काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या तीन सय ५७ पुगेको छ । पछिल्लो एक हप्तामै संक्रमितको संख्या तीन सयले बढेको हो । त्यस्तै दुई जनाको मृत्यु भएको छ ।
अहिलेसम्म ३१ जिल्लामा संक्रमण फैलिसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताए ।
प्रादेशिक विवरण अनुसार प्रदेश १ मा ४०, २ मा १३२, बागमतीमा १ मृत्युसहित १८, गण्डकीमा ३, प्रदेश ५ मा १ मृत्युसहित १५९ र सुदूरपश्चिम प्रदेशमा ५ जना संक्रमित भएका छन् । कुल संक्रमितमध्ये पुरुषको संख्या २९८ र महिलाको संख्या ५९ छ ।
३६ जना उपचारपछि घर फर्किएका छन् । मृत्यु हुनेमा सिन्धुपाल्चोककी सुत्केरी २९ वर्षीया महिला र बाँकेका २५ वर्षीय युवक हुन् ।
सोमबार बाँकेमा ४७ जनामा कोरोना संक्रमण देखियो । ती सबै तिनै मृतक युवकको गाउँ नरैनापुर गाउँपालिकाका भएको खुलेको छ ।
यीमध्ये ४६ जना पुरुष र एक जना महिला हुन् ।
नरैनापुरका क्वारेन्टाइनमा भएका सबैको कोरोना परीक्षण गर्दा उनीहरुको पोजिटिभ आएको हो । भारतसँग सीमा जोडिएको यो गाउँपालिकामा भारतका फर्किनेहरुको निकै ठूलो संख्या छ ।
मृतक युवक लुकेर भारतबाट गाउँ छिरेको समेत खुलेको छ । यसले स्थिति झन् भयावह देखिएको छ ।