले कम चर्चा पाउनुलाई नेपाली सञ्चारमाध्यमकै आँखा नपुगेकै ठान्न पर्दछ । गिरिजाप्रसादले सरकारको नेतृत्व लिएपछि निजीकरणको नीति नै बनाएर भृकुटी कागज कारखाना, बाँसबारी छाला जुत्ता कारखाना, कपडा उद्योग लगायत दर्जनौं चलिरहेको उद्योगलाई केही धनाढ्य उद्योगपतिहरुलाई बेचेर निकै ठूलो आर्थिक फाइदा उठाएकै हुन् ।
पहिले यी यावत दृष्टान्तहरुले २०४६ सालपछि बनेको अधिकांश सरकार ‘लुट’मै सीमित रहेको देखियो । कुनै पनि सरकार अछुतो भने देखिएन । खाली प्रतिशतको केही थपघट मात्रै हो । त्यसैले यो मुलुकलाई एउटा यस्तो नेतृत्वको खाँचो छ जसले विगतमा देखिएका अधिकांश विकृतिहरुलाई हटाएर राष्ट्र उत्थानको सही मार्गचित्र कोरोस् ।